बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश सांसद र डीएसपीबीचको विवाद

सांसद हाङगाम भन्छन्, ‘पत्थरको जवाफ पत्थरले दिएको हुँ’

‘मेरै घरमा मलाई मार्न पठाउने ?’
आइतबार, २४ भदौ २०८०, १३ : १२
आइतबार, २४ भदौ २०८०

विराटनगर । ‘नयाँ ड्रेस लगाएको छस् । तेरो बर्दी खोल्न पनि हामी तयार छौँ । कहाँ बस्छस्, के खान्छस्, कस्तो लुगा लगाउँछेस्, तेरो बाउ आमा कहाँ छ, तेरो छोरा छोरी कहाँ छ, त्यो हामी पत्ता लगाएर मार्छौँ । पानी मुनी लुकोस् कि । 

खबरदार ! सक्छस् भने यहाँ आइज । खेल्न सक्छ भने आइज, तेरो पेस्तोल लिएर आउँछस् कि बर्दी खोलेर आउँछस्, तलाईं बाँकी राख्दिनँ ।’

यतिबेला सामाजिक सञ्जालमा कोशी प्रदेशसभा सदस्य खगेन सिङ हाङगामले डीएसपी राजन लिम्बुलाई दिएको चेतावनीसहितको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भदौ २१ मा फुङलिङमा आयोजित मेलामा सादा पोसाकका प्रहरीले मेला हेर्न आएका स्थानीयलाई जिस्क्याएको निहुँमा सांसद र डीएसपीको प्रतिष्ठाको लडाइँ बनेको हो । प्रदेश सांसद हाङगाम पक्षधरले प्रहरीले रातभर सांसदको घर घेरेको दाबी गरेका छन् । 

विवाद बढेपछि यसलाई छानबिन गर्न प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा छानबिन समिति नै बनेको छ । समितिमा संयोजकसहित ४ जना सदस्य रहेका छन् ।

यता कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्र, जनता र जनप्रतिनिधिको सुरक्षाको जिम्मा लिएको प्रहरीले अनुशासनहीन गुण्डागर्दी र आक्रमण गर्नु अत्यन्त गैरजिम्मेवार कार्य भएको बताएका छन् । त्यस्तै पार्टीका जिम्मेवार जनप्रतिनिधिबाट भएको हिंसात्मक प्रतिरोधको अभिव्यक्ति फिर्ता लिन लगाउन माग गरेका छन् । ‘एक पछि अर्को यस्ता हिंसात्मक अभिव्यक्तिको मूकदर्शक पार्टीहरू र सरकार बन्नुहुँदैन,’ उनले भनेका छन् ।

सांसद हाङगाम भन्छन्, ‘पत्थरको जवाफ पत्थरले दिएको हुँ’

विवादित अभिव्यक्तिबारे रातोपाटीले प्रश्न गर्दा हाङगामले आफूमाथि आक्रमण भएकाले सो अभिव्यक्ति दिन बाध्य भएको दाबी गरेका छन् । उनले दोषी प्रहरी प्रहरीमाथि कारबाही नभए थप संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी समेत दिएका छन् ।

घटना के भएको ?

एउटा बहिनीलाई अमिनमान राई भन्ने प्रहरीले दुर्व्यवहार गरेछ । माननीय लीला बोखिमज्यूसँग काठमाडौँबाट एक जना पाहुना आउनुभएको थियो । उहाँले बाइक रोकेर, ‘यो गर्नुभएको हो ? यो नानी रोइराखेको छ । संवेदनशील अङ्ग छुँदै हुनुहुन्छ, जान पनि दिनुभएको छैन’ भनेपछि प्रहरीले ‘तँ जान्ने हुन्छस्’ भन्दै कुट्न थाल्यो ।

उहाँमाथि मुक्का प्रहार गर्नुका साथै सेटले समेत हिर्काए । देब्रे आँखामा कोरिने गरी हान्यो । उहाँको आँखामा गम्भीर चोट लागेको छ । चस्मासमेत फुटेको छ ।

त्यसपछि उहाँले मलाई फोन गर्नुभयो । तपाईंको ठाउँमा आउँदा पुलिसले पिट्यो । म आँखा देख्दिनँ । कसरी घर जाने भनेपछि म आएँ । मसँग मेरो एक जना स्वकीय सचिव पनि हुनुहुन्थ्यो । मैले ‘किन यसो गरियो ? उहाँ पाहुना हो । के गल्ती भयो र भन्दा ?’ भन्दा ममाथि पनि प्रहरी ममाथि आइलाग्यो ।

मलाई ठेलेपछि मसँग गएका भाइहरू र प्रहरीबीच फाइट पर्न थाल्यो । प्रहरीहरू रक्सी खाएर मात्तिएका थिए । लाखेजात्राको मेलाको अन्तिम दिन थियो त्यो । म यहाँको जनप्रतिनिधि भएकाले होटेल व्यवसायीदेखि सबैलाई चिन्छु । हामीले हारगुहार माग्दा सबै आएपछि प्रहरीहरू भागेर गए । 

त्यसपछि म घर फर्किए । त्यसपछि प्रहरी फेरि बजारमा आएर कुटपिट गरेछन् । प्रहरीले कुटेर लगभग सय जनाभन्दा बढी घाइते छन् । 

म खाना खाने तयारीमा थिएँ, मेरो घरमा प्रहरी आएर गेटमा हान्न थाले । उनीहरूले खाते, चोर बाहिर निस्की भने । १५ मिनेट जति मेरो गेटमा बस्दा ढुंगासमेत हाने । रक्सीका बोतलले पनि मेरो गेटमा हानिएको थियो । मेरो घर नजिकैको होटेलमा पनि तोडफोड गरियो ।

मलाई दुर्व्यवहार भएको थाहा पाएपछि नेविसंघ र तरुण दलका साथीहरू आउनुभयो । प्रहरीले यस्तो गरिसकेपछि कोणसभा गर्नुपर्छ भन्ने भयो । राति १२ बजे कोणसभा गरेर भोलि बन्दको घोषणा गर्ने काम भयो । 

त्यसपछि फेरि प्रहरीको एउटा गस्ती आयो मेरो घर अगाडि । कालो टोपी लगाएको मान्छे माथि नै छ भनेर उनीहरू गए । 

त्यसपछि भोलिपल्ट पार्टीले आकस्मिक बैठक राख्यो । बिहान नेविसंघ, महिला संघ र तरुण दल भेला भएर नारा लगाए ।  बिहान ९ बजे वीरेन्द्रचोकमा कोणसभा भयो । 

सर्वसाधारणलाई दुःख हुन्छ भनेर बन्द खुल्ला गरिएको घोषणा गरियो । बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय घेराऊ कार्यक्रममा जानुपर्छ भनेर र्‍यालीमा सहभागी हुनका लागि आह्वान गरियो । त्यसपछि मलाई सीडीओ सापले फोन गरेर त्यसो नगर्नुस् भन्दै आग्रह गर्नुभयो । 

मैले ‘होइन, मेरै घरमा मलाई मार्न पठाउने, म पनि त्यसै बस्ने कुरा हुँदैन । मेरो पनि पार्टी छ । पार्टीले के भन्छ ? भ्रातृ संस्था छ । भ्रातृ संस्थाले के भन्छ ? म माननीय हो । मेरो सुरक्षा गर्नुपर्ने हो । मलाई मार्न प्रहरी पठाउनु भयो’ भनिदिएँ । 

त्यतिकैमा माननीय लीला बोखिम वार्ता गर्नुपर्छ भनेर प्रशासन पुगिसक्नुभएको थियो । राजन लिम्बु र प्रहरीका प्रतिनिधि पनि पुगिसकेका थिए । हामी पनि शान्तिपूर्ण र्‍याली गर्ने, जिल्ला प्रशासन पुगेर धर्ना गर्ने भनेर यहाँबाट हामी अगाडि बढेर जिल्ला प्रहरी कार्यालयको गेटमा पुग्दा प्रहरीहरूले बन्दुक ताकेर हामीतिर आए । 

राति प्रहरीले सय जनाभन्दा बढीलाई कुटेको थियो । हाम्रो हुलमा कोही निस्किएर ढुंगा हान्न सुरु भएपछि गेट तोडफोड गरे ।

त्यहाँबाट तितरवितर भइयो । फेरि भेला भइयो । प्रहरीको कार्यालय नभई जिल्ला प्रशासन जाने भनेर हामीले बाटो परिवर्तन गर्‍यौँ । जिल्ला प्रशासनको कार्यालय नजिकै कोणसभा गरियो । 

मैले मात्र पत्थरको जवाफ पत्थरले दिएको हुँ । राज्यको अंगबाट मलाई सुरक्षित गर्नुपर्ने तर तपाईंहरु नै मलाई मार्ने हो भने भन्ने हिसाबले भाषण गरेको हुँ । त्यसलाई अतिरञ्जित गरियो । त्यो तपाईंले बुझिदिनु पर्‍यो ।

प्रहरीलाई तेरो परिवार, आमा बुवा कहाँ छ ? तिनीहरूलाई मार्छु भनेर भनेको कुरा भाइरल भएको छ त ।

मेरो घरभित्र पुलिस छिर्दा मेरो आमा थिइनन् ? मेरो नानी थिइनन् । टिकापुरमा नानी घरभित्र मारिएका थिए कि कता मारिएका थिए । पुलिसभित्र छिरेको भए त्यहाँ मेरो नानी पनि मर्दैन थियो ? मेरो श्रीमती मर्दैैन थियो ? मेरो तीन वर्षको बच्चा छ । ऊ कहाँ भागेर जान सक्छ ? मलाई घरमै आक्रमण गर्न आइसकेपछि मेरो परिवारमाथि पनि त आक्रमण हुन्छ नि । त्यसैले मैले पत्थरको जवाफ पत्थरले दिएको हुँ । त्यसलाई त्यसरी नै बुझौँ । अतिरञ्जित नबनाऔँ । माननीय र प्रहरीको विवादभन्दा पनि केपी ओलीको बडिगार्ड भएका हिसाबले मलाई पेल्न खोजेको हो । मैले बुझेको छु ।

प्रहरी तपाईंको घरमा आएको भिडियो देखिएन नि ?

प्रहरी मेरो घरमा आएको भिडियो पहिले सार्वजनिक भएको हो । सीसी क्यामराको फुटेज सीडीओसँग हुनुपर्नेमा मलेसियाबाट मेरो आवाज भनेर हालिएको छ । गोप्यरुपमा सीडीओ र डीएसपीले राख्नुपर्नेमा त्यो फुटेज काटेर हालेर अतिरञ्जित गरिएको छ ।

अहिलेको स्थिति के हो ? कसरी समाधान हुन्छ ?

अहिलेको स्थिति केही होइन । आज बीपीको जन्मजयन्तीको अवसरमा यहाँ कार्यक्रम छ । यहाँ सहमहामन्त्री डिना उपाध्याय दिदी आउनुभएको छ । आज कार्यक्रम हुन्छ । हाम्रो विज्ञप्तिमा २४ घण्टे अल्टिमेटम छ । त्यो अनुसार कारबाही भएन भने थप कार्यक्रम अगाडि बढाउँछौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप