शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

लन्डनमा गोर्खा वारियरको ऐतिहासिक अन्तर्राष्ट्रिय प्रिमियर

सोमबार, २५ भदौ २०८०, १४ : ५९
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । नेपाली चलचित्र ‘गोर्खा वारियर’को लन्डनमा ऐतिहासिक रेडकार्पेट प्रिमियर सम्पन्न भएको छ । हलिउड फिल्मको प्रिमियर केन्द्र मानिएको लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा बेलायतको समय अनुसार आइतबार दिउँसो गोर्खा वारियरको प्रिमियर सम्पन्न भएको हो ।

गोर्खालीहरुले मलाय युद्धमा सफलता हासिल गरेको साहसिक कथामा निर्मित यो चलिचत्र हेर्दा प्रिमियर शोमा निरन्तर ताली र सिट्ठी बजेको थियो । प्रिमियरमा शोमा अन्तर्राष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’लाई नौ सय जना अतिथिले हेरेको यसका निर्देशक मिलन चाम्सले बताएका छन् ।

प्रिमियर शोबारे चाम्सले भने,‘दिउँसो १२ देखि २ बजेसम्म रेकड कार्पेट इभेन्ट भयो भने त्यसपछिबाट आइम्याक्स सिनेवल्र्डमा करिब ४५ मिनेट औपचारिक कार्यक्रम भयो । त्यसपछि चलचित्र गोर्खा वारियरको प्रदर्शन सुरु भएको थियो ।’ उनले अगाडि थपे,‘मैले २० वर्षअघि देखेको यो सपना ऐतिहासिक रुपमा आज यो प्रतिष्ठित स्थलमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम मैले सोचेको भन्दा धेरै सफल भएकोमा साह्रै खुसी छु ।’

रेक कार्पेट इभेन्टमा व्रिटिश आर्मीका मेजरको कमाण्डमा ब्रिगेड ब्याण्डले सांगीतिक प्रस्तुति दिएका थिए । यो व्यान्डका तर्फबाट चलचित्र गोर्खा वारियरको गीतसहित विभिन्न गीतको धुन प्रस्तुत गर्दै प्रिमियरमा आगन्तुकहरुलाई स्वागत गरिएको थियो ।

निर्माता निर्देशक चाम्सका अनुसार यो प्रिमियरमा विशिष्ट अतिथिमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र अर्याल, शसस्त्र प्रहरी बलका पूर्व प्रहरी महानिरिक्षक तथा वरिष्ठ गीतकार शैलेन्द्र खनाल ‘सरद’ लगायत थिए । यस्तै हलिउडबाट मिसन ईम्पोसिवलका निर्माता टोमी ग्रोम्ली , हलिउडका पाईनहुड स्टूडियोका प्रमुख एन्डरु स्मिथ, अपरेशन म्यानेजर म्याट हाटकिन पनि विशेष अतिथिका रुपमा यो प्रिमियरमा सहभागी थिए ।

नेपालबाट नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, महासचिब अरुण कुमार प्रधान, निर्माता निर्देशक सन्तोष सेन, अभिनेता प्रेम पुरी, ओएसआर डिजिटलका अध्यक्ष एवम् चलचित्र व्यबसायी ओम अग्रवाल, सञ्चारकर्मी नरेश भट्टराई चलचित्र पत्रकार संघका तर्फबाट महासचिब रघुनाथ सापकोटा, उपाध्यक्ष सुरक्षा भट्टराईलगायतका सञ्चारकर्मीको सहभागी रहेको पनि निर्देशक चाम्सले जानकारी गराएका छन् ।

यस्तै रेड कार्पेट प्रिमियरमा यो चलचित्रका अभिनेता रितेश चाम्स, अभिनेत्री रेविका गुरुङ, संगीतकार एलिश कार्कीलगायतको सहभागिता थियो । यसैगरी  बेलायतमा रहेका चलचित्र निर्देशकहरु डा कपिल रिजाल, सनम कुमार बैराग, अभिनेता धु्रब दत्त, मनिष कुमार श्रेष्ठसहित विभिन्न नेपाली चलचित्रकर्मी, संगीतकर्मी र नेपाली तथा बेलायती मोडलहरुको पनि त्यत्तिकै सहभागिता थियो ।

यस्तै प्रिमियरमा त्यहाँका बृटिस गोर्खा सैनिकका विभिन्न अफिसर तथा बेलायतमा रहेका विभिन्न नेपाली संघ संस्था र कूटनीतिक नियोगका पदाधिकारीहरुको पनि उल्लेख्य उपस्थिति थियो ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले यो प्रिमियरको ऐतिहासिक सफलताको लागि शुभकामना दिएका थिए भने नेपालका चलचित्र सम्बन्धी विभिन्न संघ संस्थाबाट पनि शुभकामना प्राप्त भएको थियो ।

चलचित्र गोर्खा वारियरलाई नेपालमा आगामी फागुन वा चैतमा नेपालसहित विश्वव्यापी रुपमा रिलिज गर्ने लक्ष्य रहेको पनि निर्माता निर्देशक चाम्सले जानकारी गराए ।

गोर्खा वारियरमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रँग संयोजन रहेको छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप