सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

संविधानले दिएको अधिकार प्रत्याभूति गर्न कानुन बनाउन सकिएन : उपेन्द्र यादव

सोमबार, २५ भदौ २०८०, १५ : २५
सोमबार, २५ भदौ २०८०

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संविधानले दिएको अधिकार प्रत्याभूति गर्न कानुन बनाउन नसकिएको बताएका छन् । गणतन्त्र स्थापनापछि १३ पटक सरकार परिवर्तन भएको बताउँदै उनले असन्तुष्टि व्यक्त  गरे ।

चार दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा सम्बद्ध समाजवादी मोर्चाले सोमबार विराटनगरमा आयोजना गरेको सन्देश सभामा बोल्दै उनले सत्ताको फोहोरी खेलको कारण प्राप्त उपलब्धिलाई संस्थागत गर्न नसक्नु, बनेका कानुन कार्यान्वयन गर्न नसकेको अवस्थालाई अन्त्य गर्नुपर्ने बताए । 

अध्यक्ष यादवले कुशासन, भ्रष्टाचार र राजनीतिक अस्थिरता बोकेर हिँड्नु परेको कारण सबै समुदायले प्राप्त उपलब्धिको लाभ लिन नसकिरहेको बताए । 

देशमा अराजकता बढ्दै गएको बताउँदै उनले  सुशासन, समृद्धि र विकास नल्याएसम्म अराजकता कायमै रहने बताए । राजनीतिक स्थिरता नभएसम्म विकास र समृद्धि हुन नसक्ने उनले बताए ।

अध्यक्ष यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुदाखाद्री कुरामा नअलमली मुलुकलाई निकास दिन अगुवाइ गर्नुपर्नेमा जोड दिए ।

‘मुलुकको परिवर्तनका लागि समस्याहरू समाधान नहुने हो भने अहिले नभए कसले र कहिले गर्ने, हामी असफल भयो, सरकार असफल भयो र परिवर्तनकारी असफल भए मुलुक प्रतिगमनमा जान्छ’, यादवले भने ।  

अध्यक्ष यादवले खुद्रे राजनीति खेलबाट जोगिने, सतर्क रहने र अगाडि बढ्नुपर्ने बताउँदै लोकतन्त्रमाथि आक्रमण भइरहेकाले झनै सतर्क हुनुपर्ने बताए ।

अध्यक्ष यादवले प्रदेशको नाम जनताले अस्वीकार गरेको बताउँदै यसलाई सम्बोधन गर्नुपर्ने बताए । ‘सुशासन, समृद्धि, सामाजिक न्यायको दिशामा अगाडि बढौँ, संघीयता कार्यान्वयनमा लागौँ म प्रधानमन्त्री प्रचण्डप्रति विश्वस्त छु,’ यादवले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप