शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रादेशिक अस्पताल सिरहाले ब्लड बैंक सञ्चालन गर्ने

सोमबार, २५ भदौ २०८०, १५ : ४३
सोमबार, २५ भदौ २०८०

जनकपुरधाम । प्रादेशिक अस्पताल सिरहा सञ्चालन तथा व्यवस्थापन समितिले अस्पताल हाताभित्र ब्लड बैंक सञ्चालन गर्न निर्णय गरेको छ । 

ब्लड बैंक सञ्चालन गर्न निर्माण भएको भवन अर्कै काममा प्रयोग हुँदै जीर्ण हुन लागेको हुनाले त्यसको सुधार र अस्पतालले नै ब्लड बैंक सञ्चालन गर्ने क्रियाशीलता देखाउँदै सरोकारवालाहरूको रोहवरमा यस्तो निर्णय भएको हो । 

माग अनुसार ब्लड बैंक सञ्चालन गर्ने भनेर उपलब्ध गराइएको भवनमा रेडक्रस सोसाइटी शाखा सिरहा अर्कै काममा प्रयोग गर्दै आएको प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सोहिन्द्र प्रसाद यादवले आरोप लगाए । 

उनका अनुसार अन्दाजी १५ वर्ष अघि केही व्यक्तिको प्रयास र पहलमा ब्लड बैंक सञ्चालन गर्न रेडक्रसलाई भवन उपलब्ध गराएको थियो । तर रेडक्रस सोसाइटी शाखा सिरहाले ब्लड बैंक सञ्चालन गर्न नसक्दा अस्पतालले आवश्यकतालाई ध्यानमा राखेर हाताभित्रै रहेको भवनमा आउने केही दिनभित्र ब्लड बैंक सञ्चालन गर्ने भनी निर्णय गरिएको उनले प्रस्ट पारे । 

केही वर्षअघि रेफर सेन्टरको रुपमा रहेको जिल्ला अस्पतालको अवस्थालाई सुधार गर्दै अघि बढ्दा प्रादेशिक अस्पताल बन्न सफल भएको प्रादेशिक अस्पताल सिरहाका प्रमुख डा।नागेन्द्र प्रसाद यादवले बताए । बिरामी राम्रो उपचार गर्दै जाँदा पहिलाको भन्दा चार गुणा बिरामीको सङ्ख्या र अस्पतालको अवस्थामा सुधार आएको उनको दाबी छ । 

डायलिसिस सेवा, सुत्केरीको व्यवस्थित सेवा र विभिन्न खाले अप्रेसनका सेवाहरू बिस्तार गरिएको हुँदा ब्लडको अत्यावश्यक पर्ने गरेको उनले सुनाए । उनका अनुसार ब्लड बैंक नहुँदा कतिपय अवस्थामा यस्ता सेवाहरुमा असर पर्ने गरेका हुन्छन् ।

 ब्लड बैंक सञ्चालन गर्ने भनी भएको निर्णयमा सिरहा नगरपालिकाका वडाध्यक्षहरु महेश कुमार यादव, मो.समशाद,जागेश्वर यादव, इन्द्रजित कुमार गोठिया, अशोक कुमार यादव, जीवछ नारायण यादव लगायत अन्य सरोकारवाहरुको सहभागीता रहेको थियो ।

यस्तै सिरहा नगरपालिकाका कार्यपालिका सदस्यद्वय अनिल कुमार कर्ण र रविन्द्र कुमार साह, नेपाल रेडक्रस सोसाइटी शाखा सिरहाका सभापति राजदेव यादव, सुर्यनारायण यादव, भगवानपुर गाउँपालिकाका पूर्व अध्यक्ष बेचन प्रसाद यादव, समाजसेवी मनिष कुमार यादव, अविनाश पूर्वे, शशि कुमार मण्डल,सुमित कुमार यादव लगायतका व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो । 

अनिर्णयको बन्दीलाई हटाएर प्रादेशिक अस्पतालले आफै ब्लड बैंक सञ्चालन गर्न लाग्दा सरोकारवालाहरुले खुशी व्यक्त गरेका छन् । सेवामा सुधार र व्यवस्थापन गर्ने सन्दर्भलाई मजबुद बनाउँदै अघि बढिरहेको हुँदा हाम्रो साथ र सहयोग रहने उनीहरुले बताएका छन् । ब्लड बैंकको लागि निर्माण भएको भवनमा अर्कै काममा प्रयोग हुनु दुःखद पक्ष भएको उनीहरुको ठम्याई छ । 

ब्लड बैंक नभएको अस्थामा अस्पतालले दिने सेवाहरुमा सहयोग पुग्ने गरी मातृभूमि युवा समाजले सहायता पु¥याउदै आएको प्रादेशिक अस्पताल सिरहाका व्यवस्थापक सवनम महतोले बताईन् । उनका अनुसार युवा समाजले वर्षभरिमा १ हजार भन्दा बढी पोका ब्लड उपलब्ध गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप