आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
बाल दिवस

कर्णालीका मुख्यमन्त्रीसँग बालबालिकाको प्रश्न : गुणस्तरीय शिक्षा खोइ ?

शुक्रबार, २९ भदौ २०८०, १९ : ११
शुक्रबार, २९ भदौ २०८०

 सुर्खेत । कर्णालीमा मुख्यमन्त्री र बालबालिकाबीच प्रश्नोत्तर गरेर बाल दिवस मनाइएको छ । यद्यपि कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा भने कार्यक्रममा सहभागी हुन सकेनन् । विशेष कारणबस काठमाडौँ जानु परेकाले उनले भर्चुअल माध्यमबाट बालबालिकाले राखेका प्रश्नको जवाफ दिए । 

‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नारासहित गरिएको कार्यक्रममा सहभागी एक छात्राले बालबालिकाको लागि राज्य बहिरोजस्तै भएको भन्दै गीतमार्फत् व्यङ्ग्य गरिन् । 

सुर्खेतकी छात्रा विनीता थापाले सोधिन्, ‘मुख्यमन्त्रीज्यू, बालबालिकाहरु दिनदिनै सडकमा देखिन्छन् । सडक बालबालिको रोकथामका लागि तपाईसँग के योजना छ ? साथै, उनले पछिल्लो समय बालबालिकाहरु लागुऔषधमा फस्दै गइरहेको भन्दै रोकथामका लागि के योजना ल्याइएको छ भन्दै प्रश्न गरिन् । 

अधिकांश विद्यार्थीले कर्णालीमा गुणस्तरीय शिक्षा नभएको बताए । जाजरकोटका लोकेन्द्र थापाले भने,‘जाजरकोटका बालबालिकाले आधारभूत शिक्षा सहज रुपमा पाउन सकिरहेको अवस्था छैनन् । यसबारे सरकारले के गरिरहेको छ ?

दैलेखबाट सहभागी एक छात्रले दैलेखमा बालविवाह व्याप्त रहेको र राज्यले त्यतातर्फ ध्यान नदिएको बताए । उनले भने,‘मुख्यमन्त्री ज्यू, बालबालिकामा लगानी किन भइरहेको छैन ?’ 

उता, डोल्पाको काइके गाउँपालिकाका छात्र गणेश रोकायाले शिक्षकहरुको कार्यशैलीमाथि नै प्रश्न उठाए । उनले भने,‘कहिले विद्यालयमा शिक्षक आउने, कहिले नआउने हुन्छ । निजी विद्यालयका विद्यार्थीहरु ट्यालेन्ट हुन्छन्, धन पैसा भएकाहरु निजीमै भएपनि पढ्छन् । अनि हामी भने सरकारीमा भएपनि सहज रुपमा पढ्न पाउने वातावरण छैन । शिक्षकहरुको कार्यशैलीको विषयमा राज्यले ध्यान दिनुपर्छ ।’ 

मुख्यमन्त्री शर्माले के भने ?

बालबालिकाको जवाफमा मुख्यमन्त्री शर्माले बालबालिका राष्ट्रका भविष्य भएको र सरकार तिनमा लगानी गर्न प्रतिबद्ध रहेको बताए  ।

‘राष्ट्र कस्तो बनाउने, समाज कस्तो बनाउने भन्ने कुरा हाम्रो बालबालिका, छोराछोरीमा निर्भर रहन्छ,’ उनले भने,‘हामीले बालबालिकामाथि लगानी गर्ने प्रयास गरिरहेका छौँ ।’ 

साथै, कर्णालीमा शिक्षालाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा वृहत् छलफल भइरहेको मुख्यमन्त्री शर्माको भनाइ थियो । ‘गुणस्तरीय शिक्षाको लागि हामी कसरी आजको २१ औं शताब्दीको सुहाउँदो, प्रविधिमैत्री शिक्षा बनाउने, मानव समाजलाई चाहिने दक्ष जनशक्ति उत्पादन कसरी गर्ने भन्ने विषयमा गम्भीर र चिन्तित छौँ,’ उनले भने,‘यो विषयमा क्याबिनेटमा पनि छलफल भइरहेको छ ।’ 

प्रदेश सरकार प्रविधिमैत्री शिक्षाका लागि नयाँ कार्यक्रम ल्याउने तयारीमा रहेको उनको भनाइ छ । लागु पदार्थ दुव्र्यसनीको विषयमा शर्माले यो गम्भीर विषय रहेको र त्यसलाई न्यून गर्न नयाँ–नयाँ कार्यक्रम ल्याउन जरुरी रहेको बताए । 

शर्माले भने,‘सामाजिक रुपान्तरण विषयमा कार्यक्रम ल्याएका छौँ । कु–संस्कार कुरीति विरुद्ध लडेर कर्णाली समृद्धि बनाउने अभियानमा छौँ ।’

शर्माले कर्णाली दौडनुपर्ने अवस्थामा रहेको र आफूहरू म्याराथन दौडको तयारीमा रहेको पनि बताए । उनले अहिलेको युग सुहाउँदो शिक्षाको विकास गर्नुपर्ने आवश्यकता रहेको र आइटी र शैक्षिक विषयमा वृहत् छलफल गरिने बताए ।

बालबालिकाको मुख्यमन्त्री सपना

आयोजकबाट कार्यक्रमका केही बालबालिकालाई तपाईँ मुख्यमन्त्री भएको भए के गर्नुहुन्थ्यो ? भन्ने प्रश्न सोधियो । जसमा जाजरकोटका लोकेन्द्र थापाले भने,‘म मुख्यमन्त्री भएको भए गुणस्तरीय शिक्षाका लागि बालबालिकामा लगानी गर्थे । समस्याको पहिचान गरी समाधान गर्थे ।’ 

जुम्लाकी प्रतिमा रोकायाले भनिन्,‘पिछडिएका प्रदेश अझ जुम्लालाई अगाडि विकास गर्थे । त्यहाँको शिक्षाको अवस्था दयनीय छ । शिक्षाका देखिएको समस्या हल गर्थे । हुम्लामा अझै बाटो पुगेको छैन । म रोडको व्यवस्था गर्थेँ । पिछडिएका जिल्लाको विकास‌ गर्थे।’

बालबालिकामा लगानी गर्नुपर्ने आवाजहरु उठ्ने गरेपनि कर्णाली सरकारले बालबालिकाको क्षेत्रमा न्यून बजेट छुट्याउने र त्यो बजेट पनि कार्यान्वयनमा नजाने स्थिति छ । बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेश अध्यक्ष टीकाराम आचार्य गुणस्तरीय शिक्षा नै आजको प्रमुख आवश्यक रहेको बताए । 

‘हामीले बालबालिकाका लागि २० प्रतिशत बजेट छुट्याउनुपर्ने भनिरहेका हुन्छौँ । तर, बजेट जम्मा ४ प्रतिशत छ,’ आचार्यले भने,‘एकातर्फ सरकार बालबालिकामा लगानी गर्न हिच्किचाउँछ, अर्कोतर्फ त्यही बजेट पनि कार्यान्वयनमा आउँदैन ।’ 

कर्णालीमा अहिलेसम्म बालअधिकार सम्बन्धी ऐन बनेको छैन भने शिक्षा ऐन पनि बन्न सकिरहेको छैन । शिक्षा विकास निर्देशनालयका निर्देशन दीपा हमाल शिक्षाका लागि छुट्याएको बजेट भवन र शौचालयहरुमा मात्रै खर्च भइरहेको बताइन् । 

प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना र बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेशको समन्वयनमा गरिएको कार्यक्रममा १० वटै जिल्लाका विद्यार्थीहरुको सहभागिता थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप