सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

फौजदारी मुद्दाको अनुसन्धान र अभियोजन गुणस्तरीय बनाउनुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ

शनिबार, ३० भदौ २०८०, १० : ५७
शनिबार, ३० भदौ २०८०

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले फौजदारी मुद्दाको अनुसन्धान र अभियोजन गुणस्तरीय बनाउनुपर्ने बताएका छन् । शुक्रवार काठमाडौँ मा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

श्रेष्ठले गुणस्तरीय अनुसन्धान र अभियोजनले फैसला पनि राम्रो आउने भएकाले अनुसन्धान र अभिायेजन गर्ने निकायले गर्ने काम गुणस्तरीय हुनुपर्ने बताए । प्रधानन्यायाधीश श्रेष्ठले अनुसन्धानको सुधार बिना निरपेक्ष रुपमा अभियोजनको सुधारको परिकल्पना गर्न नसकिने स्पष्ट पारे । 

उनले अनुसन्धानका तथ्यहरुलाई प्रमाण र कारणको विषयमा प्रमाणित गर्दै विषयगत, वस्तुगत र प्रभावकारी अभियोजन गर्नु अभियोजन कर्ताको दायित्व भएको उल्लेख गरे । उनले वस्तुपरक एवं प्रभावकारी अभियोजनले नै सरकारवादी मुद्दाको सफलता बढाउने र त्यसमा नै  फैसलाले कार्यान्वयनमा समेत सहजता बनाउने बताए । अनुसन्धान, अभियोजन, अतिरक्षा र न्याय निरुपणसँग सम्बन्धित निकायहरुको बीचको कार्यगत सम्बन्ध, समन्वय र सहकार्य बिना सुदृढ एवं स्वच्छ न्याय प्रणालीको गन्तव्य भेटाउन नसकिने बताए ।

‘अनुसन्धान र अभियोजन एक आपसमा अन्तरनिहीत र अन्योन्याश्रित विषयहरु हुन् । अनुसन्धानको सुधार बिना निरपेक्ष रुपमा अभियोजनको सुधारको परिकल्पना गर्न सकिँदैन । अनुसन्धानका तथ्यहरुलाई प्रमाण र कारणको विषयमा प्रमाणित गर्दै विषयगत, वस्तुगत र प्रभावकारी अभियोजन गर्नु अभियोजन कर्ताको दायित्व हो’ उनले भने, ‘अनुसन्धानको तहमा अभियोजन कर्ताको समन्वय र क्रियाशीलताले सापेक्षतामा नै समग्र अनुसन्धान र अभियोजनको प्रभावकारिता निर्भर गर्छ भन्ने मलाई लाग्छ । यसमा अभियोजनकर्ताको वाञ्छित ध्यान हुन जरुरी छ । वस्तुपरक एवं प्रभावकारी अभियोजनले नै सरकारवादी मुद्दाको सफलता बढाउँछ र त्यसलाई नै फैसलाले कार्यान्वयनमा समेत सहजता बनाउँछ ।’ 

प्रधानन्यायाधीश श्रेष्ठले सरकारी वकील कार्यालयबाट समयमा पुनरावेदनको म्यद नबुझेर पुनरावेदन गर्न अनुचित विलम्व हुने गरेको अवस्थालाई तत्काल निराकरण गर्न पनि महान्यायाधिवक्ताको कार्यालयको ध्यानाकर्षण गराए । प्रभावकारी अभियोजनसँगै मुद्दाको अभियोजन र पुनरावेदन छिटो छरितो हुनुपर्ने आवश्यकता पनि त्यत्तिकै महत्वपूर्ण रहेको बताए ।

प्रधानन्यायाधीश श्रेष्ठले अभियोजनका समस्याको पहिचान गरेर मात्रै नपुग्ने भन्दै समस्या समाधानका लागि पहिचान भएका उपाय वा विकल्पको कार्यान्वयन गर्न आवश्यक साधन श्रोत लगायतको व्यवस्थापन त्यत्तिकै आवश्यक रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप