बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
कविता

सपनाको घर

शनिबार, ३० भदौ २०८०, १३ : ०३
शनिबार, ३० भदौ २०८०

अलिकति वृक्षको जरा उखेलेर 
मेरी आमाको सिउँदोको सिन्दुरे माटोमा 
रुखको कलिला हाँगाबाट बनेका
मचिसका सिन्काको खाँबो
आमाले म जन्मिदा लगाई दिएकी 
भेटोको भित्ता बनाएर
बुबाको एक अँगालो छानो
लगाएर बनाएको घर
एउटा घर
सपनाको घर
सपनाजस्तै धुमिल भइरहेछ । 

फूलहरूको
पुतलीहरूको 
रङ्ग चोरेर रङ्गाएको घरको भित्ता
किन बेरङ्ग हुन्छ,
चराहरूको स्वतन्त्रता लुटेर 
बनाएको एउटा साम्राज्य
सपनाको साम्राज्य
किन ढाल्न खोज्छ घरी घरी बतासले ।

गुँड छोडेर गएकी चरी 
फेरि फर्कँदैन त्यही पुरानो गुँडमा
जसरी बास छाडेर गएको मौरी फर्कन्छ
आफ्नो घारमा ।

मायाको जङ्गलमा फूलेको 
बेमौसमी फूलको कुनै मोल हुँदैन
जसरी दुई किनारको मेल हुँदैन ।

चट्टानमा पनि बन्न सक्छ
एउटा घर
सपनाको घर
बालुवामा पनि फुल्न सक्छ
एउटा फूल
सपनाको फूल
न चट्टानले थेग्न सक्छ पहिरो 
र, बाँच्न सक्छ घर
सपनाको घर
न बालुवाले थाम्न सक्छ हुरी
र, बाँच्न सक्छ फूल 
सपनाको फूल ।

फूलको यौवनसँग 
आफ्नो वैश साटेपछि
जोवन र फूलको मूल्य 
एउटै रहन्छ ।
घर ढल्छ, सपनाको
ब्युँझिन्छ तन्द्रा यौवनको ।

डुवर्स, भारत

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा राई
दुर्गा राई
लेखकबाट थप