बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

आम निर्वाचन २०७९ को ‘अपाङ्गता’ कोणबाट पर्यवेक्षण रिपोर्ट सार्वजनिक : ‘चुनाव पूर्णरुपमा अपाङ्गतामैत्री भएन’

शनिबार, ३० भदौ २०८०, १३ : ४९
शनिबार, ३० भदौ २०८०

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ मा अपाङ्गता भएका व्यक्तिहरूलाई सहज रूपमा मतदान गर्न कठिनाइ भएको रिपोर्ट सार्वजनिक गरिएको छ ।  काठमाडौँमा नेत्रहीन युवा संघ नेपालले आयोजना गरेको ‘आम निर्वाचन २०७९ मा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच र सहभागिता’ विषयक कार्यक्रममा साे रिपोर्ट सार्वजनिक गरिएको  हाे ।

सार्वजनिक प्रतिवेदनमा निर्वाचनसम्बन्धी जानकारी अपाङ्गता भएका व्यक्तिहरूको लागि पहुँचयुक्त ढाँचामा नरहेको र निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रममा अपाङ्गता भएका व्यक्तिका लागि मतदाता शिक्षा सामग्रीको अभाव रहेको कुरा औँल्याइएको छ । 

आम निर्वाचनका क्रममा अपाङ्गता भएका व्यक्तिका लागि निर्वाचनसम्बन्धी कानुनी संरचना र नीतिहरूले संविधान, सीआरपीडीका कार्यादेशहरू, अपाङ्गता अधिकार ऐन २०७४, अपाङ्गता अधिकार नियमावली २०७७ र पहुँच युक्ततासम्बन्धी कार्यविधि २०७० मा रहेका नीतिगत मर्महरूको पूर्ण रूपमा पालना नभएको जनाइएको छ । 

निर्वाचन सम्बन्धी कानुनी व्यवस्थाले दृष्टि सम्बन्धी अपाङ्गता भएका वा शारीरिक अपाङ्गता भएका मतदाताहरूले आफूले रोजेको सहायक छान्न पाउने कुरा सुनिश्चित नगरेकोले मत प्रभावितको जोखिम औलाइएको छ ।  सो निर्वाचनमा मतदान केन्द्रहरू भुइँतलामा भए तापनि अन्य पहुँच अवरोधहरू फेला परेको, बाटाहरूमा खाल्डाखुल्डी, मतदान केन्द्रको प्रवेश मार्गहरूमा सिँढी रहेको, हृवीलचेयर जान सक्ने बाटो नरहेको र  शौचालयहरू टाढा रहेका कारण अपाङ्गता भएकाहरूले समस्या भोग्नुपरेको जनाइएको छ । 

नेत्रहीन युवा संघ नेपालले १०१ जना पर्यवेक्षकहरू खटाएर गरेको पर्यवेक्षणको क्रममा ८३ प्रतिशत स्थानमा मतदान केन्द्रमा सिडी चढ्नुपर्ने अवस्था पाइएको जनाइएको छ । पर्यवेक्षणका क्रममा अपाङ्गता मुद्दाबारे तालिम पाएका कर्मचारीहरू ४६ प्रतिशत र तालिम नपाएका ५४ प्रतिशत रहेको जनाइएको छ । 

पर्यवेक्षणका क्रममा एकजना अपाङ्गता भएका मतदातालाई नागरिकताको आधारमा पनि मतदान गर्न नदिएको, अर्को एकजना एकजना अपाङ्गता भएका व्यक्तिको मतदाता नामावलीमा नाम नभेटिएको र एकजना अपाङ्गता भएका व्यक्तिले आफैले मतदान गर्न खोज्दा नदिएको पाइएको जनाइएको छ । 

१०१ जना पर्यवेक्षक अन्तर्गत प्रदेश अनुसार कोशीमा २१ जना, मधेसमा १० जना, बागमतीमा २२ जना, गण्डकीमा ८ जना, लुम्बिनीमा २० जना, कर्णालीमा १० जना र सुदूरपश्चिममा १० जनाले ४७७ जनासँग अन्तरवार्ता लिएर अध्ययन गरेको नेत्रहीन युवासंघ नेपालका अध्यक्ष कलाधर भण्डारीले जानकारी दिए । 

सार्वजनिक प्रतिवेदनमा मतदान स्थल र उम्मेदवारी दर्ता कार्यालय पहुँचयुक्त बनाउन, ह्विलचेयर प्रयोग गर्न मिल्ने पूर्वाधार बनाउन, अपाङ्गता भएका मतदाताहरूलाई लक्षित गरी थप मतदाता शिक्षाको व्यवस्था गर्न, निर्वाचन कर्मचारीहरूलाई प्रशिक्षित गर्नुपर्ने लगायतका सुझावहरू प्रस्तुत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप