बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा शोक दिवस : वायु रक्षा धुन बजाएर युद्धको सम्झना

सोमबार, ०१ असोज २०८०, १६ : ४५
सोमबार, ०१ असोज २०८०

चीन । सोमबार बिहान चिनियाँ समय अनुसार १० बजे चीनभरि शोक धुन बजाइयो । त्यो धुन बज्दा कतिपयले मौन धारण गरे, कतिपयले इतिहासको सम्झना गरे ।

देशभरका विश्वविद्यालय, सहरका प्रमुख चोक र गाउँघरमा समेत यो आवाज सुनाइएको थियो । यसलाई ‘वायु रक्षा चेतावनी’को धुन भनिन्छ ।

हरेक वर्ष सेप्टेम्बर १८ तारिखका दिन चीनमा त्यो धुन बजाउने गरिन्छ । जनतालाई इतिहासको जानकारी होस् भनेर धुन बजाइएको हो ।

सन् १९३१ सेप्टेम्बर १८ मा जापानविरुद्ध युद्ध भएको सम्झना गराउने दिन हो आज । त्यसबेला जापानले चीनमाथि आक्रमण गरी कब्जा गर्ने अभियान चलाएको थियो । जापान विरुद्धको युद्ध कथा अहिलेको नयाँ पुस्तालाई समेत जानकारी होस् भनेर चीनले सेप्टेम्बर १८ का दिन बिहान १० बजे धुन बजाउने गरेको हो । 

चीन–जापान युद्धको निकै दर्दनाक कथा छ । सन् १९३१ को युद्धमा जापानले चीनमाथि गरेको आक्रमण र कब्जालाई लिएर चिनियाँ भाषामा अनेक चलचित्रसमेत बनाइएको छ । कयौँ चिनियाँले आजको दिन त्यो चलचित्र हेर्नेसमेत गरेका छन् । युनान विश्वविद्यालयमा अध्ययनरत एक छात्रले भनिन्, ‘चीन–जापान युद्धको कथा निकै दुःखदायी छ ।’

चीन–जापान युद्धमा दुई लाखभन्दा बढी चिनियाँ महिला बलात्कृत भएको तथ्याङ्क छ । त्यतिबेला चीनका कयौँ सहर जापानले कब्जा गरेको थियो भने ४ करोड २० लाख मानिस विस्थापित भएका थिए ।

त्यतिबेलाको आक्रमणमा ३ करोड ५० लाख चिनियाँ मारिएका थिए । त्यसैले आजको दिन बिहान १० बजे शोक धुन बजाइएको हो । बिहान १० बजेर १० मिनेटमा पनि पुनः धुन सुनाइएको थियो ।

चीनमा अहिले पनि चीन–जापान युद्धका अवशेष कयौँ म्यूजियममा राखिएको छ । चिनियाँहरुले आजको दिन बिहानैदेखि स्थानीय सामाजिक सञ्जालमा त्यतिबेलाको इतिहास र युद्धबारे विभिन्न पोष्ट गरेका छन् ।

सन् १९३१ देखि सन् १९४५ सम्म १४ वर्षसम्म चीन–जापान युद्ध भएको थियो ।

करिब ३ करोड ५० लाख सर्वसाधारण नागरिक र सैनिकको ज्यान गुमाएको, जापानीहरुले चीनको नान्चिङ सहरलाई कब्जा गरेपछि ३ लाख चिनियाँलाई धरपकड गरी हत्या गरिएको भन्दै आजको दिन चीनका प्रमुख सहरमा वायु रक्षा चेतावनीको धुन बजाइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप