शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
सरकार

सरकारको विकल्पको कुरा गर्दा देउवा भन्छन्– ‘प्रचण्ड इमानदार छन्, त्यस्तो गर्दैनन् यार !’

सोमबार, ०१ असोज २०८०, २० : १८
सोमबार, ०१ असोज २०८०

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको विकल्पबारे सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसभित्र अनौपचारिक छलफल चलिरहेको छ । यसैबीच कांग्रेस भित्रको विपक्षी खेमाको नेतृत्व गरेका नेता शेखर कोइरालाले प्रचण्ड सरकारको विकल्पको बहस सतहमा ल्याएका छन् । 

सुरुमा नेता कोइरालाले देउवा निवास धुम्बाराही पुगेर प्रचण्ड सरकारको विकल्प खोज्न प्रस्ताव गरेका थिए । कोइरालाले एमालेसँग सत्ता सहकार्य गर्न देउवालाई सुझाएका थिए । तर, पुस १० मा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘धोका’ दिएको भन्दै कोइरालाको सुझाव देउवाले ठाडै अस्वीकार गरिदिए । 

आम निर्वाचनमा कांग्रेसलाई पहिलो दल बनाएपछि छैटौँ पटक प्रधानमन्त्री बन्ने देउवाको ध्येय थियो । आफ्नो नेतृत्वमा सरकार बनाउन पाँचदलीय गठबन्धनलाई बहुमत जुटाउन जम्मा दुई सांसदको समर्थन अपुग थियो । 

देउवालाई साथ दिन ६ सिट भएको जनमत र ४ सिट भएको नागरिक उन्मुक्ति पार्टी तयार थिए । तर, गठबन्धनको दोस्रो घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि कुनै हालतमा पहिलो चरणमा प्रधानमन्त्री बन्ने दौडमा थिए । 

जसले चुनावपछि पहिलो चरण देउवा कि प्रचण्ड भनेर गठबन्धनमा लामै गलफती चल्यो । न देउवा गले, न त प्रचण्ड । बरु ‘ट्र्याक टू’का लागि देउवासँगको परामर्शमा नेता विमलेन्द्र निधि बालकोट पुस ९ को साँझ एमाले अध्यक्ष ओलीलाई भेट्न निधि बालकोट पुगेका थिए ।

कांग्रेस र एमाले मिलेर जाने निधिको प्रस्तावमा ओलीले सकारात्मक जवाफ दिए । तर, पुस १० मा ओलीले प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरेर कांग्रेसलाई सत्ता बाहिर हुत्त्याइदिए । 

उक्त घटनाबाट देउवा बाहिर नआउँदा एमालेसँगको सहकार्यमा समस्या भएको कांग्रेस नेताहरू बताउँछन् । 

प्रधानमन्त्री बनाएको एमाले नेतृत्वको गठबन्धन छाडेर कांग्रेस नेतृत्वको गठबन्धनमा फर्किएपछि प्रचण्डमाथि देउवाको पूर्ण भरोसा देखिन्छ । तर, प्रधानमन्त्री प्रचण्डको पछिल्लो अभिव्यक्तिले कांग्रेसका नेताहरूलाई तरङ्गित बनाएको छ ।

भदौ १६ मा पार्टीको तीन महिने अभियानको उद्घाटनको क्रममा चन्द्रागिरि नगरपालिका–४ मा आफू पाँचै वर्ष प्रधानमन्त्री बन्ने वातावरण बन्दै गएको अभिव्यक्ति दिएका थिए प्रचण्डले । ‘कति दिनलाई हो १५ दिन या एक महिना भन्ने थियो । अब पाँचै वर्ष जाला जस्तो भयो,’ उनको भनाइ थियो ।

प्रचण्डको उक्त अभिव्यक्तिपछि कांग्रेसको संस्थापन पक्षका नेताहरूले पनि सभापति देउवामाथि सरकारको नेतृत्वका लागि अग्रसरता देखाउन सुझाएको पाइएको छ । मन्त्री नभएका कांग्रेसका सबैजसो नेताले देउवामाथि प्रचण्ड सरकारको विकल्प खोज्न दबाब बढाएको देखिन्छ ।

सत्ता गठबन्धनमा प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र देउवाबीच आलोपालो प्रधानमन्त्रीको समझदारी छ । सत्ता राजनीति यही कोर्समा अघि बढ्दा देउवा ०८३ साउनतिर मात्र प्रधानमन्त्री बन्नेछन् । ०८३ सम्म देउवा प्रधानमन्त्री बन्ने गरी राजनीतिक कोर्स अघि बढ्नेमा कांग्रेसका नेताहरूलाई विश्वास छैन । 

देउवापक्षीय एक नेताले भने, ‘गठबन्धनमा सहमति भएको भनिएअनुसार शेरबहादुर दाइ प्रधानमन्त्री बन्ने सम्भावना देखिँदैन । प्रचण्डजी ८४ को चुनावी समीकरण हेरेर अगाडि बढ्ने अवस्था आउँछ । ८४ मा चुनावी तालमेल गर्ने बचन दिन नसकिएको अवस्थामा उहाँले कोर्स फेर्नुहुन्छ ।’ 

पहिलो पार्टी भएर पनि कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर नपाउने विश्लेषण कांग्रेसका नेताहरू छ । ती नेताले उक्त कुरा शुक्रबार सभापति देउवालाई पनि सुनाएका थिए । तर, देउवाले प्रचण्डबाट धोका नहुने विश्वास मिश्रित जवाफ फर्काए ।

ती नेताले देउवाको भनाइ उद्धृत गर्दैै रातोपाटीसँग भने, ‘प्रचण्ड सहमतिप्रति इमानदार छन्, त्यस्तो गर्दैनन् यार । सहमतिअनुसारै जानुपर्छ ।’ देउवाले अन्य नेताहरूलाई पनि सोही अनुसारको जवाफ दिने गरेका छन् ।

नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, ज्ञानेन्द्रबहादुर कार्की, मिनेन्द्र रिजाल, महेन्द्र यादव, बीरबहादुर बलायर, रामहरि खतिवडा लगायतका नेताहरूले सरकारको नेतृत्वका लागि अग्रसर हुन दबाब दिएको पाइन्छ । 

शेखर–गगन पक्षको पनि दबाब

कांग्रेसको संस्थापन इतर पक्ष भने देउवामाथि सार्वजनिक र आन्तरिक रुपमा नै सरकारको नेतृत्वका लागि अग्रसर हुन आग्रह गरिरहेको छ । महामन्त्री थापाले केही महिनामै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताउँदै आएका छन् ।

भदौ २२ मा नयाँ बानेश्वरमा पत्रकारहरुसँगको कुराकानीमा नेता कोइरालाले सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने मत राखेका थिए । 

‘मैले एक स्टेप अघि बढेर सभापति शेरबहादुर देउवा भएकै कार्यक्रममा केही दिनअघि यो कुरा राखेको थिएँ । कांग्रेस नेतृत्वमा सरकार भयो भने मानिसहरूलाई कम्तीमा प्रजातन्त्र त बाँच्छ भन्ने लाग्छ । अहिले जति अराजकता छ, कांग्रेस नेतृत्वमा सरकार बनेपछि त्यो घट्छ भन्ने मलाई विश्वास छ,’ उनको भनाइ थियो, ‘अहिलेकै गठबन्धन निरन्तर रहने गरी कांग्रेसले सरकारको नेतृत्व लिन सक्छ । नभए विकल्पबारे पनि सोच्नुपर्छ ।’

नेता कोइरालाले प्रधानमन्त्रीमा सभापति देउवाको विकल्प नभएको बताएका थिए  । ‘नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्छ । लोकतान्त्रिक पद्धतिबाट अगाडि जान्छ । त्यसमा हाम्रो संसदीय दल छ,’ उनी भन्छन्, ‘संसदीय दलको नेता शेरबहादुरजी हुनुहुन्छ । संसदीय दलमा उहाँको राम्रो बहुमत छ । नेचुरली उहाँ नै प्रधानमन्त्री हुनुहुन्छ । अर्को विकल्प वा म बन्छु भनेर बन्ने होइन ।’

संसदीय दलको नेता परिवर्तनको परिस्थिति नै नआएको उनको भनाइ छ  । ‘संसदीय दलको नेता परिवर्तनको परिस्थिति नै आएको छैन । कसरी कुरा गर्ने ?’ उनको प्रश्न छ ।

९ मन्त्रालयसहित कांग्रेस सरकारमा हुँदा पनि जनता र कार्यकर्तालाई अनुभूति नभएको कोइराला बताउँछन् । 

‘कांग्रेसबाट अहिलेको सरकारमा ९ जना मन्त्री छन् । म मन्त्रीहरूसँग कुराकानी गरिरहेको हुन्छु । मन्त्रीहरूले छानेको सचिव राख्न पाइएन भन्ने गुनासो गरेका छन्। कांग्रेसका मन्त्री भएका ठाउँमा प्रधानमन्त्रीजीले एमालेनिकट सचिवहरू पठाइ दिनुभएको रहेछ,’ उनी भन्छन् ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरूलाई निरीह बनाएको भन्दै जनतामा आशा जगाउने गरी काम गर्न मन्त्रीहरूले नपाएको उनको गुनासो थियो । ‘मन्त्रीहरूले काम गर्न सक्ने स्थिति नै छैन । बिचरा निरीह छन् । खेलकुद मन्त्री (डिगबहादुर लिम्बु) भन्दै थिए– ‘पेट्रोल हाल्ने पैसा पनि छैन रे मन्त्रालयमा । जनतालाई आशा जगाउँदै काम गर्नुपर्ने मन्त्रीहरू यस्तो समस्यामा छन् ।’

मन्त्रीहरूले आफू निकटलाई मन्त्रालयमा राख्न काम गर्न नसकेको उनको बुझाइ थियो । ‘विभिन्न नियुक्तिमा पहिले नै कोही माओवादी त कोही एमालेका मानिसले नियुक्ति लिएका छन् । मन्त्रीहरूका काम झण्डा हल्लाएर आफ्नो निर्वाचन क्षेत्रमा जानेमै सीमित छ । प्रभावकारी काम गर्न सकेका छैनन् । मन्त्रीका कुरा सचिवले सुन्दैनन्,’ कोइरालाले भने । 

कांग्रेस केन्द्रीय सदस्य गोविन्द पोखरेलले सरकारका कामकारबाहीले राजनीतिक दलप्रति अझै निराशा पैदा हुँदा विकल्पको विषय उठाइरहेको बताए । 

‘माओवादीसँगको गठबन्धनमा होस् वा एमालेसँगको, सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छ । यही सरकारको निरन्तरता रह्यो भने भ्रष्टाचार, सामाजिक सद्भाव र जनजीविकाका सवालमा अझै धेरै ठुलो निराशा देखिनेछ भनेरै शेखर दाइले सरकार परिवर्तनको कुरा उठाउनु भएको हो,’ पोखरेलले रातोपाटीसँग भने ।

भ्रष्टाचारकै मुद्दामा प्रधानमन्त्रीले माओवादीका नेताहरू जोगाउने र कांग्रेसका समात्ने दोहोरो मापदण्ड देखाउँदा सरकारप्रति निराशा बढाइरहेका पोखरेलको भनाइ छ । 

‘सरकारको सुशासन कसैलाई काखा, कसैलाई पाखा गर्ने ढंगको भयो । माओवादीको नेताहरूको नाम बयान आउँदा कसैलाई सोधपुछ पनि गरिएन । कसैलाई प्रतिवादी पनि बनाइएन,’ उनले भने, ‘कांग्रेसलाई घर–घर गएर थुतेर ल्याएर आउने कुराले सरकारप्रति जनविश्वास गुम्यो । जनता गठबन्धनप्रति निराश भए । गठबन्धनको सबैभन्दा ठुलो दल कांग्रेसप्रति पनि निराशा बढ्ने भयो ।’

कांग्रेस संसदीय दलको नेता फेरेर अहिलेको निराशालाई चिर्न वर्तमान गठबन्धनबाटै सरकारको नेतृत्व गर्नुपर्ने उनको भनाइ छ । ‘शेखर दाइ एमालेसँग मिलेर सरकारको नेतृत्व गर्ने कुरा गलत हो । संसद्को ठुलो दलको हैसियतमा सरकारको नेतृत्व गर्ने गरी अगाडि बढ्नुपर्छ भन्ने उहाँको कुरा हो,’ कोइरालाका विश्वासपात्रसमेत रहेका पोखरेल भन्छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप