आइतबार, १४ असोज २०८०
ताजा लोकप्रिय

शिक्षा र स्वास्थ्यमा नागरिकको सहज पहुँच पुर्याउन सरकारले नयाँ नीति अवलम्बन गर्छ : मुख्यमन्त्री जमरकट्टेल

मंगलबार, ०२ असोज २०८०, २१ : ४८
मंगलबार, ०२ असोज २०८०

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले शिक्षा र स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच पु¥याउन सरकारले नयाँ नीति अवलम्बन गर्ने बताएका छन् । मगंलबार आयोजित राष्ट्रिय शिक्षा दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जमरकट्टेलले स्वास्थ्य क्षेत्रको शिक्षा महँगो भएकोले सरकारले नीतिगत सुधारका लागि पहल गर्ने बताएका हुन् ।

उनले शिक्षा र स्वास्थ्यमा नीतिगत सुधारका लागि आवश्यक सम्पूर्ण निर्णय लिने बताए । अन्य प्रदेशको तुलनामा बागमती प्रदेश शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा अब्बल रहेको र सो क्षेत्रको विकासमा फड्को मार्ने क्रममा रहेको उनले बताए ।

‘नागरिकहरु स्वास्थ्य क्षेत्रका विभिन्न विषय पढ्न महँगो खर्च व्यहोर्नु पर्ने अवस्था छ । स्टाफ नर्स पढ्न नेपालमा निकै महँगो भएकोले युवाहरु पढ्नकै लागि विदेश पलायन भएका छन् । सो विषय अध्यापनको लागि प्रदेश सरकारले शुल्क निर्धारण गर्नेछ,’ उनले भने ।

मुख्यमन्त्री जम्कट्टेलले शिक्षा क्षेत्रको पाठ्यक्रममा नै त्रुटि रहेको बताए । शिक्षा क्षेत्रको सुधारका लागि पाठ्यक्रम र प्रयोगात्मक शिक्षा प्रणालीको विकास गर्न जरुरी रहेको उनले बताए । शिक्षित युवाहरु सिप सहित विदेश जाँदा आर्थिक रुपमा पनि सबल बन्न सहयोग पुग्ने उनले बताए ।

‘शिक्षा क्षेत्रमा धेरै बहस भएका छन् । तर हाम्रो पाठ्यक्रममा त्रुटि छ । यसको सुधार गर्न र प्रयोगात्मक शिक्षा प्रणाली विकास गर्न जरुरी रहेको छ । विदेश जाने युवाहरुले पनि सिप र क्षमता विकास गर्न जरुरी हुन्छ । यसले आर्थिक उपार्जनमा सहयोग गर्दछ,’ मुख्यमन्त्री जम्कट्टेलले भने ।

यसैगरी बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले समाज सुधार गर्नका शिक्षाको महत्त्वपूर्ण भूमिका रहने बताइन् । सभ्य समाज विकासका लागि पहिलो भूमिका शिक्षकको रहने भएकाले राम्रो शिक्षा प्रदान गर्न जरुरी रहेको उनको भनाई छ । 

मन्त्री मोक्तानले प्रदेश सरकारले सामुदायिक विद्यालयहरूको शिक्षाको गुणस्तरको सुधारका लागि सरकारले पहल गरिरहेको र सोही अनुसार शिक्षा क्षेत्रको विकासमा लगानी भइरहेको  बताइन् ।

प्रदेशका ८ विद्यालय पुरस्कृत

उक्त कार्यक्रममा प्रदेशका ८ विद्यालयहरुलाई पुरस्कृत गरिएको छ । राष्ट्रिय शिक्षा दिवस २०८० बाट प्रदेशका विभिन्न जिल्लाका ८ वटा विद्यालय पुरस्कृत गरिएको हो ।

मन्त्रालयले २०७९ सालको एसइई परीक्षामा औसत जिपिए उच्च ल्याउने प्रदेशका ५ वटा सामुदायिक र ३ वटा संस्थागत विद्यालयलाई नगदसहित प्रशंसा पत्रले पुरस्कृत गरिएको हो । संस्थागत विद्यालयतर्फ बुढानिलकण्ठ नगरपालिका–१० मा रहेको रिलायन्स इन्टरनेशनल एकेडेमी प्रथम, काठमाडौँको हिज किड्स इन्टरनेसनल स्कुल  द्वितीय र टोखा नगरपालिका–८ मा रहेको लोरोसेन्ट माध्यमिक विद्यालय तृतीयमा छनौट भई पुरस्कृत गरिएको हो । प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः नगद १ लाख रुपैयाँ, ८० हजार रुपैयाँ र ६० हजार रुपैयाँ प्रदान गरिएको थिए ।

त्यस्तै सामुदायिक विद्यालयतर्फ भक्तपुर नगरपालिका–३ मा रहेको मेघा माध्यमिक विद्यालय प्रथम, विदुर–४ नुवाकोटमा रहेको पृथ्वी माध्यमिक विद्यालय द्वितीय, काठमाडौँ–७ को श्रम राष्ट्रिय माध्यमिक विद्यालय तृतीय, तारकेश्वर नगरपालिकाको पृथ्वी नारायण माध्यमिक विद्यालय चौथो र चन्द्रागिरि नगरपालिका १२ को बलम्बु माध्यमिक विद्यालय पाँचौँ स्थानमा समेटिएका थिए । छनौट भएका विद्यालयलाई नगद क्रमश ः १ लाख, ८० हजार, ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ प्रदान गरिएको थियो ।  

यसैगरी अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित प्रदेश स्तरीय माध्यमिक विद्यालय तहको निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरेको थियो । 

यस्तो छ बागमतीको शिक्षाको अवस्था

बागमती प्रदेशका ८९ वटा विदालयहरु नमुना विद्यालयका रुपमा संचालनमा रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार बागमती प्रदेशमा संघीय नमुना विद्यालयहरू ६९ र प्रदेश सरकारले छनोट गरेका २० विद्यालयको रुपमा सञ्चालन भइरहेको छ ।

शैक्षिक सत्र २०७९ मा प्रदेशमा सामुदायिक ४ हजार ८७५ (७०.४% ) र संस्थागत २ हजार ४९ (२९–६६ ) गरी कुल ६ हजार ९२४ वटा विद्यालय रहेको छन् भने आधारभूत विद्यालय ३ हजार ७७८ र माध्यमिक विद्यालय २ हजार ९२३ रहेका छन् । मन्त्रालयका अनुसार प्रदेशमा ७ हजार ३९१ बाल विकास केन्द्रहरू सञ्चालनमा रहेका छन् । जसमध्ये सामुदायिक तर्फ ५ हजार ५२३ र संस्थागत तर्फ १ हजार ८६८ केन्द्रहरु रहेका छन् ।

प्रदेशका आधारभूत तहका विद्यालयहरुमा ९ लाख ६९ हजार ८०६ विद्यार्थीहरु रहेका छन् भने माध्यमिक तहमा ३ लाख ७५ हजार ७३ जना रहेका छन् । प्रदेशको आधारभूत तह कक्षा (१–५) को भर्नादर ९७.४ प्रतिशत रहेको छ । आधारभूत तह कक्षा (६–८) को ९६ ४ प्रतिशत, माध्यमिक तह कक्षा (९–१०) को ७७.२ प्रतिशत र माध्यमिक तह कक्षा (११– १२) को ३६–५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

सामुदायिक तर्फका बाल विकास केन्द्रमा १ लाख ४ हजार ३२२ जना र संस्थागत तर्फका केन्द्रमा १ लाख ४० हजार ६३१ जना विद्यार्थीहरु अध्ययनरत रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी समुदायको जीवनपर्यन्त सिकाइको थलो एवम् सूचनाको स्रोतको रुपमा विकास गर्न स्थापना भएका ४६३ सामुदायिक सिकाइ केन्द्रमा २ लाख ४४ हजार ९५३ जना विद्यार्थीहरु अध्ययनरत छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप