शनिबार, २९ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

केन्द्रीय नेताले प्रदेश ताक्दा गण्डकी एमालेका अन्यलाई सकस !

बुधबार, ०३ असोज २०८०, १४ : २९
बुधबार, ०३ असोज २०८०

कास्की । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा केन्द्रीय कमिटी सदस्यहरू नै नेतृत्वका लागि दौडधुपमा लागेपछि अन्य नेताले सकस महसुस गर्न थालेका छन् । अगामी असोज १५ र १६ गते पोखरामा एमालेको गण्डकी प्रदेश अधिवेशन हुँदै छ । 

त्यसका लागि आवश्यक तयारीमा प्रदेश कमिटी जुटेको छ । तयारीस्वरुप प्रदेश कमिटीले मङ्गलवार अधिवेशनको लोगो सार्वजनिक गरिसकेको छ भने प्रतिनिधि छनोटको काम असोज ६ गतेबाट सुरु हुने नेकपा एमाले गण्डकी प्रदेका उपसचिव रश्मी आचार्यले जानकारी दिए । 

आचार्यका अनुसार अधिवेशनमा करिब ९ सय प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशन सम्पन्न गर्न विभिन्न ११ वटा उपसमिति गठन गरेर तयारी सुरु भएको आचार्यको भनाइ छ । गण्डकी प्रदेशमा एमालेका ६३ हजार ५ सय संगठित सदस्य रहेका छन् ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीले असोज १५ गते अमरसिंहचौरमा उद्घाटन गर्ने अधिवेशन मिति नजिकिँदै गर्दा प्रदेश कमिटीको नेतृत्व लिन आकांक्षीहरु बढ्दै जान थालेका छन् ।

त्यसका लागि केन्द्रीय नेतादेखि प्रदेशस्तरका नेताहरूले आकांक्षा देखाएका छन् । प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्यहरू मायानाथ अधिकारी, कृष्ण थापा, सूर्य पाठक, तिलक महत, रामशरण बस्नेत लगायतका नेताहरूले कसरत गरेको बुझिएको छ । अधिकारी, थापा, पाठक, महत र बस्नेत बाहेक हाल प्रदेश कमिटी अध्यक्ष रहेका नवराज शर्मा, उपाध्यक्ष मोहन रेग्मी, सचिव धनञ्जय दवाडी उपसचिवद्धय मञ्जु अधिकारी र रश्मी आचार्य समेत प्रदेश नेतृत्वका लागि आकांक्षीका रूपमा देखिएका छन् । तर, केन्द्रीय सदस्यहरू नै प्रदेशको नेतृत्व लिन अग्रसर हुन थालेपछि प्रदेशस्तरीय नेताहरूलाई भने ‘सकस’ पर्न थालेको एक पदाधिकारीको भनाइ छ । 

‘प्रदेशमा प्रदेशस्तरकै नेता आउनुपर्छ भन्ने एक कोणबाट कुरा उठेको छ । कतिपयले केन्द्रीय कमिटी सदस्यले प्रदेशको नेतृत्व गर्नुपर्छ पनि भनिरहेका छन् । प्रदेश नेतृत्वका लागि केन्द्रीय नेता आउने भएपछि हामीलाई सकस पर्ला जस्तो छ’, प्रदेश कमिटीका एक पदाधिकारीले भने, ‘केन्द्रका नेता प्रदेशमा झर्ने हो भने हामीले कहिले अवसर पाउने ?’

यता प्रदेश नेतृत्वका लागि धेरै नेताले आकांक्षा देखाएपछि पार्टी केन्द्रले हस्तक्षेप गरेर सर्वसम्मत नेतृत्व चयनको प्रयास समेत भइरहेको बुझिएको छ । 

कसरी हुँदैछ तयारी ?  

असोज १५ गते अमरसिंह चौरमा हुने अधिवेशनको उद्घाटन सभामा हजारौँको जनसहभागिता जुटाउने एमाले गण्डकी प्रदेशले जनाएको छ । त्यसका लागि पार्टी स्थायी कमिटी सदस्य एवं कास्कीका इन्चार्ज थममाया थापाको संयोजकत्वमा जनपरिचालन उप–समिति गठन गरिएको छ । 

त्यस्तै अधिवेशनलाई सभ्य र भव्य ढंगले सम्पन्न गर्न विभिन्न उपसमितिहरू गठन भएका छन् । जसमा प्रदेश अध्यक्ष नवराज शर्माको संयोजकत्वमा प्रतिवेदन तयारी उपसमिति, मीनप्रसाद गुरुङको संयोजकत्वमा आर्थिक उपसमिति, रश्मि आचार्यको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, धनञ्जय दवाडीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, माधव बास्तोलाको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति र खाजा खाना उपसमिति, मोहन रेग्मीको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति, मञ्जु अधिकारीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, डा.बुद्धिमान श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य उपसमिति र  मन कुमार श्रेष्ठको संयोजकत्वमा सांस्कृतिक उपसमिति गठन गरिएको छ ।

त्यसैगरी युवराज पौडेलको संयोजकत्वमा आवास उपसमिति, कमरेड हुमबहादुर गुरुङको संयोजकत्वमा झाँकी व्यवस्थापन उपसमिति गठन भएका छन् ।  एमालेले अधिवेशनको प्रतिनिधि छनौटका लागि  विभिन्न मापदण्ड, छनौट विधिसहित तालिका समेत सार्वजनिक गरिसकेको छ । जसमा ०८० को नवीकरण भएका पार्टीका संगठित सदस्यहरूलाई मात्र प्रतिनिधिमा चुन्ने र चुनिने अधिकार हुनेछ । 

सय सदस्य बराबर एक प्रतिनिधि

एमालेले प्रतिनिधि छनोटको मूल इकाई (क्षेत्र) पालिकालाई बनाएको छ । मजदुर क्षेत्रका लागि भने इकाई जिल्ला तह हुनेछ ।  प्रतिनिधि छनोटको आवश्यक योजना सहितको व्यवस्थापन जिल्ला कमिटीहरूले गर्नेछन् भने सो प्रयोजनको लागि असोज ४ गते जिल्ला कमिटीका बैठक बस्नेछ । पालिकाका अर्थात् हरेक निर्वाचन इकाई (क्षेत्र) बाट न्यूनतम ३ जना प्रतिनिधि छनौट हुनेछन् । १०० पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छनौट गरिने छ र हरेक १०० पछि १ जना थपिने छ । यसरी छनौट गर्दा हरेक सातौँ नम्बरमा ४० बर्ष मुनिको युवा छनौट गरिनेछ । 

त्यस्तै उत्पीडित क्षेत्रबाट ६० पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छनौट गरिने छ । हरेक ६० पछि थप एक जना थपिने छ । २ जना मात्र प्रतिनिधित्व हुने अवस्थामा दोस्रोमा महिलाको प्रतिनिधित्व हुनेछ । मजदुर क्षेत्रमा ५० पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छनौट हुने छन् । यसरी निर्वाचन क्षेत्र कायम हुन र प्रतिनिधित्व हुन जिल्लामा मजदुरको कमिटी अनिवार्य निर्माण भएको हुनु पर्ने छ । हरेक क्षेत्रबाट ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरिएको छ । 

जनसंगठनबाट प्रतिनिधित्व गराउँदा अनुसूचि १ मा रहेका अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासङ्घ, नेपाल टेड युनियन महासङ्घ (जिफन्ट), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन , राष्ट्रिय युवा संघ नेपाल, नेपाल उत्पीडित जातीय मुक्ति समाज, लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ, नेपाल, पेसागत महासङ्घ, नेपाल, नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासङ्घ, नेपाल खेलकुद महासंघबाट ५ जना हुनेछन् । ५ जनामा २ जना महिला हुने छन् ।

अनुसूची २ मा रहेका जनसङ्गठनहरू प्रेस चौतारी नेपाल, राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपाल बुद्धिजीवी परिषद्, राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल, नेपाल भूमिहीन तथा सुकुम्वासी संगठन, नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन, प्रगतिशील तथा पेसागत कानुनी व्यवसाय संगठन, राष्ट्रिय अपाङ्गता संगठन, प्रोगेसिम इन्जिनियरिङ एसोसिएसन नेपाल, मानवअधिकार तथा सामाजिक न्याय मञ्च, नेपाल मुस्लिम इत्तेहाद संगठन र रिटर्निङ फेडेरेशन नेपालबाट ३ जना प्रतिनिधि छानिने छन् ।

प्रतिनिधि छनौट प्रक्रियाको कार्यतालिका अनुसार असोज ४ गते जिल्ला कमिटीले निर्वाचन क्षेत्रका लागि मतदान अधिकृत तोक्ने छन् भने ५ गते  हरेक क्षेत्रको मतदाता नामावली प्रकाशित हुनेछ । असोज ६ गते: मनोनयन पत्र दर्ता, ७ गते  मनोनयन उपर दाबी विरोध, उजुरी दिने, छानबिन गर्ने, नाम फिर्ता लिने, असोज ८ गते  उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन र  असोज ९ गते निर्वाचन  हुनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप