अध्यक्ष ओलीलाई चुनौती दिँदै एमाले बागमती अधिवेशनमा प्यानलको अभ्यास

काठमाडौँ । चार दिनदेखि जारी नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको मतदान आज (बिहीबार) बेलुका ६ बजेबाट सुरु हुने भएको छ । यसअघि निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले बिहीबार दिउँसो ४ बजेबाट मतदान गर्ने कार्यतालिका बनेको बताएका थिए तर पछिल्लो कार्यतालिका अनुसार साँझ ६ बजेदेखि १० बजेसम्मलाई तोकिएको कार्यतालिका सार्वजनिक भएको छ ।
नेकपा एमालेले प्रदेश कमिटीको आकार पनि बढाएको छ । यसअघि पाँच पदाधिकारीसहित २४० सदस्यीय प्रदेश कमिटी बनाउने निर्णय गरेको एमालेले ५ सङ्ख्या बढाएर २४५ बनाउने भएको छ ।
‘क्लस्टरमा मिलेको थिएन । आदिवासी, जनजाति र पिछडिएको वर्गबाट ५ सदस्य थपिने भएका छन्’, प्रमुख निर्वाचन अधिकृत मैनालीले भने, ‘क्लस्टर मिलाउँदा सङ्ख्या बढेको हो ।’
वामगती प्रदेश कमिटीको अध्यक्षमा पाँच जनाले उम्मेदवारी दर्ता गरेका छन् । कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल, सानु श्रेष्ठ, केशर बुढाथोकी र केशवराज पाण्डेले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
एमाले नेतृत्वले सहमतिमै प्रदेश कमिटी चयन गर्न गरेको प्रयास असफल भएपछि आकाङ्क्षीहरूले उम्मेदवारी दर्ता गरेका हुन् । अध्यक्षमा पाँच जनाले उम्मेदवारी दर्ता गरे पनि अन्तिम प्रतिस्पर्धा ढुङ्गेल र दाहालबीच हुने प्रतिनिधिहरूको अनुमान छ । यद्यपि निर्वाचन मण्डलले अध्यक्षमा ढुङ्गेल र दाहालका बीचमा पनि सहमति खोज्ने प्रयास जारी राखेका छन् । अध्यक्ष मण्डलका सदस्य रामेश्वर फुयाँलले मतदान र सहमति दुवै प्रक्रिया सँगसँगै अघि बढेको बताए ।
‘दुबै प्रयास जारी छन्’, फुयाँलको भनाइ छ । मतदानमा ढिलाइ हुँदा अध्यक्षका दुई आकाङ्क्षी ढुङ्गेल र दाहालले अघोषित रूपमा प्यानल बनाएर मत मागिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनलाई वेवास्ता गर्दै उनीहरुले त्यसरी मत मागेका हुन् ।
स्रोतका अनुसार कैलाश ढुङ्गेलले उपाध्यक्षमा दावा दोेर्जे शेर्पालाई अघि सार्दा ईश्वर चन्द्र पोखरेल चिढिन पुगेका छन् । त्यस्तै ढुङ्गेल समूहबाट सचिव हस्त पण्डित रहेका छन् ।
दाहालले भने उपाध्यक्षमा नारायण खतिवडालाई सघाउने बचन दिएको बुझिएको छ । त्यस्तै सचिवमा रत्ना गुरुङलाई अघि सारेको पनि बुझिएको छ । यसअघि एकीकृत समाजवादीबाट एमाले फर्किएका सुवास कर्माचार्यलाई महासचिव शंकर पोखरेलले प्रदेश सचिव बनाउने वचन दिएका थिए । तर, अहिले चुनाव हुने भए नउठनू भन्ने निर्देशन दिएकाले उनी पछि हटेको निकटस्थहरू बताउँछन् ।
सुवासका नाममा सचिव सर्वसम्मत नभएपछि गोकुल बाँस्कोटाले स्ट्याटस नै लेखेको प्रतिनिधिहरुबीच चर्चा छ । दाहाल समूहबाट सचिवमा नवराज सिलवाल उठेको प्रतिनिधिहरुबीच चर्चा छ । दुवै समूहमा उपसचिवमा भने प्यानल छुटिएको छैन । ‘उपसचिवमा कसैले पनि प्यानलमा नसमेट्ने जसले जित्छ उसैलाई आफ्नो प्यानलको दाबी गर्ने तयारी छ’, एक एमाले नेताले भने, ‘डामाडोल अवस्थामा को कसको प्यानल भन्ने छुट्याउन नै गाह्रो छ ।’
ढुंगेललाई एमाले नेता महेश बस्नेत र दाहाललाई गोकुल बाँस्कोटाको समर्थन रहेको बताइन्छ ।
यसैबीच अध्यक्षमा पाँचजनाको उम्मेदवारी दर्ता गरिएको बताइए पनि प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले चार जनाको मात्रै अध्यक्षमा उम्मेदवारी दर्ता भएको बताए । उनले भने, ‘कैलाश ढुंगेल, कृष्ण दाहाल, केशव बुढाथोकी र सानु श्रेष्ठको मात्र उम्मेदवारी निर्वाचन कमिटीमा दर्ता भएको छ ।’ तर बुधबार बेलुका आफूले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको दाबी केशवराज पाण्डेले बताए । निर्वाचन कमिटीको सार्वजनिक लिष्टमा पनि अध्यक्ष पाण्डेले पाँचसय दस्तुर तिरेर उम्मेदवारी दर्ता गरेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन