सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

देउवामाथि शृङ्खलाबद्ध प्रहार : कसले के भने ?

बिहीबार, १५ चैत २०७४, १३ : ३४
बिहीबार, १५ चैत २०७४

काठमाडौं–निर्वाचनमा अप्रत्यासित हार बेहोरेको नेपाली काँग्रेसमा निर्वाचन पराजयको नैतिक जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने भन्दै नेताहरूले दबाब बढाइरहेका छन् । 
निर्वाचनपश्चात पाचौं पटकको बैठकमा औपचारिक रूपमा निर्वाचन समीक्षा सुरु भएको छ ।

फागुन १४ मा वरिष्ठ नेता रामचन्द्र पौडेलले लिखित रूपमा देउवामाथि आरोप लगाउन सुरु गरेपछि त्यसको शृङ्खला पछिल्लो केन्द्रीय समितिको वैठकमा थप बढेको छ । एक सातादेखि जारी बैठकमा लिखित तथा अलिखित रूपमा नेताहरूले देउवामाथिको प्रहारलाई तीव्रता दिएका छन् ।

केन्द्रीय समितिमा हालसम्म बोल्ने अधिकांश सदस्यहरूले नेतृत्वको कार्यशैली र कार्यक्षमतामा प्रश्न गरिरहेका छन् ।

-रामचन्द्र पौडेल (फागुन १४ मा पत्र मार्फत)
दलको बैठकहरू नियमित रूपमा डाकिएको छैन ।  सभापतिको पार्टी सञ्चालन प्रक्रिया पार्टी संस्थागत भएको छैन । महाधिवेशन सकिएको दुई महिनामा पूर्णता पाउनुपर्ने विभागहरूले दुई वर्ष पुगिसक्दा पनि पूर्णता पाएका छैनन् । तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्व क्षमतामाथि प्रश्न उठाउने गरेका देउवालले दल सञ्चालनलाई सुझबुझपूर्ण गरिएको छैन ।

संविधान संशोधन, प्रहरी महानिरिक्षक नियुुक्ति, राजदूत सिफारिसलगायत सरकारका कामकारवाही र प्रभावकारिता सभापतिबाट गलत विधि अपनाइएको थियो । काँग्रेस कोटाबाट राजदूतमा सिफारिस गर्दा आर्थिक चलखेलको आधारमा रोजियो ।

जम्बो मन्त्री मण्डलले वितृष्णा फैलिएको थियो । मधेसी दलहरूसँगको गठवन्धनको औचित्य पुष्टि गर्न सक्नुभएन । मूल्याङ्कनबाट चलेको भए वा गुट मासेको भए काँग्रेसको हाईहाई देउवामाथि हुने थियो । सातमध्ये एउटै प्रदेशमा पनि काँग्रेसको खुट्टा राख्ने ठाउँ छैन ।
 
–प्रकाशमान सिंह
सभापतिजीले नेपाली काँग्रेसको विधानलाई पूरै बेवास्ता गरेर अप्रजातान्त्रिक एवम् अराजक शैलीमा पार्टी सञ्चालन गर्नुभएको छ । हाम्रा नेता वा पार्टी सभापतिले पार्टीको सिद्धान्त र आदर्शलाई पर्वाह नगरी केवल व्यक्तिगत उग्र–राजनीतिक महत्वकाङ्क्षा र सत्ता केन्द्रित राजनीतिक चरित्र र प्रवृत्तिको  कारणबाट पनि पार्टीले आफ्नो सिद्धान्त र आदर्शबाट विचलित हुनुपरेको यथार्थ हाम्रासामु छर्लङ्ग छ ।

–कृष्णप्रसाद सिटौला
काँग्रेसको घोषित सिद्धान्त र व्यवहारमा ठूलो अन्तर छ । नेपाली काँग्रेसको हार नेतृत्वको रणनीतिक असफलता हो । गुटका कारण दललाई कब्जा गर्न सक्नु होला तर वामपन्थीबाट मुलुकलाई फुत्काउन सक्नुहुन्न । वर्तमानमा नेपाली काँग्रेस नेतृत्वविहीन भएको छ ।

शेखर कोइराला
पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको समयमा पनि गुट थिए । उहाँले गुटको भए पनि नेपाली काँग्रेसको व्यक्तिलाई अवसर दिने गर्नुहुन्थ्यो । तर, तपार्इंले काँग्रेस नभएकालाई पनि अवसर दिनुभयो ।
डा. रामशरण महत
टिकट वितरणमा भएको अनियमितताको छानविन हुनुपर्छ । दलको सञ्चालनका कार्यशैली पारदर्शी भएन । अलोकप्रिय निर्णयहरू देउवा सरकारमा छँदा भएका थिए । अलोकप्रिय निर्णय तथा हारको नैतिक जिम्मेवारी नेतृत्वले लिनुपर्छ ।

डा. मिनेन्द्र रिजाल
दुई वर्षअघि गठन गर्नुपर्ने विभागहरू गठन भएका छैनन् । महाधिवेशनलगत्तै पूर्ति हुनुपर्ने पदाधिकारीलाई अब गठन गर्नु विधानसम्मत हुँदैन । माओवादी केन्द्रलाई सँगै राख्न सकेको भए नेपाली काँग्रेस पहिलो दल बन्ने थियो । काँग्रेसका लागि आएका अवसर नेतृत्वले गुमाएकाले नेतृत्वले नै जिम्मेवार लिनुपर्छ ।
 
 
– नारायण खड्का
गुटको सुरुवात सभापतिबाट भएको छ । गुट उपगुटका कारण दल पराजित भएको हो । गुटको अन्त्य पार्टी सभापतिबाट सुरु हुनुपर्छ ।
 
–नविन्द्रराज जोशी
सभापतिले विधानविपरीत गठन गरेका कार्यसम्पादन र संसदीय समिति तत्काल भङ्ग हुनुपर्छ । अर्को पार्टीका नेताहरूसँग मिल्न सक्ने सभापतिले आफ्नो दलको दुर्गतिलाई भने व्यवस्थनपन गर्न  सक्नुभएन । दलमा रहेको बेमेल नै पराजित हुनुका कारण हो । पराजयको जिम्मेवारी पनि सभापतिले लिनुपर्छ । 

–दिलेन्द्र वडु
सभापतिको पहल कदमीमा बनाएको लोकतान्त्रिक मोर्चा प्रभावहीन भयो । मोर्चा प्रभावहीन भएको जिम्मेवारी सभापतिको थाप्लोमा बढी पर्छ ।

–कल्याण गुरुङ
विधान विपरीतका कार्यहरू भए । टिकटका लागि सिफारिस नभएकालाई टिकट वितरण गरियो । समानुपातिकमा सांसद भइसकेका नेतालाई पुनः उम्मेदवार बनाइयो । नेतृत्वबाट एकपछि अर्को गल्ती हुँदै आएको छ ।

–नरहरि आचार्य
बदलिँदो समयमा पुरानो ढर्राले पार्टी चल्दैन । पार्टी विधानले समय निर्धारण गरेर गर्ने भनिएका कामहरू पूरा भएका छैनन् ।

गुरुराज घिमिरे
सभापतिले पार्टी कार्यालयमा आएर काँग्रेस सञ्चालन भएको छैन । नेतृत्वमा दलको पुनर्ताजगीका लागि आत्मबोध भएकै छैन । सभापतिले विधानलाई आफूखुसी प्रयोग  गर्नुभएको छ ।

गोविन्द भट्टराई
देउवाको समयमा पहाड, तराई हिमाल सबै क्षेत्रमा नेपाली काँग्रेस पत्तासाफ भएको छ । निर्वाचन प्रणाली मिश्रित अवलम्बन गरिसकेपछि कुनै दलको पनि बहुमत नआउने निश्चित थियो । बहुमत कसैको नआउने भएपछि माओवादी केन्द्रलाई सहकार्यमा लिन सक्नुपथ्र्यो । स्थानीयमा कार्यगत एकता गर्नसक्ने सभापतिले अन्य निर्वाचनका लागि किन गर्न सक्नुभएन ?

धनराज गुरुङ
निर्वाचनको समयमा टिकट बिक्री भागवण्डा भएको सुनिएकै हो । तर टिकटलाई लिलामीमा पनि राखिएको रहेछ । टिकट वितरणमा भएको अनिमियतताको नेतृत्वले जिम्मेवारी लिनुपर्छ । माओवादी केन्द्रलाई डोलीमा बोकेर हिँडिरहेको काँग्रेसले बीच बाटोमै काँग्रेसलाई छोडिदिँदा किन नेतृत्वले भेउ पाएन ?

बद्रि पाण्डे
काँग्रेस नेतृत्वले सरकारमा हुँदा अलोकप्रिय निर्णय गरेको थियो । राम्रा कामको जस लिन सकेन भने नाकाबन्दीलाई नाकाबन्दी भन्न पनि सकेन ।

काँग्रेस केन्द्रीय समितिको जारी वैठकमा बोल्ने अधिकांश सदस्यहरूले नेतृत्वको आलोचनामा समय खर्चेका छन् । देउवाको बचाउमा केही सदस्यहरूले आफ्ना धारणा राखेका छन् । देउवाको पक्षमा नेता रमेश लेखक, डिला सङ्ग्रौला र लक्ष्मी परियारले बोलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप