मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
पेमेन्ट गेटवे प्रकरण

अर्थ मन्त्रालयका कम्प्युटर अधिकृतको बयान : तत्कालीन सहसचिव मरासिनीले एलएमबीआईएसमा बजेट प्रविष्ट गर्न लगाए

सोमबार, १५ असोज २०८०, १५ : ४७
सोमबार, १५ असोज २०८०

 काठमाडौँ । नेसनल पेमेन्ट गेटवे प्रकरणमा राज्यलाई २५ करोड रुपैयाँ हानी नोक्सानी पुर्‍याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीलगायत ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मरासिनीले अर्थ मन्त्रालयको बजेट महाशाखाको प्रमुख हुँदा बजेट सूचना प्रणाली (एलएमबीआईएस) मा बजेट प्रविष्ट गर्न लगाएको पाइएको छ । 

आयोगले अर्थ मन्त्रालयका तत्कालीन कम्प्युटर अधिकृत ठेकु श्रेष्ठसँग बयान लिएको थियो । बयानमा क्रममा श्रेष्ठले मरासिनी बजेट महाशाखाको प्रमुख हुँदा मरासिनीले नै एलएमबीआईएसमा २५ करोड रुपैँया ईन्ट्री गर्न लगाएको खुलाएका छन् ।

 

बयानमा के भने श्रेष्ठले ?

बजेट तथा कार्यक्रम महाशाखाको मुख्य जिम्मेवारी बजेट निर्माणको क्रममा हुने सम्बन्धित मन्त्रालय, राष्ट्रिय योजना आयोग, निकाय विभाग, कार्यालय लगायतसँग छलफल, सहकार्य, समन्वय गरी गराई एलएमबीआईएसमा बजेट प्रविष्ट लगायतको बजेट निर्माणको अन्तिम रूप दिई व्यय अनुमानको विवरण (रातो किताब) प्रकाशन गर्ने हो । तत्कालीन बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सहसचिव मधु कुमार मरासिनीले राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई एनपिजी खरिद प्रयोजनको लागि रु.२५ करोड एलएमबीआईएसमा प्रविष्ट गर्नु भनी निर्देशन/आदेश दिए पश्चात् सोही बमोजिम मैले प्रविष्ट गरेको हो। एलएमबीआईएसमा प्रविष्ट गरिसके पश्चात अर्थ मन्त्रालयको सचिव/मन्त्रीले प्रमाणीकरण लगायतको काम गर्ने व्यवस्था एलएमबीआईएसमा रहेको देखिँदैन । मलाई उक्त रकम एलएमबीआईएसमा प्रविष्ट गर्दा तत्कालीन सहसचिव मधु कुमार मरासिनी आफै आई बजेट प्रविष्ट गर्न लगाएको हो । एलएमबीआईएसमा उक्त बजेट प्रविष्ट गर्नु पूर्व आवश्यक पर्ने कागज प्रमाणहरु छ, छैन हेर्ने, रुजु गर्ने लगायतको कार्य समेतको जिम्मेवारी महाशाखा प्रमुखको नै हुने गर्दछ । म प्राविधिक कर्मचारी भएको र एलएमविआइएसको स्थापनादेखि नै कार्य गरेको हुँदा सो को सञ्चालन सम्बन्धमा प्रक्रियागत पाँच चरणहरु निम्न छन् ।

१. सम्बन्धित कार्यालयले सिलिङ भित्र बसेर माग गरेको विस्तृत बजेट एलएमबीआईएस मा प्रविष्ट गरी सम्बन्धित विभागमा पठाउने,

२. विभागले मातहतका कार्यालयहरुको बजेट पुनरावलोकन गरी सम्बन्धित मन्त्रालयमा पठाउने ।

३. मन्त्रालयको योजना महाशाखाले आफ्ना मातहतको विभाग/कार्यालय/केन्द्र/निकायको बजेट

पुनरावलोकन गरी सो मन्त्रालयका सचिवकोमा पठाउने,

४. सम्बन्धित मन्त्रालयको सचिवले आफ्नो मन्त्रालयका निकाय/कार्यालय/केन्द्रको बजेट एलएमबीआईएसमा प्रविष्ट गरी अर्थ मन्त्रालयमा पठाउने ।

५. प्रत्येक मन्त्रालय/निकायको बजेट अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा (८ वटा सेक्टर) ले सरोकारवालालाई राखी विस्तृत रूपमा छलफल गरी बजेटको अन्तिम रूप दिई व्यय अनुमान विवरण रातो किताबमा प्रकाशन गर्ने ।

एनपिजी खरिद गर्न एनआईटीसीलाई बजेट दिने गरी एलएमबीआईएसमा प्रविष्ट गर्ने कार्य गर्दा माथि उल्लिखित १ देखि ४ सम्मका चरणका कुनै कार्य नै नगरी ५ औं चरणको कार्य हुँदा समेत सम्बन्धित मन्त्रालय हेर्ने सेक्टरका उपसचिव डमरु प्रसाद पराजुली र शाखा अधिकृत सुमित गुप्ताकोमा समेत प्रवेश नगरी बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुखको निर्देशन/नियन्त्रणमा उक्त बजेट एलएमबीआईएसमा प्रविष्ट भएको देखिन्छ । बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुखले आफ्नो एलएमबीआईएस युजर आईडी र पासवर्ड प्रयोग गरी कुनै पनि डाटा एलएमबीआईएसमा प्रविष्ट गर्नु हुन्नथ्यो । निज मधु कुमार मरासिनीले मलाई नै सबै डाटा मेरो एलएमबीआईएस युजर आईडी प्रविष्ट लगाउनु हुन्थ्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप