शनिबार, १२ जेठ २०८१
ताजा लोकप्रिय

पौराणिक कथा :  नियम

मङ्गलबार, १६ असोज २०८०, १० : ३६
मङ्गलबार, १६ असोज २०८०

नियम पालन गर्नका लागि हुन्छन् । पालन गरे उसले पनि पालन गर्छ लत्याए लत्याउँछ । यही नै सनातन नियम हो । संसार नियममा अडेको छ, नियमले चलेको छ । नियमको पालन भएसम्म चल्छ, चलिरहन्छ लत्याउन थाले भत्किन्छ । उदाहरणका लागि प्रकृतिलाई नै लिन सकिन्छ । सबैलाई थाहा छ प्रकृतिले नियम तोड्दैन । त्यसैले उसको अस्तित्वलाई टिकाएको छ, बचाएको छ ।  

महाभारतमा एउटा कथा छ । एकपटक पाण्डवहरूको दरवारमा एकजना कृषकले रुँदै आएर भने–

‘आज राती चोरले मेरा गाईहरू चोरेर लगेछन् । जिउने आधार जुन थिए तिनकै चोरी भएपछि कसरी बाँच्ने । त्यसैले जसरी भए पनि गाई फिर्ता ल्याइदिन आग्रह गर्छु । अन्यथा मेरो जीवन त चौपट हुन्छ नै स्वयं महाराजको समेत बदनामी हुनेछ ।’  

त्यतिबेला जनगुनासो सुन्ने जिम्मा अर्जुनको थियो । कृषकको गुनासो सुनिसकेपछि उनले सम्झाउँदै भने–

‘चिन्ताको कुरा छैन बन्धु ! महाराज हुनृुहुन्छ, म छु, हामी छौँ । हामी भएसम्म कसैले अन्याय गर्न होइन सोच्नसम्म सक्दैन । तपाईँको समस्या अब तपाईँको मात्र रहेन । अपितु राज्यकै हो । निश्चिन्त हुनुस् गाई फिर्ता हुने छन् ।’

यति भनेर उनले कृषलाई आश्वस्थ त पारे तर उनी आफैँ भने धर्मसङ्कटमा परे । किनकि उनको हतियार त्यस्तो गोप्य कोठामा थियो, जहाँ यतिबेला महाराज युधिष्ठिर महारानी द्रौपदी एकान्तवासमा थिए । यस्तोमा उनी त्यहाँ जान सक्दैनथे । किनभने उनीहरूले नियम नै यस्तो बनाएका थिए कि द्रौपदीको साथमा एक भाइ बसेका बेला त्यस स्थानमा अर्को भाइले प्रवेश गर्न नपाउने र कदाचित गएमा उसले १२ वर्षसम्म वनमा बसेर प्रायश्चित्त गर्नुपर्ने ।  

अब के गर्ने ? गाई त जसरी भए पनि फिर्ता ल्याउनै पर्ने थियो । अन्यथा राजा र राज्यधर्ममाथि नै कलङ्क लाग्ने थियो । त्यसैले उनी नियम भङ्ग गरेको दोषको त उपचार छ, प्रायश्चित्त गर्न सकिन्छ तर जनधनको सुरक्षा गर्न नसकेको दोषको त उपचारै छैन भन्ने ठानी तत्कालै गोप्य कोठामा प्रवेश गरे ।  

अचानक खोपीमा अर्जुनलाई देखेर पहिले त युधिष्ठिरले अफ्ठ्यारो माने । जब अर्जुनबाट यथार्थ कुरा थाहा पाए त्यसपछि भने खुसी हुँदै हतियार दिएर पठाए । 

हतियार लिएर अर्जुन चोरको खोजीमा लागे । चोर खासै टाडा पुगेको रहेन छ । जब उनले चोरलाई ललकारे तब चोरहरू डरले गाईहरू छाडेर सुइँकुच्चा ठोके । त्यसपछि अर्जुनले गाईलाई कृषकको जिम्मा लगाएर प्रायश्चित्तका लागि वनतिर लाग्ने कुरा गर्न लागे । भाइको कुरा  सुनेपछि युधिष्ठिरले सम्झाउँदै भने–

‘बाबु अर्जुन ! यस्तो विचार त्यागिदेऊ । तिमीले त्यत्तिकै नियम तोडेका होइनौ । त्यसमा पनि खास भएकै के छ र । न मैले नराम्रो मानेको छु न मेरो अपमान नै भएको छ । बरू सहयोग नै पुगेको छ । तिमीले त्यस्तो नगरेका भए कृषकको विचल्ली मात्र हुने थिएन ममाथि जनधनको सुरक्षा गर्न नसकेको आरोप पनि लाग्ने थियो । तिम्रै कारणले यस्तो हुन पाएन । यसप्रति आभारी छु ।

जहाँसम्म नियम भङ्गको कुरा छ त्यो पनि ठूलो कुरा होइन । बाबुआमा वा दाजुभाउजू बसेका कोठामा छोराछोरी वा भाइबहिनीले जान हुन्छ । यस्तो प्रवेशलाई अस्वाभाविक मानिन्न तर छोराबुहारी वा भाइबुहारी बसेको कोठामा बाबुआमा वा दाजुभाउजूले जान हुँदैन । यसलाई भने दोष मानिएको छ । त्यसैले आशा छ यस्तो विचार मनबाटै त्यागिदिने छौ ।’ 

दाजु युधिष्ठिरको कुरा धर्मसङ्गत थियो तर अर्जुनले स्वीकार्न सकेनन् र विनम्रतापूर्वक भने–

‘होइन दाजु ! त्यस्तो कुुरा नगर्नुस् । जे भने पनि नियम भनेको नियम नै हो । आज एउटा निहुँमा नियम तोडिएला । भोलि अर्को निहुँमा तोडिएला । यसरी कहाँ चल्छ र ?  यस्तो अवस्था आजमात्र आउँछ भन्ने छैन । भोलि वा पर्सि पनि आउन सक्छ । त्यतिबेला के हुन्छ । पहिले पनि यस्तै भएको थियो भनेर तोड्नुपर्ने अवस्था आउँछ वा तोडिन्छ । यसरी हरेक निहुँमा नियम तोड्दै जाने हो भने नियम बनाउनुकै के अर्थ रह्यो र ? नियम कसैले पनि तोड्नु हुँदैन । त्यसमा पनि नियम बनाउने त झनै  हुँदैन ।’

अर्जुनको कुरा युष्ठिरलाई पनि ठीकै लाग्यो र तिम्रो कल्याण होस् भन्दै विदा गरे । उनले चाहेका भए राजाज्ञा जारी गरेर भए पनि रोक्न सक्थे तर त्यसो गर्न उनलाई पनि उपयुक्त लागेन ।  

त्यसपछि अर्जुन वनमा गएर १२ वर्षसम्म कठोर साधना गरी फर्के । फलत उनको यही साधनाले नै महाभारतको युद्धमा विजय पाउन सफल भएका थिए ।  

यस कथामा केकति सत्यता छ त्यो त व्यासजी नै जानून् तर जीवनमा नियमको ठूलो महत्व रहेको कुरा भने सत्य हो । नियम राख्नुभन्दा पहिले पटकपटक सोच्नुपर्छ तर नियम बसाइसकेपछि पूरा गर्नेतर्फ ध्यान दिनुपर्छ भन्ने कुरा भने सत्य हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप