शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सुशासनको प्रत्याभूति दिलाउन सके मात्र जनतामाथि न्याय हुन्छः अध्यक्ष नेपाल

शुक्रबार, १९ असोज २०८०, १४ : २०
शुक्रबार, १९ असोज २०८०

हेटौँडा । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नागरिकहरूका समस्यामा समाधानमा पहल गर्न मेचीदेखि महाकाली समाजवादी अभियान संचालन गरेको बताएका छन् । शुक्रवार हेटौँडामा समाजवादी अभियान अन्तर्गत जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नागरिकहरूमा परेका समस्याहरूलाई सडकसँगै संसद् र सरकारबाट समाधानको पहलका लागि अभियान सञ्चालन गरिएको बताए ।

एकीकृत समाजवादी मुलुकमा समाजवाद स्थापनाको लागि प्रतिबद्ध रहेको र त्यसका लागि नागरिकहरूलाई समाजवादबारे जानकारी गराउन अभियान अन्तर्गत मेची महाकाली यात्रा तय गरेको उनले बताए । नागरिकहरू माझ आफ्ना नीति तथा एजेन्डा स्थापित गर्दै सहकार्यका लागि अभियानमा जुटेको उनको भनाइ छ । नागरिकहरूको समस्या समाधान गरेर राज्यमा सुशासन कायम गर्न सके मात्र उनीहहरुमाथि न्याय हुने नेपालले बताए ।

‘नागरिकहरूको समस्यालाई सम्बोधन गरेर अघि बढ्नुपर्छ । त्यसैका लागि पार्टीले मेची महाकाली समाजवादी जागरण अभियान सुरु गरेको हो । जनताका माझमा पार्टीका नीति र मुद्दा स्थापित गर्दै उनीहरूलाई आकर्षित गर्नुपर्छ ,’ उनले भने, ‘राज्यले सुशासनको प्रत्याभूति दिलाउन सके मात्र जनता माथि न्याय हुन सक्छ । जनताका न्यायका लागि अभियान मार्फत पार्टी र सरकारबाट पहल भइरहेको छ । नागरिकहरुसँगको सहकार्यमा मात्र मुलुक समृद्ध हुन सक्छ ।’

उनका अनुसार एकीकृत समाजवादीले कृषि क्षेत्रको विकास र विस्तारबाट अर्थतन्त्र मजवुद हुने नीति अवलम्बन गरेको छ । अभियान अन्तर्गत पार्टीले कृषि, शिक्षा, स्वास्थ्य पूर्वाधार तथा आर्थिक समृद्धिका विषयहरू नागरिक माझमा पु¥याएको अध्यक्ष नेपालले बताए । कृषि तथा पर्यटन क्षेत्रको विकासबाट नागरिकह्रुलाई समृद्धिमा जोड्ने प्रयत्न भइरहेको उनले बताए ।

‘एकीकृत समाजवादीले आर्थिक समृद्धिको मूल आधार कृषिलाई लिएको छ । सोही अनुसार कृषि क्षेत्र र किसानहरूको समस्या समाधानमा पार्टीले पहल गरिरहेको छ । कृषि क्षेत्रको विकास र विस्तारबाट मात्र मुलुकको अर्थतन्त्र सुधार हुन सक्छ । उत्पादन र उत्पादकत्व वृद्धि गर्दै आत्मनिर्भर कृषि पेशा निर्माणमा जोड दिएका छौं । यसबाट आयातलाई निरुत्साहित गर्ने र निर्यात व्यापारलाई बढाउन सक्ने देखिन्छ । कृषि र पर्यटनमा नागरिकहरूको प्रत्यक्ष संलग्नताबाट समृद्धिमा पुग्ने प्रयत्न भएको छ,’ उनले भने ।

सरकारले गरेका कामहरू बारे जानकारी गराउन र पार्टीलाई आम नागरिकहरूसँग जोड्न उनले कार्यकर्ताहरूलाई निर्देशन दिए । उनले पार्टी सङ्गठन निर्माण तथा बिस्तारसँग भ्रष्टाचार विरुद्धका अभियानमा जोडिन कार्यकर्ताहरूलाई आग्रह गरे ।

त्यस्तै कार्यक्रममा उपाध्यक्ष एम् बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डेले समाजवादी जागरण अभियानलाई वडा वडा तहमा पु¥याउनु पर्ने बताए । उनले अभियानलाई सहर केन्द्रित मात्र नभई गाउँ गाउँमा पु¥याएर अघि बढाउनुपर्ने बताए ।

विद्रोहबाट जन्मिएको एकीकृत समाजवादी पार्टीले आफ्नो औचित्य पुष्टिका लागि आम नागरिकसँग जोडिएर काम गर्नुपर्ने बताए । नागरिकहरूको समस्या समाधान, भ्रष्टाचार नियन्त्रण र विकास निर्माणका काममा जोडिएर समृद्ध देश निर्माण गर्दै समाजवादी यात्रामा अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप