शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

निमा एकेडेमीद्वारा अन्तर्राष्ट्रिय रोबोटिक्स, कोडिङ र एआई प्रतियोगिता आयोजना

शनिबार, २० असोज २०८०, २१ : ५६
शनिबार, २० असोज २०८०

काठमाडौँ । निमा एकेडेमीले कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूका बिचमा रचनात्मकता, नवीनता र उद्यमशीलताको सिपलाई अभिवृद्धि गर्ने महत्त्वपूर्ण कदमअन्तर्गत एक महत्त्वपूर्ण कार्यक्रमको आयोजना गरेको छ ।

‘कोडेभर ५‍‌.० रिजनल’ नाम दिइएको कार्यक्रमका लागि यही असोज १९ देखि नाम दर्ता खुला गरिएको छ ।  यस प्रकारको टेक इभेन्ट रोबोटिक्स, कोडिङ र एआई च्याम्पियनसिप नेपालमा पहिलो पटक भएको कम्पनीको भनाइ छ । 
यो च्याम्पियनसिप स्टेम्पपेडियालगायतद्वारा आयोजित संयुक्त राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यसँग आवद्ध वार्षिक कार्यक्रम भएको कम्पनीको भनाइ छ । 

दिगो भविष्यतर्फ युवा विद्यार्थीहरूको क्षमताको उपयोगमा स्टेम्पपेडियाको विश्वव्यापी प्रभावलाई मान्यता दिँदै निमा एकेडेमीले यस क्षेत्रीय च्याम्पियनसिपको आयोजना गर्न साझेदारी गरेको हो । जसले समुदायमा व्यापक रूपमा एक लहर सिर्जना गरेको बताइएको छ । यसका साथै निमा एकेडेमीले स्किलसअप ग्लोबलसँग तालिम साझेदारको रूपमा समेत सहकार्य गर्ने छ ।

कार्यक्रमको अवसरमा निमा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत निश्चल प्रधानले यो कार्यक्रम नेपालमा रोबोटिक्स, कोडिङ र आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा विद्यार्थीको उत्कृष्टता र पहिचानलाई अभिवृद्धि गर्ने एक ऐतिहासिक कोसेढुङ्गा हुने बताए 

उनले भने, ‘यो नेपालमै पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय रोबोटिक्स, कोडिङ र एआई प्रतियोगिता एक ऐतिहासिक कोसेढुङ्गा हुने छ । यसले विद्यार्थीहरूलाई उनीहरूको एआईसम्बन्धी विशेषज्ञता विश्वव्यापी स्तरमा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने छ । यस अनुभवले विद्यार्थीहरूमा क्षमता पहिचानका अतिरिक्त भविष्यका लागि उनीहरूको सिप अभिवृद्धि गर्न मद्दत गर्ने छ ।’

यो कार्यक्रममा देशभरका १०० विद्यालयका करिब २००० विद्यार्थीहरू सहभागी हुने अपेक्षा गरिएको छ । प्रधानका अनुसार अक्टोबर ६ ९असोज १९० देखि नोभेम्बर ३०, २०२३ सम्म सहभागीहरूको आवेदन फाराम खुला रहने छ ।

राष्ट्रिय रूपमा चयन गरिएका कुल सहभागीहरुमध्ये ५० जना सहभागीहरूले निमा एकेडेमीमार्फत उद्योग विशेषज्ञहरूद्वारा परामर्श तथा मार्गदर्शन प्राप्त गर्ने छन् । उनीहरूलाई जनवरी र फेब्रुअरी २०२३ को बिचमा आयोजना हुने तय गरिएको क्षेत्रीय प्रतिस्पर्धा समारोहमा सम्मानित गरिने छ । कुल ५० टिमहरूमध्ये शीर्ष १० टिमहरूलाई २०२४ अप्रिलमा दुबईमा हुने ग्रान्ड फिनाले समारोहको लागि छनोट गरिने छ ।

शीर्ष १०० अन्तर्राष्ट्रिय सहभागीहरूलाई अमेरिकी डलर २५,००० बराबरको रकम वितरण गरिने छ ।  निमा एकेडेमी शिक्षा क्षेत्रमा ३० वर्षभन्दा बढी अनुभव भएका शिक्षाविद्द्वारा सन् २०१८ मा स्थापित एक एडटेक कम्पनी हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप