आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

४५ प्रतिशतको कमिसनको विरोधमा आन्दोलन जारी, तीन जना घाइते

मङ्गलबार, २३ असोज २०८०, १८ : ००
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले गर्दै आएको आन्दोलनका क्रममा प्रहरी हस्तक्षेप हुँदा तीन जना घाइते भएका छन् । मंगलबार गरिएको भन्सार विभाग घेराउका क्रममा प्रहरीसँग सामान्य झडप हुँदा तीन जना आजपाका कार्यकर्ताहरु सन्तोष यादव, कनक सिंह र रञ्जु साह घाइते भएका हुन् । घाइतेमध्ये सन्तोषको औँला भाँचिएको छ भने रञ्जुको टाउकोमा चोट लागेको अध्यक्ष साहले जानकारी दिए ।  यस्तै रञ्जु धरपकडका क्रममा लड्ने बेहोस बनेको उनको भनाइ छ । घाइतेमध्ये सन्तोष अस्पताल भर्ना भएका छन् । 

तीन दिनयता आजपाले भन्सार नियमावलीमा रहेको गलत प्रावधान खारेजीको माग गर्दै आन्दोलन गरिरहेको छ । 

सरकारी वेतनभोगी कर्मचारीमार्फत राजस्वमा हुने ४५ प्रतिशतको कमिसन व्यवस्था गलत भएकाले खारेज हुनुपर्ने साहको धारणा छ ।  

यसैबीच साहले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रहरी हस्तक्षेपको विरोध गरेका छन् । उनले छिट्टै दोस्रो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरिने पनि बताए ।  ‘संघर्षको क्रममा हाम्रा नेता–कार्यकर्ता तथा न्यायप्रेमी जनतामाथि प्रहरी प्रशासनबाट धरपकड र बल प्रयोग भएकोमा खेद प्रकट गर्दै संघर्षका कार्यक्रममा सहभागिता जनाउनुहुने सबैप्रति हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छौँ । हामीले उठाएका माग र मुद्दा आम जनताको सरोकारको विषय भएकोले यसको सुनुवाइको विकल्प छैन । यसर्थ, हामीले अब दोस्रो चरणका संघर्षका कार्यक्रमहरू छिट्टै सार्वजनिक गर्नेछौँ’, साहको विज्ञप्तिमा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप