आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

सातै प्रदेशमा एमालेका कमाण्डर चयन : ‘गुटगत’ प्रवृत्तिलाई चुनौती कि प्रश्रय ?

शुक्रबार, २६ असोज २०८०, २० : ०१
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । ‘कहीँ पनि सहमति हुन सकेन भनेर स्याल हुइँया मच्चाइएको छ । हामीले पनि सहमति गर्न धेरै प्रयास गरेनौँ, लड्छन् भने लड्न दिउँ न साथीहरू भनेर । तर त्यसको धेरै दुरुपयोग भयो कतिपय प्रदेशमा,’ एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिलाजस्तै असोज २१ गते सुदूरपश्चिम अधिवेशनलाई सम्बोधन गर्दै दिएको यो अभिव्यक्ति आफ्नो निर्देशन विपरीत विभिन्न प्रदेशमा भएको चुनावी प्रतिस्पर्धातर्फ लक्षित थियो । 

‘हाम्रो पार्टीविरुद्ध ठूलो हमला छ, त्यसलाई चिर्न सिङ्गो पार्टीपंक्ति गोलबन्द भएर जानुपर्छ’, चुनावी प्रतिस्पर्धा हुँदा एक पक्ष हार्ने र थप चिढिन पुग्दा त्यो समूह गुटमा विकसित हुँदै पार्टीमा गुटबन्दी मौलाउने संकेतका रुपमा ओलीले यस्तो व्याख्या गरेका थिए । किनभने अधिवेशनमा प्यानल बनाए उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिएका अध्यक्ष ओलीको निर्देशन विपरीत कतिपय प्रदेशमा प्यानल नै बनाएर नेताहरु निर्वाचनमा होमिएका थिए । यति हुँदाहुँदै पनि ओलीको निर्देशन मुताविक सुदूरपश्चिम र मधेसमा सर्वसम्मतिमै नेतृत्व चयन भए पनि अन्य प्रदेशका हकमा ओलीको चाहना र आकांक्षाले काम गरेन । अब प्रश्न उठ्छ, एमाले अधिवेशनका क्रममा भएको चुनावी प्रतिस्पर्धाले एमालेमा गुटगत प्रवृत्तिलाई चुनौती दिइएको हो वा थप मौलाउन प्रश्रय ?

यसमा एमाले नेताहरुका आआफ्नै व्याख्या र विश्लेषण हुने गरेका छन् । भदौमा सुरु गरेर असोज महिनामा एमालेले सातै प्रदेशमा प्रथम अधिवेशन सम्पन्न गरेर ‘प्रदेश कमाण्डर’ छानिसकेको छ । कतै मतदान त कतै सहमतिमार्फत प्रदेशहरुको नेतृत्व छनोट गरेको एमालेले बहुमत प्रदेशमा मूल नेतृत्वको चाहनाविपरीत निर्वाचनमार्फत आगामी ५ वर्षका लागि प्रदेश हाँक्ने कमाण्डरसहितको प्रदेश कमिटी छानेको हो ।

लुम्बिनीबाट पहिलो प्रदेश अधिवेशन थालेको यो पार्टीले नेतृत्वको चाहानाविपरीत सोही प्रदेशमा चुनावी प्रतिस्पर्धा सुरु गरेर बागमती, कर्णाली, गण्डकी र कोशी प्रदेशमा पनि चुनावी प्रतिस्पर्धामार्फत नै नयाँ कमिटी गठन गर्न नेता कार्यकर्ता आतुर देखिए ।

सातमध्ये सुदूरपश्चिम र मधेसमा मात्र मूल नेतृत्वको जोडबलमा सहमतिका आधारमा नेतृत्व चयन गरेको एमालेले नेतृत्वको चाहना नै सबैथोक होइन भन्ने सन्देशसमेत दिन सफल भएको छ । यसका साथै अधिवेशनमा देखिएका गतिविधि, प्रयास र प्राप्त परिणामलाई हेर्दा एमालेको आन्तरिक राजनीतिमा नयाँ ध्रुवीकरण र गुटगत गतिविधि बढ्ने संकेत देखिएको छ । यसको उदाहरणका रुपमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आएको परिणाम र नेतृत्वलाई लिन सकिने एमाले नेता कार्यकर्ताहरुको भनाइ छ ।

सुदूरपश्चिममा पनि एमाले अध्यक्ष केपी शर्माका आलोचक कर्ण थापा हावी भएका छन् भने लुम्बिनीमा विष्णु पौडेल र गण्डकीमा पृथ्वी सुब्बा गुरुङ हावी भएको निर्वाचन परिणामले देखाइसकेको छ । प्रदेश अधिवेशनमा अध्यक्ष ओलीलाई चुनौती दिँदै एमालेभित्र भएको चुनावी प्रतिस्पर्धालाई कतिपय एमाले नेता कार्यकर्ताले ओलीविरुद्धको ‘विद्रोह’ त कतिले ‘लोकतान्त्रिक प्रक्रिया’का रुपमा अर्थ्याएका छन् ।

उपमहासचिव पृथ्वी सुब्बा गुरुङ प्रतिस्पर्धामार्फत प्रदेशहरुमा भएको नेतृत्व चयन लोकतान्त्रिक अभ्यासका रुपमा बुझ्नुपर्ने बताउँछन् । ‘मूल नेतृत्वले सहमति भने पनि आम कार्यकर्ता प्रतिस्पर्धाबाटै नेतृत्व चयन गर्नुपर्छ भन्ने पक्षमा रहेको देखियो । यो नराम्रो हुँदै होइन’, गुरुङले भने, ‘कार्यकर्ताको चाहाना विपरीत सहमतिका नाममा अनावश्यक दबाब दिन राम्रो होइन ।’

पोलिटब्युरो सदस्य कर्णबहादुर थापा पार्टी निर्माणलाई मुख्य आधार बनाएर प्रदेशहरुमा नेतृत्व चयन भएको दाबी गर्छन् । ‘कसैको हारजित वा नयाँ समीकरण बनाउने भन्ने भाष्य निर्माण गर्न खोज्नु गलत छ । एमाले प्रदेश अधिवेशनले गुटगत मानसिकताबाट सबै टाढा रहनुपर्छ भन्ने मूख्यगरी सुदूरपश्चिमले सन्देश दिन सक्यो’, थापाको भनाइ छ ।

उनले पार्टीको मूल नेतृत्वले सहमति र प्रतिस्पर्धालाई जोड दिएको भन्दै सहमति लोकतन्त्रको उन्नत अभ्यासमै पर्ने बताए । ‘कहीँ पनि नेताहरुले बोल्दा नेतृत्व चयनमा तपाईंहरु सकेसम्म सर्वसम्मत गर्नुस्, त्यसो भएन भने लोकतान्त्रिक अभ्यास गर्नुस् भनेको हो’, थापाले भने, ‘लोकतान्त्रिक अभ्यास गर्ने मूल नेता नै केपी शर्मा ओली हो ।’

मधेसमा चन्देश्वर सर्वसम्मत

एमाले मधेस प्रदेश अधिवेशनले पाँच पदाधिकारी सर्वसम्मत चयन गरेको छ । प्रदेश अध्यक्षमा चन्देश्वर मण्डल, उपाध्यक्षमा विचारी यादव (पर्सा), सचिवमा मनोज पौडेल (बारा), सह–सचिवमा आरती भण्डारी (रौतहट) र मोहम्मद कैस (धनुषा) सर्वसम्मत चयन भएका हुन् ।

असोज २३ गते सुरु भएको एमाले मधेस प्रदेश अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न शीर्ष नेताहरु नै सक्रिय भएका थिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, अर्का सचिव रघुवीर महासेठ, प्रदेशस्तरीय नेता सरोज यादवलगायतको कसरतमा मधेसमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

जैशीको कमाण्डमा सुदूरपश्चिम

एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष अछामका कृष्ण जैशी चयन भएका छन् । यो प्रदेशमा पाँच दिन लगाएर सम्पन्न एमाले प्रदेश अधिवेशनमार्फत अध्यक्षमा जैशीसहित पाँच पदाधिकारी सर्वसम्मत चयन भएका हुन् ।

अध्यक्ष ओली निकट जैशीलाई अध्यक्षमा सर्वसम्मत बनाउन नेता कर्ण थापाले निकै मेहनत गर्नुपरेको थियो । एमाले सुदूरपश्चिमका अन्य पदाधिकारीमध्ये उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द सर्वसम्मत चयन भएका छन् ।  उपसचिवमा कञ्चनपुरका नरबहादुर विक र कैलालीकी भागरथी विष्ट चयन भएका हुन् । यो प्रदेशमा अध्यक्ष केपी ओलीले कमल तिमिल्सिनालाई अघि सारे पनि अन्ततः थापा समूहकै जैशी अध्यक्ष बन्न सफल भएका हुन् । भीम रावल पक्षधरलाई जसरी पनि आउट गर्ने ओली पक्षको चाहना समेत यो प्रदेशमा पूरा हुन पाएन । जबकि रावल पक्षधर भनेर चिनिएका दुई उपसचिव विक र विष्ट पदाधिकारीमा चयन भएका छन् ।

ओलीको गृह प्रदेशमा घनश्याम कमाण्डर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेश समेत रहेको कोशी प्रदेशको नेतृत्व घनश्याम खतिवडाले पाएका छन् ।

यो प्रदेशमा भएको निर्वाचनमा खतिवडाले अर्का नेता विनोद ढकाललाई पराजित गर्दै प्रदेशको नेतृत्व गर्न पुगेका हुन् । कोशी एमालेमा नयाँ नेतृत्वका लागि असोज तेस्रो साता भएको मतदानमा खतिवडाले ५१२ मत पाएर अध्यक्षमा निर्वाचित हुँदा ढकालले ४३० मत पाएका थिए । त्यसैगरी उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित भएका थिए भने सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई निर्वाचित भएर पदाधिकारीसहित २१५ सदस्यीय कमिटी गठन भएको छ । कोशीमा ढकाल र खतिवडाबिच कडा प्रतिस्पर्धा भएको थियो ।

कृष्णलाई हराउँदै बागमतीमा ढुंगेल

एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा रामेछापका कैलाश ढुंगेल निर्वाचित भएका छन् । बागमती प्रदेश अधिवेशनमा भएको मतदानमा प्रदेशका पूर्व अर्थमन्त्रीसमेत रहेका ढुंगेलले निकटम् प्रतिस्पर्धी रहेका मकवानपुरका कृष्णप्रसाद दाहाललाई पराजित गरे ।

यो प्रदेशमा ढुंगेललाई जिताउन एमालेको मूल नेतृत्वले निकै मेहनत गर्नुपरेको थियो । एमाले बागमती प्रदेश उपाध्यक्षमा दावादोर्जे लामा तथा सचिवमा १ मतले नवराज सिलवाल निर्वाचित भएका थिए । सिलवालले हस्तबहादुर पण्डितलाई पराजित गरेका हुन् । उपसचिवद्वयमा प्रेम कुमार महर्जन र भक्तकुमारी लामासहित नयाँ प्रदेश कमिटी गठन भएको छ ।

यो प्रदेशमा चुनावी प्रतिस्पर्धा नगर्ने मुडमा नेतृत्व रहे पनि अन्ततः कार्यकर्ताको विद्रोहका कारण अन्तिममा ढुंगेल र दाहालबिच अध्यक्षमा प्रतिस्पर्धा भएको थियो ।

लुम्बिनीमा कँडेलको नेतृत्व

बुटवलमा सम्पन्न एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट पाल्पाका राधाकृष्ण कँडेलले अध्यक्ष पद सम्हाल्न पुगेका छन् । कँडेलले केन्द्रीय सदस्यसमेत रहेका प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै प्रदेशको नेतृत्व सम्हाल्न पुगेका हुन् । कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् भने अध्यक्षमा पराजित रिजाल अध्यक्ष ओली निकट मानिन्छन् ।

लुम्बिनी एमालेका अन्य पदाधिकारीमध्ये उपाध्यक्षमा कँडेल समूहका भोजप्रसाद श्रेष्ठले बाजी मारेका छन् । त्यसैगरी सचिव दाङका लक्ष्मण आचार्य निर्विरोध हुँदा पुरुष उपसचिवमा रोल्पाका पूर्ण बुढा मगर, बर्दियाकी लिला राना मगरले प्रदेशको नेतृत्व गर्ने अवसर पाएका छन् ।

गुलावजंगको हातमा कर्णालीको नेतृत्व

एमाले कर्णाली प्रदेश कमिटी अध्यक्षको जिम्मेवारी गुलावजंग शाहले पाएका छन् । एमालेका पोलिटब्युरो सदस्यबाट प्रदेश अध्यक्षमा लडेका शाह मीनबहादुर शाहीलाई पछि पार्दै मतदानमार्फत निर्वाचित भएका हुन् । शाह कर्णालीका अर्का नेता यमलाल कँडेल निकट भनेर चिनिन्छन् भने पराजित शाही अध्यक्ष ओली निकट भनेर कार्यकर्ताहरु चिन्छन् ।

त्यस्तै उपाध्यक्षमा शाहकै प्यानलका टेकराज पछाई निर्वाचित हुँदा सचिवमा धु्रवकुमार शाही चयन भएका छन् । यो प्रदेशको उपसचिवमा रविन्द्रराज शर्मा र रमेशकुमार शाही निर्वाचित भएका छन् ।

 गण्डकीमा नवराजको राज 

गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा चयन भएका छन् । अधिवेशनमा भएको मतदानमा शर्माका प्रतिस्पर्धी मायानाथ अधिकारीलाई पराजित गर्दै शर्मा अध्यक्षमा चयन भएका हुन्  ।

शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन थियो । अन्य पदमा पनि शर्मा प्यानलका उम्मेदवार नै निर्वाचित भएका छन् ।

उपाध्यक्षमा मिनप्रसाद गुरुङले बाबुराम विकलाई पराजित गरेर प्रदेश पदाधिकारी बन्न सफल भएभने धनञ्जय दवाडी उपसचिवमा दामबहादुर विक र मञ्जु अधिकारी छानिए ।

र, अन्त्यमा उपत्यकामा पराजुली...

एमालेको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनले प्रेम कुमार पराजुलीको नेतृत्वमा ७५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।

अध्यक्षमा उम्मेदवारी दिएका चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुली अध्यक्षमा निर्विरोध भएका थिए । कमिटीको उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलन धरेल, उपसचिवमा उर्मिला सुनुवार र जीतेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । गैरभौगोलिक र बुद्धिजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध यो प्रदेश कमिटीमा आवद्ध छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप