शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नरेन्द्र मोदीको कुटी क्षेत्रको भ्रमण नेपाली भूभाग विरुद्धको ठाडो अतिक्रमण : खनाल

शनिबार, २७ असोज २०८०, ११ : ३८
शनिबार, २७ असोज २०८०

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अप्रत्यासित कुटी क्षेत्रको भ्रमण नेपाली भूभाग विरुद्धको अर्को ठाडो अतिक्रमण भएको बताएका छन् । नेता खनालले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री मोदीको अप्रत्याशित भ्रमणले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको उल्लंघन भएको बताए ।

उनले भनेका छन्, ‘नेपाली जनता र भारतीय जनता सदियौं देखिका मित्र जनता हौँ । हाम्रा बीच गहिरो बहुआयामिक सम्बन्ध रहिआएको छ । तर भारतका वर्तमान शासकहरू नेपाली भूमिको सिमानामा बार–बार अतिक्रमण गर्दै आएका छन । अहिले प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अप्रत्यासित कुटी क्षेत्रको भ्रमण नेपाली भूभागका बिरुद्ध अर्को ठाडो अतिक्रमण हो । त्यसबाट नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको उल्लंघन भएको छ र यो अन्र्तराष्ट्रिय कानुन र मर्यादाको समेत विरुद्ध छ ।’ 

नेता खनालले भारतीय प्रधानमन्त्रीको कुटी भ्रमण नेपाल सरकारलाई थाहा थियो कि थिएन ? भन्दै प्रश्न समेत गरेका छन् ।

खनालले प्रश्न गरेका छन्: ‘के भारतीय प्रधानमन्त्रीको कुटी भ्रमण नेपाल सरकारलाई थाहा थियो ? के नेपाल सरकारसँग स्वीकृति लिएर त्यत्रो सशस्त्र शक्तिका साथ भारतीय प्रधानमन्त्री आएका हुन ? त्यस्तो होइन भने नेपालले राष्ट्रिय सहमतिका साथ “चुच्चे नक्सा” पास गरेको होइन ? यो नक्सा बमोजिमको नेपाली भूमिको रक्षा गर्ने जिम्मा नेपाल सरकारको होइन ? आज गठबन्धन सरकार के हेरेर बसिरहेको छ ?’ 

उनले संसदभित्र आवाज उठ्दासमेत कुनै राजनीतिक दलले आवाज नउठाएको भन्दै वर्तमान गठबन्धन सरकारबाट आफ्नो पार्टीले उल्लेखित प्रश्नहरुको जवाफ चाहेको समेत बताएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले केही दिनअघि सुदूरपश्चिमको दार्चुला जिल्लाको व्यास नगरपालिका अन्तर्गत पर्ने कुटी क्षेत्रको भ्रमण गरेका थिए । मोदी उक्त क्षेत्रको बाटो हुँदै कैलाश मानसरोवर गएका थिए ।

यस्तो छ नेता खनालको विज्ञप्ति :

 प्रेस विज्ञप्ती
यहि असोज २५ गते विहिबार हाम्रो मातृभूमि नेपालको सुदूरपश्चिम दार्चुला जिल्लाको व्यास गाउँपालिका ! कुटी गाउँको जोलिङकाङ हेलिब्याडमा भारतका वर्तमान प्रधानमन्त्री श्री नरेन्द्र मोदी र भारतकै उत्तराखण्ड राज्यका मुख्यमन्त्री श्री पुष्करसिंह धामी सशस्त्र फौज र सुरक्षाका साथ उत्रिए । त्यतिमात्र होइन उनीहरुले कुटीगाउँस्थित पार्वती कुण्डमा पुजा आजा समेत गरे । यो आफैंमा एउटा अर्को आश्चर्यजनक घटनाका रुपमा देखा परेको छ ।

कुटी,नापी र कुञ्जी जस्ता स्थानहरू लगायत महाकाली नदीको एकमात्र शिर लिम्पियाधुरा सम्मको भूभाग ऐतिहासिक एकीकरण देखि नै नेपालका अभिन्न भूभाग हुन् भन्ने कुरा इतिहाससिद्ध, तथ्यसिद्ध र तर्कसिद्ध छ । तर भारतका शासकहरु ती नेपालका प्रिय भूभाग माथि एकपछि अर्को अतिक्रमण गर्दै आइरहेका छन् र जबर्जस्त कब्जा गर्ने दुर्नियतले चलिरहेका छन । त्यसैको पछिल्लो कडी हो प्रधानमन्त्री नरेन्द्र मोदीको पुजा आजाको नाममा गरिएको ठाडो अतिक्रमण ।

के भारतीय प्रधानमन्त्रीको कुटी भ्रमण नेपाल सरकारलाई थाहा थियो ? के नेपाल सरकारसँग स्वीकृति लिएर त्यत्रो सशस्त्र शक्तिका साथ भारतीय प्रधानमन्त्री आएका हुन ? त्यस्तो होइन भने नेपालले राष्ट्रिय सहमतिका साथ “चुच्चे नक्सा” पास गरेको होइन ? यो नक्सा बमोजिमको नेपाली भूमिको रक्षा गर्ने जिम्मा नेपाल सरकारको होइन ? आज गठबन्धन सरकार के हेरेर बसिरहेको छ ? संसदभित्र त्यत्रो आवाज उठ्दा समेत किन आज यस बारेमा कुनै दलले एक शब्दहरु निकालिरहेको छैनन ! हाम्रो पार्टी वर्तमान गठबन्धन सरकारबाट यी प्रश्नहरूको जवाफ चाहन्छ ।

सम्पूर्ण देशभक्त जन समुदायहरु ! नेपाली जनता र भारतीय जनता सदियौं देखिका मित्र जनता हौँ । हाम्रा बीच गहिरो बहुआयामिक सम्बन्ध रहिआएको छ । तर भारतका वर्तमान शासकहरू नेपाली भूमिको सिमानामा बार–बार अतिक्रमण गर्दै आएका छन । अहिले प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अप्रत्यासित कुटी क्षेत्रको भ्रमण नेपाली भूभागका बिरुद्ध अर्को ठाडो अतिक्रमण हो । त्यसबाट नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको उल्लंघन भएको छ र यो अन्र्तराष्ट्रिय कानुन र मर्यादाको समेत विरुद्ध छ । समस्त देशभक्त नेपाली जनता यस्ता अतिक्रमण र हस्तक्षेपको कडा विरोध गर्दछौं र हाम्रो सिमानाको रक्षाको निम्ति अनन्त सम्म पनि संघर्ष गरिरहने सङ्कल्प गर्दछौ ।

यस्तो अवस्थामा भारतीय प्रधानमन्त्रीको भ्रमणको अर्थ के हो ? यसको वास्तविकता के हो ? नेपाल सरकार त्यस बारेमा जानकार छ कि छैन ? त्यस प्रकारका अतिक्रमणका विरुद्ध नेपाल सरकारको दृष्टिकोण के हो ? हाम्रो परराष्ट्र मन्त्रालय यस बारेमा के भन्छ ? यी सम्पूर्ण कुराको यथार्थ जनसमक्ष ल्याउन हाम्रो पार्टी वर्तमान गठबन्धन सरकारसँग जोडदार माग गर्दछ ।

मितिः २७ असोज २०८० 

झलनाथ खनाल
पूर्वप्रधानमन्त्री
तथा
सम्मानित नेता तथा विदेश विभाग प्रमुख

नेकपा (एकीकृत समाजवादी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप