बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

भैरहवाको युनिभर्सल मेडिकल कलेजमा पढाई र उपचार बन्द

सोमबार, २९ असोज २०८०, १० : ५०
सोमबार, २९ असोज २०८०

काठमाडौँ । भैरवाहको युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ हस्पिटलमा विद्यार्थीहरूले पठनपाठन र उपचार सेवा बन्द गरेका छन् । विभिन्न माग राख्दै एक सातादेखि आन्दोलन गर्दै आएका विद्यार्थीहरूले पठनपाठन र उपचार सेवा पूर्णरूपमा बन्द गराएका हुन् ।  विद्यार्थीहरूले प्रिन्सिपलको कार्यकक्षमा समेत तालाबन्दी गरेका छन् । नयाँ प्रिन्सिपल नआएसम्म तालाबन्दी नखुल्ने विद्यार्थीहरूले बताएका छन् । 

कलेजले विद्यार्थीहरूलाई नयाँ ड्रेस कोड अनिवार्य गर्ने निर्णय गराएपछि एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीहरू आन्दोलन गर्दै आएका छन् । शान्तिपूर्ण आन्दोलनको क्रममा प्रहरीले विद्यार्थीहरूमाथि लाठ्ठी प्रहार गरी घाइते बनाएको विद्यार्थीहरूले आजदेखि आन्दोलनलाई थप सशक्त बनाएका हुन् । 

आइतबार प्रमुख जिल्ला अधिकारीको रोहबरमा वार्ता गरिएको थियो । तर, प्रमुख जिल्ला अधिकारीले प्रहरी लगाएर विद्यार्थीमाथि लाठ्ठी प्रहार गर्न लगाएको र क्याम्पसको प्रिन्सिपललाई भगाएको आरोप विद्यार्थीहरूले लगाएका छन् ।  ‘छलफल गर्ने भनेर बोलाइयो । त्यही बेला सीडीओले प्रिन्सिपल म्यामलाई कार्यालयबाट भगाउनुभयो । प्रहरी लगाएर विद्यार्थी साथीहरूमाथि लाठ्ठी चार्ज गरेर घाइते बनाउन लगाउनुभयो’ एक विद्यार्थीले भनिन् ।   

पठनपाठन र उपचार सेवा ठप्प पारेर विद्यार्थीहरू जिल्ला प्रशासन कार्यालयमा घेराउ तथा रिले अनसनको लागि गएका छन् ।  प्रिन्सिपल प्राडा लक्ष्मी पाठकले एमबीबीएस तेस्रो, चौथो र पाँचौँ वर्ष तथा इन्टनसीप गर्ने विद्यार्थीहरूका लागि नयाँ ड्रेसकोडको व्यवस्था गरेकी थिइन् । छात्राहरूले लामो समयसम्म पाइन्ट र सर्ट लगाएर इन्टर्न गर्न नसकिने बताएका थिए । तर, क्याम्पसले भने आफ्नो निर्णय जसरी पनि लागू हुने अडान लिँदै आएको छ । 

उक्त निर्णयको विरोधमा विद्यार्थीहरूले शान्तिपूर्ण आन्दोलन गर्दै आएका थिए । तर, कलेज प्रशासन र स्थानीय प्रशासनले शक्तिको आँडमा आफुहरूमाथि बल प्रयोग गरेको भन्दै विद्यार्थीहरूले आन्दोलन थप शसक्त बनाएका हुन् । 

अहिले विद्यार्थीहरूले क्याम्पस प्रिन्सिपल पाठकको राजीनामा माग गर्दै आएका छन् ।  ‘अस्तिसम्म हामी नयाँ ड्रेसकोड लागू नगर्न भनिरहेका थियौ । त्यो मात्र माग थियो । प्रिन्सिपल म्याम हामीप्रति निकै आक्रामक हुन थालेपछि हामीले अब भने उनको राजीनामा मात्र मागेका छौं । त्यसपछि बाँकी कुरा त नयाँ प्रिन्सिपल आएपछि हुन्छ’ ती विद्यार्थीले भनिन् ।

uni1

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप