मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश

कर्णालीमा चाडपर्व लक्षित सुरक्षा योजना : ५ हजार भन्दा बढी प्रहरी परिचालन

आकस्मिक हुने घटनाका लागि प्रहरीको १७ वटा टोली तयारी अवस्थामा
बुधबार, ०१ कात्तिक २०८०, १० : १८
बुधबार, ०१ कात्तिक २०८०

सुर्खेत । कर्णालीमा दसैँ तिहार चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेर पनि प्रहरीले लागु गरिसकेको छ । चाडपर्वको आपराधिक गतिविधि हुन नदिका लागि प्रदेशभर ५ हजार बढी प्रहरी परिचालन गरिएको छ भने शान्ति सुरक्षाका लागि प्रभावकारी रूपमा कार्यतालिका बनाइएको छ । 

चाडपर्वको अवसरमा हुन सक्ने अवाञ्छित तथा आपराधिक गतिविधिहरूलाई नियन्त्रण एवं सडक सुशासन कायम गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयद्वारा तयार पारिएको एकीकृत चाडपर्व सुरक्षा कार्य योजना अनुसार मोवाइल गस्ती, क्यूआरटी र पैदल गस्तीहरू समेत गरिने छ । त्यसका लागि ३२३ स्थान तोकिएको छ । २० वटा जोखिम सम्भावित क्षेत्रहरूमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ १२ स्थानमा कर्डन एन्ड सर्च गर्ने गरी तयारी थालिएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईका अनुसार १०२ वटा क्यूआरटी परिचालन गरिएको छ भने ६८ वटा थप चेक प्वाइन्ट राखिएको छ । जसले सडक सुरक्षालाई थप प्रभावकारिता बनाउने अपेक्षा लिइएको उनले बताए । आकस्मिक हुने घटनाहरूको लागि समे जनशक्ति तयारी अवस्थामा राखिएको छ । उनका अनुसार १७ वटा टोलीमा १३४ जनालाई तयारी अवस्थामा राखिएको छ । 

यसअघि भइरहेको ट्राफिक व्यवस्थापनलाई थप सुदृढ पार्न ८३ स्थानमा संयुक्त चेकिङको व्यवस्थापन गरिएको छ भने बजार अनुगमनलाई तीव्र पारिएको छ । 

भट्टराईका अनुसार लामो दुरीका सवारी साधनहरुमा दुई वटा चालकको व्यवस्थान हुनुपर्ने भनिएको छ । सवारी साधनलाई नियमन गर्नका लागि विशेष चेकिङको पनि योजना ल्याइएको छ । 

‘सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाई आम नागरिकको जनजीवन सामान्य तुल्याउन, बैंक तथा वित्तीय सङ्घसंस्थाहरूमा हुने कारोबार सुरक्षित गराउन, विभिन्न गन्तव्य सम्म जाने यात्रुहरूलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन र कुनै पनि किसिमको अप्रिय घटना हुन् नदिन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन, नियन्त्रण आवश्यक भएको सुरक्षा मापदण्डसमेतलाई लक्षित गरी हामीले सुरक्षा योजना बनाएका छौँ,’ प्रवक्ता भट्टराई भन्छन्,‘यात्रुहरूको सहजताका लागि विभिन्न जिल्लाका ६१ वटा स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ ।’ 

साथै चोरी, तस्करी, लागु औषध कारोबार लगायतका अवैध गतिविधि नियन्त्रण गर्नका लागि सम्भावित १८ वटा स्थानहरूमा सुरक्षा व्यवस्थालाई कडाइ गरिएको पनि उनले बताए । आर्थिक कारोबार हुने स्थान, धार्मिक तथा पर्यटक स्थल, महत्त्वपूर्ण ९२ स्थान र झै–झगडा, जुवा तास, चोरी लुटपाट,मापसे, लापसे नियन्त्रणका लागि विभिन्न ६६ स्थान निर्धारण गरेर जनशक्ति परिचालन गरिएको छ । ‘प्रदेशका १ हजार ३६९ वटा ड्युटीमा ५ हजार भन्दा बढी जनशक्ति परिचालन गरिएको छ,’ उनले भने,‘ यो गत वर्षको भन्दा निकै बढी हो । चाडपर्वको नाममा हुन सक्ने सबै प्रकारका अवाञ्छित/आपराधिक क्रियाकलापहरु रोकथाम तथा नियन्त्रण गर्दै नागरिकहरूले सुरक्षित र उल्लासका साथ चाडपर्व मनाउने विश्वसनीय वातावरण निर्माण गर्ने हाम्रो प्रयास हो ।’ 

सुरक्षा निकायहरूबिच प्रभावकारी समन्वय गरी तत्काल आवश्यकता अनुसार सम्बन्धित स्थानमा सुरक्षाकर्मीहरू परिचालन गरिने उनले बताए ।

उनी भन्छन्,‘चाडपर्वको समयमा हुने गुण्डागर्दी, चोरी, लुटपाट, ठगी, ग्याङफाइट, जुवा तास लगायतका आपराधिक घटनाहरूमा वृद्धि हुने सम्भावना रहन्छ । त्यसैले शान्ति सुरक्षाको जिम्मेवारी पाएको प्रहरीले त्यसको अनुभूति दिलाउने गरी काम गरिरहेको छ भन्ने तरिकाले हामी लागिरहेका छौँ ।’ 

चाडपर्वको अवसरमा हुन सक्ने आपराधिक गतिविधिहरूको शङ्कास्पद एवं सम्भावित स्थानहरूमा सादा पोसाकमा पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको उनको भनाइ छ । कालोबजारी नियन्त्रणका लागि पनि रणनीति बनाइएको छ । चाडपर्वमा हुन सक्ने खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरूको कृत्रिम अभाव हुन नदिन सरोकारवाला निकायहरूसँग समन्वय गरी प्रभावकारी बजार अनुगमन एवं कालो बजारी हुन/गर्न दिइने छैन । 

कर्णाली प्रदेशमा विशेषगरी सडक सुरक्षाको अवस्था कमजोर छ । यहाँ दैनिक दुर्घटनाहरू भइरहन्छन् । सडक सुरक्षालाई ध्यान राखेर प्रदेश प्रहरीले सवारी साधनमा यात्रुसँग बढी भाडा असुल गर्ने, यात्रुहरूलाई दुर्व्यवहार गर्ने, क्षमता भन्दा बढी यात्रु एवम् मालसामान राख्ने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनहरूलाई कारबाहीको दायरामा ल्याइने रणनीति अपनाएको छ । 

नागरिककै सहजताको लागि सिमानाका, बसपार्क, सार्वजनिक स्थान तथा बढी भिडभाड हुने स्थानहरूमा यात्रु सहायता कक्षको स्थापना गरी सेवा प्रवाह गरिएको भट्टराईको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप