शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बीआरआईमार्फत विश्वसँग जोडिन पाएकोमा नेपालले गर्व महसुस गरेको छ : खनाल

बिहीबार, ०२ कात्तिक २०८०, १५ : ३४
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बीआरआई मार्फत विश्वजगतसँग जोडिन पाएकोमा नेपालले गर्व महसुस गरेको बताएका छन् । चीनले आयोजना गरेको बीआरएफ फोरमलाई सम्बोधन गर्दै उनले सो परियोजनामार्फत नेपाल र चीन सरकार बीचको औपचारिक सम्बन्धको परिचय दिएको समेत बताए ।  उनले भने, ‘यो ऐतिहासिक पहलकदमीले नेपाल र चीन सरकार र दुई देशका जनताहरू बीचको औपचारिक सम्बन्धको परिचय दिएको छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले समस्त दक्षिणको उदय र बीआरआईको विश्वव्यापि विस्तारले विभिन्न राष्ट्र, देश र जनताहरूबीचको नयाँ शान्तिपूर्ण सम्बन्ध, साथै विश्वमा रहेका विभिन्न सभ्यताहरूको सहअस्तित्व, सहकार्य र रूपान्तरणको सुरुवात समेत गरेको बताए । 

उनले बीआरआईको निरन्तर विकास र विश्वव्यापी विस्तारलाई कसैले पनि रोक्न नसक्ने बताए । खनालले भने, ‘केही पश्चिमा साम्राज्यवादी र आधिपत्यवादी शक्तिहरू आज पनि बीआरआईको विकास र विस्तारको विरोध गर्न चाहन्छन् । तर विश्वको कुनै पनि शक्तिले बीआरआईको निरन्तर विकास र विश्वव्यापी विस्तारलाई रोक्न सक्दैन ।’

बीआरआईको विश्वव्यापि विस्तारले विभिन्न राष्ट्र, देश र जनताहरूबीचको नयाँ शान्तिपूर्ण सम्बन्ध, साथै विश्वमा रहेका विभिन्न सभ्यताहरूको सहअस्तित्व, सहकार्य र रूपान्तरणको सुरुवात समेत गरेको खनालको भनाइ छ । सो सम्मेलनमा भाग लिन खनाल नेतृत्वको टिम केही दिनअघि चीन भ्रमणमा निस्केको थियो । 

चीनको औपचारिक भ्रमण सकेर खनाल अक्टोबर २२ अर्थात कात्तिक ५ मा नेपाल फर्कने छन् । नेता खनालसँगै रविलक्ष्मी चित्रकार र प्रा.डा. युवराज संग्रौला चीन भ्रमण टोलीमा छन् ।

यस्तो छ खनालको सम्बोधनको पूर्णपाठ :

महामहिम राष्ट्रपति सी जिनपिङ,
विश्वभरबाट पाल्नुभएका अतिथिज्यूहरू,
महिला तथा सज्जनवृन्द,

नयाँ, समतामूलक, समृद्ध र प्रगतिशील विश्व व्यवस्थाको लागि एक महत्वपूर्ण परिघटनाको रूपमा रहेको यो ऐतिहासिक सम्मेलनलाई पूर्वप्रधानमन्त्रीको रूपमा तपाईंहरू सबैलाई नेपालको तर्फबाट अभिवादन गर्न पाउँदा निकै खुशी लागेको छ ।

यो नयाँ विश्व व्यवस्थाको यात्रा आजभन्दा ठिक १० वर्ष पहिले महामहिम राष्ट्रपति सी चिनपिङद्वारा घोषणा गरिएको बेल्ट एन्ड रोड इनिसिएटिभ पश्चात् सुरु भएको थियो । सो ऐतिहासिक पहलकदमीले विश्वमा रहेका विभिन्न देशहरू र जनता जनताबीचको आपसी सहयोग र सहकार्यको नयाँ अवधारणा सुरु गरेको थियो । साथै, सो पहलकदमीले प्राचीन सिल्क रोड र सामुद्रिक सिल्क रोडलाई पुनः आविष्कार पनि गरेको थियो, जसले हिजो इतिहासमा विश्वभर विकसित भएका विभिन्न सभ्यताहरूलाई एकआपसमा जोडेको थियो ।

यस पहलकदमीले विश्वभरका जनताहरुलाई एकआपसमा व्यापार गर्न, एकआपसका मूल्यमान्यताहरूबाट सिक्न र आपसी सम्बन्ध र सहयोगलाई प्रवर्द्धन गर्न अभुतपूर्व अवसर प्रदान गरेको छ ।  

यो ऐतिहासिक पहलकदमीले नेपाल र चीन सरकार र दुई देशका जनताहरू बीचको औपचारिक सम्बन्धको परिचय दिएको छ । नेपाल र चीनको औपचारिक सम्बन्ध करिब १६०० वर्ष पुरानो रहेको पाइन्छ र यसलाई ऐतिहासिक कालखण्डमा सिल्क रोडको एउटा शाखा चामा गुडाओ (चिया हर्स रोड) द्वारा स्थापित सम्बन्धको रूपमा स्मरण गर्ने गरिएको छ ।

महामहिमहरु
सिल्क रोड प्रणालीले हिजो स्थापित गरेको विश्व सम्बन्धको उचाइलाई पश्चिमा सांस्कृतिक अहंकारवाद, जातिवाद, उपनिवेशवाद र साम्राज्यवादले ध्वस्त पारेको थियो । आज चीनले अगाडि सारेको बीआरआईले विश्वभर रहेका मानिसहरुको मानवता र समावेशी आर्थिक सहयोगको साझा भविष्यको परिकल्पनालाई पुनः फिर्ता ल्याएको छ‌ । 

समस्त दक्षिणको उदय र बीआरआईको विश्वव्यापि विस्तारले विभिन्न राष्ट्र, देश र जनताहरूबीचको नयाँ शान्तिपूर्ण सम्बन्ध, साथै विश्वमा रहेका विभिन्न सभ्यताहरूको सहअस्तित्व, सहकार्य र रूपान्तरणको सुरुवात समेत गरेको छ । सिल्क रोडको पुन: आविष्कारको रूपमा आएको बीआरआईले विश्वमा रहेका विभिन्न सभ्यताहरू एकआपसमा सहकार्य गर्छन र सहअस्तित्वमा बाँच्छन्,‌ साथै एकअर्कालाई रूपान्तरण समेत गर्छन्, तर तिनीहरू बीच कुनै विरोधाभास हँदैन भन्ने सत्यलाई समेत स्थापित गरेको छ ।

केही पश्चिमा साम्राज्यवादी र आधिपत्यवादी शक्तिहरू आज पनि बीआरआईको विकास र विस्तारको विरोध गर्न चाहन्छन् । तर विश्वको कुनै पनि शक्तिले बीआरआईको निरन्तर विकास र विश्वव्यापी विस्तारलाई रोक्न सक्दैन । यो पहलकदमीले विश्वभरका जनताहरुमा आर्थिक समृद्धि र विभिन्न सभ्यताहरूको सहअस्तित्वको साझा भविष्यसहितको सुन्दर संसार स्थापनाको लगि नयाँ आशा जगाएको छ । 

हाम्रो मुलुक नेपाल पनि यस ऐतिहासिक पहलकदमिको एक हिस्सा भएको छ र बीआरआई मार्फत विश्वजगतसँग जोडिन पाएकोमा नेपालले गर्व महसुस समेत गरेको छ । 

अन्त्यमा हाम्रो प्यारो जीवित ग्रहमा एउटा नयाँ, समृद्ध र साझा मानव सभ्यताको विकास र स्थापना छिट्टै हुनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दै, मेरा विचारहरु धैर्यतापूर्वक सुन्नुभएकोमा तपाईंहरु सवैलाई धन्यवाद दिन चाहन्छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप