आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु साहले सरकारलाई दिए तीन सुझाव

बिहीबार, ०२ कात्तिक २०८०, १९ : ५६
बिहीबार, ०२ कात्तिक २०८०

रौतहट । पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारलाई विभिन्न ३ वटा काम तत्काल गर्न सुझाव दिएका छन् ।

हिन्दूहरूको महान पर्व दसैँ, दीपावली तथा छठको शुभकामना आदानप्रदानका लागि बिहीबार रौतहटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय जनसरोकारका तीन वटा विषयमा काम गर्न सुझाव दिएका हुन् ।

उनले सर्वसाधारणले उपभोगका लागि भारतीय बजारबाट ल्याउने सामान नेपाली सुरक्षाकर्मीले समातेर भन्सारमा बुझाउँदा ती सुरक्षाकर्मीलाई कमिसन दिने व्यवस्था बन्द गर्न सरकारलाई सुझाव दिएका छन् । कमिसनको लालचमा सुरक्षाकर्मीले खुद्रा सामान ल्याउने उपभोक्तालाई समेत दुःख दिने गरेको पूर्वमन्त्री साहको भनाइ छ ।

सरकारको तलब खाने सुरक्षाकर्मीले आफ्नो ड्युटी निर्वाह गरेबापत कमिसन पाउने व्यवस्था उचित नभएको भन्दै उनले बरामद गरिएका सामान र राजस्व सरकारी कोषमा जम्मा हुनुपर्ने उनले बताए ।

त्यसैगरी लामो समयदेखि बन्द रहेका छोटी भन्सारहरु तत्काल सञ्चालन गर्न पनि पूर्वमन्त्री साहले सरकारलाई सुझाव दिएका छन् । रौतहटमा जिल्ला भन्सार कार्यालय गौरपछि पश्चिममा वीरगंज भन्सार कार्यालय नै पुग्नुपर्ने अवस्था रहेको भन्दै उनले अधिकांश व्यापारीले चाहेर पनि राजस्व तिर्न नसक्ने अवस्था रहेको बताए । परिणामस्वरुप ग्रामीण क्षेत्रमा तस्करी बढेको उनको भनाइ छ ।

त्यसैगरी कटहरीयामा तत्काल एकीकृत सेवाकेन्द्र स्थापनाका लागि पहल गर्न पनि उनले सुझाव दिएका छन् ।

उनले मधेस प्रदेश सरकारले गत आर्थिक वर्षमा प्रदेशभरिमा २०६ वटा सरकारी कार्यालय स्थापना गर्दा गरुडा नगरपालिका र कटहरिया नगरपालिकालाई किन छुटाइयो भन्ने प्रश्नसमेत गरे ।

उनले बागमती नदीले रौतहट र सर्लाहीमा बाढी तथा कटानका समस्या निम्त्याउने गरेको, लालबकैया नदीले रौतहटको पश्चिमी भेगका मानिसलाई दुःख दिएको जिकिर गर्दै जिल्लामा नदी नियन्त्रण कार्यालयको खाँचो औंल्याए । त्यस्तो कार्यालय बाराको परवानीपुरमा रहेको र परवानीपुरमा कार्यालय राख्नुको उपादेयता नरहेको उनको भनाइ थियो ।

कार्यक्रममा आमजनता पार्टीका केन्द्रीय सचिव समिना हुसैन, मधेस प्रदेश इन्चार्ज सुधीर यादव, जिल्ला इन्चार्ज त्रिभुवन साह  , स्थायी कमिटी सदस्य मनोज यादव, प्रदेश कमिटी सदस्य सीताराम कुशवाहा, दलित नेता चन्देश्वर बैठा, नगर अध्यक्ष महेश यादव, देवाही गोनाहीका अध्यक्ष सकिना खातुन लगायत उपस्थित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप