आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
दसैँ

कोशी प्रदेशका मुख्यमन्त्रीको दसैँ : विगतमा निर्धक्क, अहिले दबाब

सोमबार, ०६ कात्तिक २०८०, १४ : १८
सोमबार, ०६ कात्तिक २०८०

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले यस पटकको दसैँमा विगत वर्षभन्दा दबाब महसुस गरेका छन् । विगतमा निर्धक्क तरिकाले दसैँ मान्ने गरेका उनलाई यस पटक प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीले गर्दा दबाब परेको हो ।

‘अहिले अलिक दबाब भयो । प्रदेशभरमा के हुन्छ, कस्तो हुन्छ भन्ने हिसाबले चनाखो रहनु पर्ने भयो । विगतमा बिन्दास भइन्थ्यो । अब अरुको राम्रो भयो भने खुसी हुनुपर्ने भयो,’ मुख्यमन्त्री कार्की भन्छन् ।

उनलाई दसैँको मुख्य दिन (सप्तमी)को सुरुवात हुनुभन्दा अघिल्लो दिनसम्म राजनीतिक दबाबको सामना गर्नुप¥यो । नेकपा एमालेको सहयोगमा कांग्रेसका ८ सांसदलाई लिएर मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले कार्तिक १ गते विश्वासको मत लिए । राप्रपाबाहेक सबै दलले उनलाई विश्वासको मत दिएपछि राहत भयो ।

तर, एमालेले भने दसैँ अगाडि नै ५ जना मन्त्री नियुक्त गर्न कार्कीलाई ठुलो दबाब दिएको थियो । उक्त दबाब छलेर दसैँमा प्रवेश गरेका कार्की अहिले भने दसैँको रमझममा लागिसकेका छन् ।

उनले सप्तमीको दिन मोरङको रंगेलीस्थित ऐतिहासिक कालीमन्दिरमा पुगेर फूलपाती भित्र्याए । अष्टमीको दिन विराटनगरको कालीमन्दिरमा पुगेर पूजा अर्चना गरे । नवमीको दिन पनि पूजाअर्चना गर्ने उनले सुनाए । निवासमै भेटघाट र शुभकामना साटासाट गरिरहेका कार्की अतिरिक्त कार्यक्रमहरुमा पनि कुद्नै परेको छ ।

दसैँ लक्षित सुरक्षा तथा सम्भावित आपराधिक घटना हुन नदिन आफ्नो तर्फबाट पनि सतर्कताका लागि प्रयास गरिरहेको उनी बताउँछन् ।

तपाईंको दसैँ कस्तो हुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘दसैँमा तपाईंहरुले जसरी मनाउनु हुन्छ त्यस्तै गरी मनाउने त हो । आफूभन्दा ठूलाको आशीर्वाद लिने । घरमै जमरा राखिएको छ । बुबाको हातको टीका लगाउने । आफन्त भेट्न जाने ।’

मुख्यमन्त्री कार्कीकी आमाको २ वर्ष अगाडि निधन भयो । कार्कीले कुराकानीको क्रममा आमाको अभाव महसुस भइरहेको सुनाए । मोरङको बुढीगंगास्थित टंकीमा उनको घर छ । त्यहीँ दसैँ मान्ने उनको भनाइ छ । ‘टीका लगाउन ससुराली झापा जान्छु । आफ्ना मान्यजनहरु हिजो जतिलाई भेट्न वा आशीर्वाद लिन जान्थेँ, यस पटक पनि जान्छु,’ कार्कीले भने ।

मुख्यमन्त्री कार्कीको घरमा घटस्थापनादेखि नवमीसम्म चण्डीपाठ भइरहेको छ । दशमीमा विसर्जन हुन्छ । ‘चण्डीपाठ हामी जहिल्यै गराउँछौँ । पहिले पहिले आफैँ पढ्थ्यौँ । तर, अहिले नभ्याउने भएपछि १ जना बाहुनले लगातार पढ्छन्,’ उनले भने ।

दसैँ नेपालीहरुले साझा रुपमा मनाउने एउटा ठुलो संस्कृति हो । यसलाई राष्ट्रिय चाडको रुपमा लिने गरिएको छ । चाहे कर्मचारी, मजदुर, किसान सबैले दसैँलाई हर्षोल्लासका साथ मनाउँछन् । सबै धर्मका मानिसहरुले पनि अहिले दसैँको अवसरमा रमाउने वा हर्षबढाइ गर्न थालेका छन् ।

‘दसैँ परम्परागत विश्वासको निरन्तरता पनि हो । हामी पनि गाउँमा बसेका थियौँ । सबै मानिसको दुःख, पीडा उस्तैउस्तै हुन्छ । ऋण खोजेर भए पनि आफ्ना छोराछोरीलाई मिठो मसिनो खुवाएको मैले देखेको छु । अरुबेला बाध्यता भएन । दसैँमा चाहिँ बाध्यताले पनि कम्तीमा एक दिन, दुई दिन भए पनि बाबुआमाले बनिबुतो गरेर पछि ऋण तिर्ने गरी मिठोमसिनो ल्याएर परिवारसँगै बसेर खाने गरेका छन्,’ मुख्यमन्त्री कार्कीले विगत सम्झँदै भने ।

दुःख, पीडामा रहेकाहरुले पनि ठूलो समस्याबाट मुक्त भएर दसैँको केही दिन सबै कुरा बिर्सेर यो चाड मनाउने उनको भनाइ छ ।

उनले एक छाक राम्रोसँग खान नसक्नेहरुको दसैँलाई दसैँजस्तो मनाउने वातावरण बनाउन आफ्नो तर्फबाट पहल गर्ने सुनाए । ‘मेरो कार्यकाल भर्खरैै सुरु भएको छ । अभाव र पीडामा परेका समुदायको आय आर्जन वृद्धि गर्न कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भनेर म केही योजना बनाउन प्रयास गर्नेछु,’ कार्कीले भने ।

समाजमा एउटा आहान छ, ‘घाँटी हेरी हाड निल्नु ।’ यो आहानलाई पनि मानिसले गच्छेअनुसार खर्च गर्नुपर्छ । हुनेखानेहरुले पनि अर्को वर्गलाई होच्याउने गरी भन्दा पनि नहुनेलाई सहयोग गरेर दसैँ मनाउनु पर्ने उनको भनाइ छ ।

‘हामीले तडकभडक खर्च गर्नुको साटो नहुनेहरुलाई सहयोग ग¥यौँ भने त्यसले राम्रो सन्देश जान्छ,’ कार्कीले आह्वान गर्दै भने, ‘यस्तै नहुने र नसक्नेले पनि धेरै महत्त्वाकांक्षा राखेर खर्च नगरेर गच्छे अनुसार गर्नुपर्छ र भोलि मैले ऋण तिर्नसक्छु भन्ने मूल्याङ्कन गरेर दसैँ मनाउनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप