मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
दसैँ फेसन

बालबालिकामा फेसन चेत

गंगा दाइको सैलुनको २५ स्टाइल
मङ्गलबार, ०७ कात्तिक २०८०, १२ : ४८
मङ्गलबार, ०७ कात्तिक २०८०

विराटनगर । ‘दाइ मलाई यो स्टाइल मन परेन । यस्तो बनाइदिनु,’ केश काट्न सैलुन छिरेका ११ वर्षीय विनोद बस्नेतले आफ्नो मामाको मोबाइलमा राखेको स्टाइल देखाउँदै हजामलाई भने । झन्डै एक महिनासम्म स्कुल, बोर्डिङ छुट्टी छ । केटाकेटीलाई आफ्नो  इच्छा अनुसारको केश काट्ने रहर छ । अभिभावकले नदिने हो कि भन्ने डर रहेपछि उनीहरू जिद्ध गर्दै भन्छन्, ‘नाइँ मलाई यस्तै स्टाइल चाहिन्छ ।’

‘अब स्कुल लागेपछि यस्तो काट्नै पाइँदैन, लामो कपाल बनाउन पनि पाइँदैन । लामो कपाल पाल्नेहरूलाई सर, मिसहरूले आफैँ कैँचीले काटिदिन्छन्,’ विनोद सुनाउँछन् । त्यही भएर पनि उनलाई छुट्टीको समयमा आफ्नो इच्छा अनुसारको केश काट्न मन थियो । आफ्नो इच्छा पुरा गरेकोमा उनी खुसी छन् ।

Kes (2)

सैलुन छिरेका प्रायः केटाकेटीको आ–आफ्ना रहर छन् । कोही फुटबलर मेसी स्टाइलको भन्छन्, कोही नेयमारलगायतको स्लोप, मुलेट, बुज कट, आर्मी कट लगायत अरुअरु...स्टाइल केटाकेटीको मुखैमा छ । विनोदले भने हिन्दी चलचित्रका एक पात्र ‘अल्लु अर्जुन’ स्टाइलको बनाउने भने । तर, कसैले पनि राजेश हमाल वा अन्य नेपालका स्टाइलिस्ट आर्टिष्ट वा खेलाडीको नाम भनेनन् । कुनै जमानामा युवा र केटाकेटीको चाहना हुन्थ्यो, ‘राजेश हमालको स्टाइल’ केश काट्ने । घाँटीको पछिल्लो भाग र निधार छोप्ने लामो केश, झ्याप–झ्याप हल्लिने । तर, अहिले प्रायः बालबालिकाको स्टाइल कानदेखि मास्तिरबाट ब्लेडले रेखा हान्ने ‘स्लोप’ । कसैले एउटा कसैले दुईवटा रेखा हान्छन् । अर्थात् अहिलेका बालबालिकामा फेसनको चेत गाउँगाउँसम्म छ । 

Kes (3)

मोरङको कानेपोखरी गाउँपालिका ५ भौंसाबारीमा गंगा सैलुन छ । त्यहाँ दसैँको सन्दर्भमा अधिकांश केटाकेटी केश काट्न लाम लागेका छन् । तिनै केटाकेटीको स्टाइलिष्ट केश काट्ने रहरले सैलुनका सञ्चालक गंगा ठाकुरलाई हैरान दिएको छ । सैलुनमा उनीसहित उनका भाइ र भतिज गरी तीन जना भ्याई नभ्याई केश काट्न लागिरहेका छन् । गंगाले केश काट्ने विभिन्न २५ स्टाइल भित्तामा राखेका छन् । तर, केटाकेटीले त्यो स्टाइल भन्दा अर्को स्टाइलको डिमाण्ड गर्छन् । ‘भनेको पनि बुझिँदैन, यस्तै होइन मात्रै भन्छन्, केटाकेटीको नयाँ नयाँ स्टाइलले हामीलाई काममा ढिला हुन्छ,’ सैलुन सञ्चालक गंगा भन्छन् । कुराकानी गरिरहेकै सन्दर्भमा १४ औं नम्बरको पालो कुरेर बल्ल पालो आएपछि केश काट्ने कुर्सीमा बस्न पुगेका १५ वर्षे रमेशले भने, ‘मलाई यो स्टाइलको काटिदिनु ।’ उनले भनेको स्टाइलको नाम थियो ‘मुलेट’ । यो स्टाइल भनेको कानको मास्तिर काट्ने, अगाडि र पछाडि दुवैतिर लामै छोडिदिने । ‘मुलेट स्टाइलको केश काट्दा कस्तो देखिँदो रहेछ भनेर काटेको,’ उनले भने, ‘अरुअरु साथीहरुले यस्तै यस्तै काट्छन् त्यही भएर मैले पनि काटें ।’

Kes (7)

अभिभावक भने केटाकेटीको स्टाइलले हैरान मान्छन् । ‘चटक्क पारेर काट्नु नि, सिम्पल । युट्युब हेरेका छन्, टिकटक हेर्छन्, फेसबुक हेरेका छन्, के के जान्दछन् जान्दछन्,’ रमेशलाई केश काट्न लिएर आएका उनका हजुरबाले भने । पहिले पहिले अरूले भनेको मान्ने, इमानदार हुने, देखासिकी नगर्ने खालका केटाकेटी हुन्थे । अहिलेका केटाकेटीहरू आफैँ जान्ने हुन्छन् ।’

दसैँको टिकाको दिन मंगलबार पनि गंगा सैलुनमा केश काट्नेहरूको भीड छ । १२ बजेसम्ममा दर्जनौँको केश काट्न सक्ने गंगा बताउँछन् । केश काट्नकै लागि स्थानीय बालबालिका र युवाहरू दुई घण्टा, तीन घण्टा लाइनमा बसेका छन् । सप्तमीको दिनदेखि लागेको भीड आजसम्म कायम रहेको गंगाले बताए । अरुबेला बिहान १० बजेतिर खुल्ने सैलुन सप्तमीको दिनदेखि भने बिहान ७ बजेदेखि खुल्ने गरेको छ । बेलुका १० बजेसम्म केश काटिरहेको उनी सुनाउँछन् । तर, दसैँको बेलामा केश काट्न आउने केटाकेटीको स्टाइल सुनेर भने उनी छक्क पर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप