बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सिजी इलेक्ट्रोनिक्सले बीमा दाबीमा २४ करोड किर्ते गरेको ठहर

आइतबार, १८ चैत २०७४, १७ : १६
आइतबार, १८ चैत २०७४

काठमाडौँ । अन्ततः सतुङ्गलमा रहेको सिजी इलेक्ट्रोनिक्सले बीमा दाबीमा किर्ते गरेको प्रमाणित भएको छ ।  गत हप्ता उच्च अदालत पाटनले सिजीले बीमा दाबीमा किर्ते गरेको भन्दै सिजी इलेक्ट्रोनिक्सलाई भरपाई गराएको २४ करोड रुपैयाँ असुल्न बीमा समितिलाई निर्देशन दिएको छ । 

२०६९ असोजमा सतुङ्गल गोदाममा आगो लागेपछि  सर्भेयर र अण्डराइटरले अग्नि बीमा अन्र्तगत ५८ करोड क्षति भएको प्रमाणित गरेका थिए । सोही अनुसार युनाइटेड इन्सुरेन्सले विभिन्न समयमा ३४ करोड दाबी भुक्तानी गरेको र २४ करोड रुपैयाँ बैंक ग्यारेन्टी गरेको थियो । अदालतले बीमा समितिको निर्णयलाई नै सदर गरिदिएपछि सिजिले किर्ते गरेको प्रमाणित भएको हो ।

सेयर होल्डरको लगानीमा संस्थापकले रजाई गरेको भन्ने उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियामक बीमा समितिलाई छानबिन गर्न आदेश दियो ।

अख्तियारको आदेश पालना गर्दै तीन सदस्यीय छानबीन टोली समेत गठन गरेर बीमा समितिले छानबिन गर्यो । समितिको छानबिनबाट पनि ३४ करोडको मात्र क्षति भएको देखिएको बीमा समितिका नियमन विभाग प्रमुख शाम्भराज लामिछानेले भने । 

तर, यहाँ रोचक पक्ष  के छ भने आफै बीमा दाबी गर्ने र आफै बीमा भुक्तानी गर्ने अर्थात बीमा दाबी गर्ने सिजि इम्पेक्स, इओए र सिजि इलेक्ट्रोनिक्स विनोद चौधरीले नेत्ृात्व गरेको चौधरी समूहको पूर्ण स्वामित्वको कम्पनी हो भने दाबी भुक्तानी दिने युनाइटेड इन्सुरेन्स चौधरीको झण्डै २७ प्रतिशत सेयर स्वामित्व भएको कम्पनी हो । 

एकै घरानाका दुई कम्पनीबीच बीमा दाबी र भुक्तानी गर्दा उसले नेपाली सर्भेयर नै खटाएर गलत सर्वेक्षण गरेको भन्दै सर्वेक्षक र अण्डरराइटरलाई  ३/३ हजार जरिवाना  समेत गरेको लामिछानेले बताए ।

बीमा समितमै युनाइटेडको विरुद्धमा सिजीले उजुरी समेत हालेको थियो । सिजिले बढी दाबी लिएको प्रमाणित भएपछि अब २४ करोड रुपैयाँ युनाइटेड इनसुरेन्सलाई फिर्ता गर्नु पर्नेछ र अहिलेको बिमकको संस्थागत सुसासन सम्बन्धि निर्देशका २०७३ ले वित्तिय स्वार्थ गाँसिने ठाउँमा लगानी गर्न रोक लगाएको छ । यस आधारमा अब सिजिले युनाइटेडमा बीमा गर्न पाउँदैन ।  

                                                                                                                             
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप