कविता
नगर्नु उपकारसँग देश साट्ने कुरा
शनिबार, ११ कात्तिक २०८०, १० : ०७

तिमी उपकारसँग
के मेरो देश साट्न चाहन्छौ ?
अहँ म त्यस्तो सक्तिन सहन
बजारमा बेच्न राखेको
सामान होइन मेरो देश
मुटु हो यो मेरो
आत्मा छ यसमा
प्राणले बेरेर यसलाई
चलायमान बनाएको छु मैले
किनबेच गर्न सक्दैनौ तिमी
मितेरी गाँस्छौ भने बरु मसँग
मेरो मुटु, मेरो देशसँग
त्यो स्वीकार्य छ मलाई
सहयोग गर्न सक्छु म
सहयोगको बदला
नाफा घाटाको हिसाब गर्न छोड
मित्रताको बहानामा
बरु आऊ, हातमा हात मिलाऊ
पुछौँ एक अर्काको आँसु
साटौँ एक अर्काको पीडा
नगर्नु कहिल्यै
उपकारसँग देश साट्ने कुरा ।