शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

निबन्ध : तटस्थ

सोमबार, १३ कात्तिक २०८०, १० : ४०
सोमबार, १३ कात्तिक २०८०

समाधानका विभिन्न किसिममध्ये तटस्थ समाधान पनि एउटा हो । कुरो सुन्दा आश्चर्य लाग्न सक्छ समाधानको यो कस्तो किसिम हो भन्ने तर आश्चर्य मान्नुपर्दैन । तटस्थ पनि उत्तिकै जब्बर किसिम हो समाधानको । आउनुस् हेरौँ यो कस्तो किसिमको समाधान रहेछ । 

मानिलिनुस् तपाईँ कुनै माथिल्लो तहको योगी, तपस्वी वा सन्न्यासी हुनुहुन्छ । तपाईँका निम्ति सुख, दुःख बराबरी छ । तपाईँलाई जन्म मृत्यु, रोग, भोक, शोक, घरपरिवार आदि कुनै पनि समस्याले छुन सक्दैन । करोडौँको नोक्सान भए पनि, घरमा आगलागी भए पनि, घ।बारी पैरोले लगे, पनि खेत खोलाले बगाए पनि तपाईँलाई फरक पर्दैन । यस वापत् जति पनि समस्या उत्पन्न भएका हुन्छन् यसले तपाईँलाई कुनै फरक नपार्ने भएकाले यस निम्ति भएका यावत समाधान तपाईँका लागि तटस्थ समाधान हुन पुग्छ ।  

अथवा हुन सक्छ तपाईँ कुनै स्वास्थ्यकर्मी हुनुहुन्छ । कुनै ठूलो अस्पतालमा डक्टर हुनुहुन्छ, नर्स हुनुहुन्छ । अस्पतालमा असाध्य किसिमका रोग लागेका बिरामी आएका छन् । ऐया भनेका छन्, आत्था भनेका छन्, रोएका छन्, कराएका छन् । न उनीहरू निदाएका छन् न तपाईँ निदाउन पाउनुभएको छ । अहरनिश बिरामीको उपचारमा खट्नुभएको छ । बिरामीका आफन्तहरूको अवस्था पनि त्यस्तै छ तर रोगी निको भएन । बिस्तारबिस्तार उसको शरीर गल्दै गएर उसको मृत्यु भयो । यो उसका लागि समाधान हो । असाध्य रोग लागेका बिरामीका लागि, लामो समयदेखि थलिएका बिरामीका लागि, महिनौंँदेखि कोमामा रहँदै आएका बिरामीका लागि मृत्युभन्दा ठूलो समाधान अर्को हुनै सक्दैन ।

एक किसिमले भन्ने हो भने यो त्यस्ता बिरामीका परिवारकै लागि पनि समाधान नै हो । बिरामी बाँच्दैन भन्ने निश्चित जस्तै छ तर सास छउन्जेल आस भन्छन् उपचार गराउनै प¥यो । बिना उपचार बस्दा समाजको डर छ । प्रशासनको डर छ । लोकले कुरा काट्छन् । कुरा काट्नका लागि पूरा समाज नै हाजिर छ । संसारमा सबै कुराको कमी हुन्छ कुरा काट्ने मानिसको कमी हुन्न । रामको पालामा पनि थियो, कृष्णको पालामा पनि थियो । सत्यमा थियो, त्रेतामा थियो, द्वापरमा थियो । कलिमा त्यसको ब्याजसमेत थपिएर आएको छ । लोकापवाद मेटाउन पनि उपचार गराएका हुन्छन्, गराउनुपरेको हुन्छ । तैपनि बिरामी बाँचेन । 

परिवारका लागि, स्वयं बिरामीका लागि पनि यो समाधान भयो तर तपाईँका लागि यो समाधान न सुखद रह्यो न दुःखद नै । सुख यस अर्थमा कि बिरामीको झण्झट समाधान भयो । दुःख यस अर्थमा कि उपचारका नाममा घरबासै सकियो । त्यसैले यो पनि प्रकारान्तरले तटस्थ नै भयो । योगीको जस्तो त होइन तैपनि यो पनि एक किसिमले तटस्थ नै हो । 

त्यसैगरी मानिलिनुस् तपाईँ कुनै संस्थाको जागिरे हुनुहुन्छ । संस्था जुन पनि हुन सक्छ, बैङ्क, वित्तीय संस्था, सरकारी कार्यालय, उद्योग, कलकारखाना यस्तैयस्तै । कार्यालयले नाफा कमाउन सकेन, घाटामा गयो । तैपनि तपाईँलाई त्यसले कुनै फरक पारेन । तपाईँले पाउनुपर्ने तलब भत्ता पाउनुभयो । यो पनि एक किसिमले तपाईँका निम्ति तटस्थ समाधान नै हो । कार्यालय प्रमुखले, उद्योग मालिकले, बैङ्क सञ्चालकले कार्यालय चलाउने तरिका जानेनन् त्यो एउटा समस्या थियो । यसबाट घाटा खानुपर्ने अवस्था आयो । यो सो समस्याको समाधान हो तर तपाईँलाई कुनै फरक परेन । त्यसैले तपाईँका निम्ति यो पनि तटस्थ समाधान हुन पुग्यो । 

हुन सक्छ उनीहरूले चलाउने तरिका सिके । कार्यालय नाफामा गयो तर यसले पनि तपाईँलाई कुनै फरक परेन । तपाईँले तलब भत्ता बापत जति पाउँदै आउनुभएको थियो त्यति नै पाउनुभयो । यो पनि तपाईँका निम्ति तटस्थ समाधान नै हुन पुग्यो । अफिसमा जुन समस्या थियो, जसको कारण फाइदा कमाउन सकेको थिएन । त्यो एउटा समस्या थियो । त्यसलाई हटाइयो त्यो समाधान भयो तर त्यही समाधान तपाईँका निम्ति केही पनि भएन । त्यसैले यो तटस्थ समाधान हुन पुग्यो ।

त्यस्तै मानिलिनुस् कुनै जहाज दुर्घटना भयो । जहाज जुन पनि हुन सक्छ । हवाई जहाज, पानी जहाज । दुर्घटना भयो । ठुलै जनधनको क्षति भयो । यहाँ चलाउन नजान्नु, आँधी, हुरी, दैवी विपत्ति आदिका कारण यस्तो भएको थियो । यतिबेला ती समस्या थिए । तिनका समाधान दुर्घटना थियो । दुर्घटना भएपछि मात्र ती समस्या समाधान भएका थिए । त्यसैले त्यो पनि समाधान नै भए तर यसबाट तपाईँलाई केही पनि भएन । त्यसैले तपाईँका निम्ति यो पनि तटस्थ समाधान नै भए । 

त्यसैगरी कतै चट्याङ प-यो, कसैका घरमा आगलागी भयो । अर्थिङ नराखेका कारण, आगोलाई सुरक्षित राख्न नसकेका कारण यस्तो भएको थियो । त्यसैले यो पनि समस्या नै थियो भने आगलागी हुनु, चट्याङ पर्नु त्यसको समाधान थियो तर यसले तपाईँलाई भने फरक परेन । त्यसैले तपाईँका निम्ति यो पनि तटस्थ समाधान नै हुन पुग्यो । एवंरीतले केलाउँदै जानुभयो भने तटस्थ समाधानका यस्ता अनगिन्ती उदाहरण पाउन सक्नुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप