मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

के सरकारको विकल्प खोज्दैछन् उपेन्द्र यादव ?

मङ्गलबार, १४ कात्तिक २०८०, १४ : १२
मङ्गलबार, १४ कात्तिक २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति असन्तुष्ट रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको विकल्पका बारेमा कुराकानी सुरु गरेका छन् ।

सरकारले गौर घटनाको फाइल खोल्ने भएपछि जसपा अध्यक्ष यादव र प्रधानमन्त्री प्रचण्डबिच दुरी बढेको हो । आपसमा दुरी बढेसँगै जसपा अध्यक्ष यादवले सार्वजनिक रुपमै सरकारको काम कारबाहीका बारेमा असन्तुष्टि जनाउँदै आएका छन् ।

सोमबार बसेको जसपा कार्यकारिणी समिति बैठकमा अध्यक्ष यादवले सरकारको आलोचना गरेका छन् । बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनको सरकार भए पनि प्रधानमन्त्री प्रचण्डले जथाभावी काम गरिरहेको यादवको आरोप थियो ।

सरकारले चुरेमा गिट्टी, बालुवा उत्खनन् गरी निकासी पैठारीको निर्णय गरेकोमा पनि अध्यक्ष यादवले आपत्ति जनाएका छन् । ती नेताका अनुसार बैठकमा अध्यक्ष यादवले भने, ‘मैले प्रधानमन्त्री प्रचण्डलाई भेटेरै यो निर्णय नगर्नुस् भन्दाभन्दै उहाँले मान्नु भएन, त्यसको बारेमा निर्णय गर्नुभयो ।’

त्रिविका कुनै प्राध्यापकले प्रधानमन्त्री प्रचण्डलाई चुरे उत्खनन् गरे पनि केही असर नपर्ने भनिदिएका कारण सरकारले त्यसरी उत्खननका लागि निर्णय गरेको अध्यक्ष यादवको भनाइ थियो ।

बैठकमा सहभागी कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादवले सरकारले गिट्टी बालुवा बेच्ने विषयमा जसपाको असन्तुष्टि रहेको प्रस्ट पारे । त्यसबाहेक अरु कुनै विषयमा सरकारप्रति जसपाको अन्तुष्टि नरहेको उनले दाबी गरे ।

उनले भने, ‘हाम्रो पार्टीका अध्यक्षजीको एउटै असन्तुष्टि हो, चुरे उत्खनन्, सरकारले चुरे उत्खनन् गरी निर्यात गर्ने विषयमा उहाँले असन्तुष्टि जनाउँदै आउनु भएको छ, तर यो सरकारको विषय, त्यसको विकल्पको बारेमा केही पनि छैन । चुनावसम्म गठबन्धनकै सरकार रहन्छ ।’

तर जसपाकै अर्का एक जना नेता भन्छन्, ‘यो सरकारको काम छैन, जनतालाई डेलिभरी दिन सकेको छैन, आर्थिक अवस्था दिनदिनै खस्किँदै गइरहेको छ । यस्तो सरकारलाई काँध थापिरहनु आवश्यक छैन ।’

अध्यक्ष उपेन्द्र यादव भारत र अमेरिकाको भ्रमण सकेर फर्किएपछि एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका नेताहरुको नियमित सम्पर्कमा छन् । अध्यक्ष उपेन्द्र यादवले कोशी र मधेस प्रदेशमा एक अर्कालाई सहयोग पनि गरेका छन् । मधेस प्रदेशमा एमालेले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिएको छ भने कोशी प्रदेशमा जसपाले पनि एमालेको समर्थन रहेको सरकारलाई विश्वासको मत दिएको छ ।

जसपा स्रोतका अनुसार अध्यक्ष यादव र एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच नियमित संवाद भइरहेको छ । तर दुवै पार्टीमध्ये कुनैले पनि यो कुरा सार्वजनिक गर्न चाहेका छैनन् । पार्टीका प्रवक्ता मनिष सुमन भने वर्तमान सरकारको विकल्प नरहेको र त्यसबारे आफ्नो पार्टीले सोच्न पनि नसक्ने प्रतिक्रिया दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप