शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

जाजरकोट भूकम्प : देश दुख्दा अभूतपूर्व एकता

राज्य संयन्त्र भूकम्प प्रभावित क्षेत्र केन्द्रित, प्रवासी नेपालीको पनि मलहम
शनिबार, १८ कात्तिक २०८०, १८ : ५२
शनिबार, १८ कात्तिक २०८०

काठमाडौँ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति भएपछि राज्यका निकायहरू प्रभावित क्षेत्र केन्द्रित भएका छन् । भूकम्पको पीडामा रहेका नागरिकलाई सहयोग गर्न राजनीतिक दल, संघसंस्था र प्रवासी नेपालीदेखि सरोकारवाला निकायबिच अभूतपूर्व एकता देखिएको छ । 

शुक्रबार रातिको भूकम्पबाट जाजरकोट र पश्चिम रुकुममा मृत्यु हुनेको सङ्ख्या शनिबार साँझसम्म १५७ जना पुगेको छ । मृतकमा ९९ महिला र ५८ पुरुष रहेका छन् । विवरणअनुसार जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ भने रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । यस्तै जाजरकोट, रुकुम पश्चिम, दैलेख र  जुम्लामा गरी कुल १६६ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जना डिस्चार्ज हुँदा १६१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

सुरक्षाकर्मी परिचालन जाजरकोट भूकम्पपछि घटनास्थलमा उद्धारका लागि ८५९ जना प्रहरी परिचालन गरिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार भूकम्पले सबैभन्दा बढी प्रभावित जाजरकोट र रुकुम पश्चिममा कुल ८५९ जना जनशक्ति परिचालन गरिएको हो । कार्यालयका अनुसार जाजरकोटबाट ४५०, रुकुम पश्चिमबाट ३२०, प्रदेश प्रहरी कार्यालय र गण सुर्खेतबाट ३९, चौरजहारी बेस क्याम्पबाट २०, नेपाल प्रहरी अस्पतालका चिकित्सक ११, सल्यानबाट १० र इप्रका बादेपिपल सुर्खेतबाट ९ जना जनशक्ति परिचालन गरिएको छ । 

आवश्यकताअनुसार थप प्रहरी परिचालन गर्न सकिने पनि प्रहरीको भनाइ छ । हालसम्म भूकम्पबाट १३८ जनाको मृत्यु र १६६ जना घाइते भएका छन् । 

यसैगरी खोज तथा उद्धारको लागि जाजरकोट र पश्चिम रुकुममा ३ सय ६७ जना सशस्त्र प्रहरी कर्मचारीहरू परिचालन भएका छन्। 

यसैगरी जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित क्षेत्रमा परिचालित नेपाली सेनाको फौजले खोज तथा उद्धार कार्य जारी राख्दै घाइतेहरूलाई हेलिकोप्टरद्वारा थप उपचारको लागि सुर्खेत तथा नेपालगन्जका अस्पतालमा ल्याउने कार्य गरेको छ।  

दलहरूका सार्वजनिक कार्यक्रम स्थगित

भूकम्पपछि प्रमुख दलहरूले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् । एमाले र माओवादी केन्द्रले शनिबारको कार्यक्रम स्थगित गर्दा कांग्रेसले तिहारसम्मकै लागि औपचारिक कार्यक्रम स्थगित गरेको छ।  सत्ताको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रले शनिबारका लागि निर्धारण गरेको शुभकामना आदानप्रदान, चियापान तथा अन्य उत्सवमय कार्यक्रमहरू स्थगित गरेको छ । 

एक नेता नेताका अनुसार सङ्कटको यस घडीमा पार्टीको कर्णाली प्रदेश कमिटीलगायत भूकम्प प्रभावित जिल्लाका सम्पूर्ण कमिटीहरू जवस/मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई खोज, उद्धार एवं राहतमा सक्रियतापूर्वक सहयोग गर्न निर्देशन दिइएको छ । 

यसबारे एक सर्कुलर नै जारी गर्दै केन्द्रीय कार्यालयले मातहतका कमिटीलाई निर्देशन दिएको बताइएको छ । माओवादीले भूकम्पमा परी ज्यान गुमाएका मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तहरूमा गहिरो समवेदना व्यक्त गरेको छ ।  त्यसै गरी सम्पूर्ण घाइतेहरूको उचित उपचारको माग गर्दै शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । 

यसैगरी नेपाली कांग्रेसले जाजरकोट भूकम्पका कारण सिर्जित परिस्थितिका कारण तिहारअघिका पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ।  तर, महासमिति सदस्य चयनको आन्तरिक कार्यक्रम भने जारी रहने पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । 

‘पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न आवश्यक रहेकोले केन्द्र, प्रदेश हुँदै पालिका स्तरसम्म पार्टीले आयोजना गर्न लागेका पूर्व निर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरिएको छ । यो निर्णयलाई आ–आफ्नो तहमा कार्यान्वयन गर्नु–गराउनु हुन नेपाली कांग्रेस निर्देश गर्दछ’, पौडेलको विज्ञप्तिमा भनिएको छ।  

 भूकम्पका कारण ठुलो सङ्ख्यामा भएको मानवीय तथा भौतिक क्षति र सयौँको सङ्ख्यामा आम नागरिकहरू घाइते भएको घटनाले सम्पूर्ण नेपालीलाई नै शोक विह्वल र स्तब्ध बनाएको भन्दै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न सबैमा अपिल समेत गरेको छ । यस्तै रास्वपा राप्रपालगायतले पनि पीडितको पक्षमा उद्धार र राहतमा आफ्नो पक्षबाट पहल थालेका छन् । 

भूकम्पपछि सरकारी पहल

जाजरकोट भूकम्पपछि सरकारले भूकम्पपीडितको उद्धार, उपचार र राहतबारे विभिन्न निर्णय गरेको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय, भौतिक योजना मन्त्रालय, संघीय मामिला मन्त्रालय, नेपाली सेना र मातहतका सुरक्षा तथा उद्धार निकायको प्रतिनिधित्व भएको सरोकारवालाहरूको आकस्मिक बैठकले विभिन्न निर्णय गरेको हो । 

जसअनुसार भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामा खोज, उद्धार राहत तथा उपचारलाई पहिलो प्राथमिकता दिइने भएको छ ।  गृहमन्त्री श्रेष्ठका अनुसार घाइतेको तत्काल औषधि–उपचारका लागि आवश्यक औषधी तथा विशेषज्ञ चिकित्सकसहितका जनशक्ति तत्काल परिचालन गर्ने र उपचारका लागि स्वास्थ्य जनशक्ति सुर्खेत, नेपालगञ्ज र काठमाडौँमा तयारी अवस्थामा राख्ने निर्णय भएको छ ।  सो कार्यको नेतृत्व तथा व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने निर्णय भएको छ । 

यसैगरी प्राथमिक राहत व्यवस्थापनका लागि खानपान, अस्थायी आवास (टेन्ट, त्रिपाल, कम्बल, म्याट्रेस, स्लीपिङ ब्याग आदी) सुर्खेत, नेपालगञ्ज र काठमाडौँमा रहेका भण्डारणबाट भूकम्प प्रभावित जिल्लाको आवश्यकताका आधारमा तत्काल वितरण तथा परिचालन गर्ने निर्णय भएको छ । 

यस्तै तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी जाजरकोट र रुकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषमा ५–५ करोड रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पठाउने निर्णय भएको पनि श्रेष्ठले बताए । 

यसैगरी सुरक्षा फौजबाट विपद् उद्धारका लागि आवश्यक सामाग्री सहितका जनशक्ति खटाइएकोमा सशस्त्र प्रहरी बल नेपालबाट उद्धार तथा व्यवस्थापनको लागि विशेष तालिम प्राप्त टोली पठाउने निर्णय पनि भएको छ । 

खोज उद्धार र सहयोगका लागि विदेशी राष्ट्र तथा नियोगबाट प्राप्त प्रस्तावप्रति धन्यवाद व्यक्त गर्दै थप सरकारले विवरण र क्षतिका आधारमा आवश्यकताअनुसार सहयोगका लागि अनुरोध गर्ने निर्णय गरेको छ । 

भूकम्पपछि प्रधानमन्त्री प्रचण्ड शनिबार बिहानै प्रभावित क्षेत्रमा पुगेका थिए । त्यहाँ पुगेर उनले प्रभावित क्षेत्रको निरीक्षण गर्नुका साथै राहत र उद्धारमा कुनै कमी आउन नदिन निर्देशन दिएका छन् । 

पीडित बनेकाहरूको राहत र उद्धारका लागि राज्यले आफ्नो कर्तव्य सफलतापूर्वक निर्वाह गरेको बताएका छन् । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमको निरीक्षणपछि नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘आज म आफै गएर भूकम्पबाट मुख्य प्रभावित जिल्लाहरूको निरीक्षण गरेँ । हताहत र घाइतेको सङ्ख्या ठुलो रहेको छ भने हजारौँ घरमा क्षति पुगेको छ । म जाँदा डाक्टरहरू तथा स्वास्थ्य सामग्रीहरू सँगै लिएर गएको थिएँ । केही घाइतेहरूलाई आफैँले हेलिकप्टरबाट उद्धार गरेर ल्याएँ । राज्यले जे गर्नुपर्थ्यो, त्यो गरिएको छ ।’ कर्णाली प्रदेश पीडामा डुब्दा अन्य प्रदेशहरूले पनि आर्थिक तथा अन्य किसिमको सहयोगको निर्णय गरेका छन् । 

गैरआवासीय नेपालीको साथ

साथसाथै राहत सङ्कलन र सहयोगमा गैरआवासीय नेपालीहरू समेत सक्रियताका साथ लागिपरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) र प्रवासी नेपालीसँग सम्बन्धित संघ संस्थाहरूले दुःखको यस घडीमा सक्रियताका साथ सरकार र पीडितको पक्षमा ऐक्यबद्धता जनाएका हुन् । 

घटनापछि दुःख व्यक्त गर्दै तीन भागमा विभाजित गैरआवासीय नेपाली संघले समेत छुट्टाछुट्टै सहयोगको घोषणा गरेका छन् । यस्तै शेष घले नेतृत्वको एमआइटी ग्रुप फाउण्डेशन, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति कतार, माल्टा, यूएईसहित विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरूको संघ संगठनले दुःखको यस घडीमा आफूहरू सहयोग गर्न तत्कार रहेको सन्देश दिएका छन् । कतिपय संघ संगठनले आर्थिक सहयोगको घोषणा गर्दै राहत वितरणमा पनि तदारुकता देखाएका छन् भने कतिपयले क्षतिको विश्लेषण गरेर छिट्टै सहयोग दिने प्रतिबद्धता जनाएका छन् । यसले प्रवासी नेपालीहरू कतिपय मुद्दामा आपसमा विभाजित भए पनि देशलाई पर्दा मातृभूमिको सेवामा उपलब्ध हुन्छन् भन्ने सन्देश प्रवाह भएको छ । 

बद्री केसी  र आरके शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर भूकम्प पीडितलाई सहयोगको घोषणा गर्दै प्रभावित क्षेत्रमा राहत लिएर  जाने जानकारी गराएको छ । अध्यक्ष डा बद्री केसी र महासचिव गौरीराज जोशीले शनिवार एक विज्ञप्ति जारी गर्दै संघको तर्फबाट पहिलो चरणमा सरकारको राहत कोषमा तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ । विज्ञप्तिमा जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति  गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको खबरले गैरआवासीय नेपाली संघ अत्यन्त दुखित भएको उल्लेख छ  ।   

गैरआवासीय नेपाली संघ भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्निर्माणमा सदा झैँ सरकारसँग सहकार्य गर्न तत्पर रहेको जानकारी गराउँदै विज्ञप्तिमा संघको तर्फबाट पहिलो चरणमा सरकारको राहत कोषमा तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यसैगरी १ करोड १० लाख रुपैयाँको राहत कोष पनि बनाउने अर्को निर्णय भएको छ ।

यसैगरी अर्का अध्यक्ष आरके शर्मा र महासचिव बुद्धि सुवेदीले जारी गरेको विज्ञप्तिमा भूकम्पपछि भएको धनजनको क्षति प्रति दुःख व्यक्त गर्दै सरकारले सुरु गरेको राहत कोषमा एनआरएन अभियन्ताहरूबाट सङ्कलन गरेर २१ लाख रुपैयाँ जम्मा गर्न लागिएको उल्लेख छ । यस्तै शनिबार साँझ बसेको बैठकबाट थप १० करोडको कोष बनाउने निर्णय पनि भएको छ ।

शर्माले भने, ‘एनआरएनको आपत्कालीन कोष भए पनि हामीले उक्त कोषबाट एक पैसा पनि नचलाई सबै अभियन्ताबाट सङ्कलन गरेर यो रकम जम्मा गर्ने छौँ ।’ साथै थप राहत तथा उद्धारका लागि एनआरएन तयार रहेको पनि अध्यक्ष शर्माले जानकारी दिए । घटनास्थलमै पुगेर एनआरएनले उद्धारमा सहभागिता जनाउने बताउँदै उनले त्यसका लागि केही व्यक्तिहरू शनिबार नै गएको र आफूसहित थप व्यक्ति चिकित्सकीय टोली छिट्टै त्यता जाने जानकारी दिए । 

यस्तै केसी नेतृत्वको एनआरएनएका महासचिव जोशीले पनि भूकम्पले घरबारविहीन भएकाहरूलाई त्रिपाल, खाद्यान्न, लत्ताकपडालगायतका सामाग्री सहयोग गर्न संघको एक टोली जाजरकोटतर्फ जान थालेको जानकारी दिए।

यसैगरी विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ पनि जाजरकोट भूकम्पबाट प्रभावितको राहत तथा उद्धार कार्यमा संलग्न हुने भएको छ । संघका अध्यक्ष विनोद कुँवरले शनिबार एक विज्ञप्ति जारी गर्दै विश्वभर फैलिएर रहेका राष्ट्रिय समन्वय परिषद्हरू तथा सहयोगी मनहरूलाई यस कार्यमा सहयोग गर्न संघ अपिल गरेका छन् । 

‘यस दुःखद घडीमा गैरआवासीय नेपाली संघ अन्य सहयोगी संस्थाहरुको सहकार्यमा स्थलगत अध्ययन गरी के कस्ता सहयोग तथा उद्धार गर्दा बढी प्रभावकारी हुनुका साथै स्थानिय आवश्यक्ता पूरा गर्न सकिन्छ सोहि अनुसार राहत तथा उद्धार कार्यमा संलग्न हुनेछ र विश्वभर फैलिएर रहेका राष्ट्रिय समन्वय परिषद्हरू तथा सहयोगी मनहरूलाई यस कार्यमा सहयोग गर्न संघ अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । 

विज्ञप्तिमा भूकम्पमा परि निधन भएका सम्पूर्ण प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

यसैगरी अर्बपति व्यापारी तथा एमआइटी ग्रुप फाउण्डेशन संस्थापक अध्यक्ष डा शेष घलेले भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेका छन् । गैरआवासीय नेपाली समेत रहेका घलेले शनिबार एक विज्ञप्ति जारी गर्दै एमआइटी ग्रुप फाउण्डेशनले प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरी क्षतिको आँकलन गर्ने जनाएका छन् । त्यसपछि कस्ता अल्पकालीन तथा दीर्घकालीन उद्धार, राहत तथा सहयोग कार्य गर्दा बढी प्रभावकारी तथा दिगो हुन्छ सोहीअनुसार स्थानीयहरूका प्राथमिकताका आधारमा राहत तथा उद्धार कार्यमा संलग्न हुने जनाएका छन् । 

यसैगरी एनआरएनए माल्टाले पनि जाजरकोट  भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ । एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनालले शनिबार पीडितलाई आफ्नो र संस्थाको तर्फबाट १ लाख सहयोग गर्ने जानकारी गराएका हुन् । यसैगरी एनआरएनए कतारले पनि जाजरकोट  भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ । एनआरएनए कतारका अध्यक्ष रमेश भट्टले शनिबार विज्ञप्ति जारी गर्दै  कतारमा स्थापित सम्पूर्ण संघ–संस्थाहरुसँग समन्वय एवं नेपाली राजदूतावास कतारसँग सहकार्य गरेर नेपाल सकारलाई छिट्टै सहयोग गर्ने प्रतिबद्धता  जनाएका हुन् । 

‘गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार मातृभूमिमा परेको हरेक समस्यामा सदा झैँ सहयोग गर्न प्रतिबद्ध रहेकोले भूकम्पबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतको लागि कतारमा स्थापित सम्पूर्ण संघ–संस्थाहरु सँग समन्वय एवं नेपाली राजदूतावास कतार सँग सहकार्य गरेर नेपाल सकारलाई छिट्टै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप