शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनएद्वारा १० करोडको राहत कोष बनाउने घोषणा, अध्यक्ष शर्माले रु २१ लाख प्रदान गर्ने

संस्थापनको पनि १ करोड १० लाख रुपैयाँको राहत कोष
शनिबार, १८ कात्तिक २०८०, २२ : ३२
शनिबार, १८ कात्तिक २०८०

काठमाडौँ । आरके शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)  ले १० करोडको आपतकालीन राहत तथा उद्धार  कोष बनाउने घोषणा गरेको छ । त्यसका लागि अध्यक्ष शर्माले आफ्नो व्यक्तिगत तर्फबाट २१ लाख रुपैयाँप्रदान गर्ने घोषणा गरेका छन्। 

शुक्रबार राति जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्पबाट पीडित नेपालीहरुलाई तत्काल सहयोग गर्ने उद्देश्यले आयोजित पहिलो बैठकमै झन्डै एक करोड रुपैयाँ बराबरको सहयोग जम्मा भएको छ।
 जूम माध्यमद्वारा आयोजित बैठकमा बोल्दै  अध्यक्ष शर्माले नेपालमा भूकम्प, बाढी, पहिरो तथा कोभिड महामारीको बेलामा संसार भरिका नेपालीहरुले दिल खोलेर सहयोग गरेको स्मरण गरे।  उनले तीनै तहका सरकारसंग समन्वय गरी पछिल्लो भूकम्पबाट पीडित नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सक्दो सहयोग गर्न आफुहरुले काम गर्ने बताए।

उक्त कोषका लागि महासचिव बुद्धि सागर सुवेदी ले रु १९ लाख, कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले रु १७ लाख, पूर्व अध्यक्ष कुल आचार्यले रु ५ लाख ५ हजार ५५५, उपाध्यक्ष खगेन्द्र न्यौपाने, युवा उपाध्यक्ष अब्दुल बशिद तथा सचिव लोक दाहालले जनही ५ लाख रुपियाँ, उपाध्यक्ष  गोविन्द श्रेष्ठ ुरोविन्दु ले ३ लाख, कृष्ण जीवि पन्थ ले रु २ लाख १११   सहयोग प्रदान गर्ने घोषणा गरेका छन्।  त्यस्तै उपाध्यक्ष डा केशव  पौडेल, उपाध्यक्ष गंगाधर गौतम, सचिव  दयानिधि सापकोटाले जनही एक लाख रुपैयाँ प्रदान गर्ने जनाए। 

एनआरएनए आइसीसीका कोषाध्यक्ष ठाकुर ढुंगानाले आइतबार सम्ममा बैंक खाता खोली सबैलाई जानकारी गराउने बताए।  

कार्यक्रमको संचालन गरिरहेका महासचिव बुद्धिसागर सुवेदीले सबै सहयोगदाताहरुलाई धन्यवाद दिंदै नेपालीलाई विपद परेको बेला मन खोलेर सहयोग गर्न अपिल गरेका थिए।  १० करोडको कोष आउँदो दुईवर्षसम्म अन्य मानवीय कार्यमा पनि प्रयोग हुनेछ । 

यसैबीच बद्री केसी अध्यक्ष रहेको संस्थापन पक्षीय गैरआवासीय नेपाली संघको तर्फबाट पनि तत्कालका लागि १ करोड १० लाख रुपैयाँको राहत कोष स्थापना गरिको छ ।   

अन्तर्राष्ट्रिय समन्वय परिषद्को आकस्मिक बैठकले १० लाख रुपैयाँ तत्काल सरकारको राहत कोषमा उपलब्ध गराउने र बाँकी १ करोडको राहतका सामाग्री लिएर  प्रभावित स्थानमा जाने निर्णय भएको छ । अध्यक्ष डा बद्री केसीको संयोजकत्वमा राहत वितरण समिति गठन गरि पहिलो चरणमा जाजरकोट र रुकुम पश्चिमका ४०० परिवारका लागि प्रति परिवार रु १० हजारका दरले खाद्यन्न तथा लत्ताकपडा वितरण गरिने बताइएको छ । ११ औँ महाधिवेशनपछि एनआरएनएमा नेतृत्वको विवाद रहेकाले छुट्टाछुट्टै कोष बनाइएको हो । यसैबीच विनोद कुँवर नेतृत्वको एनआरएनए र आरके शर्माको एनआरएनएबीच एकताका लागि छलफल सुरु भएको बताइएको छ । त्यसका लागि उच्चस्तरीय छलफल थालिएको शनिबारकै बैठकमा जानकारी दिइयो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप