शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल चेम्बर अफ कमर्स र इण्डियन चेम्बर अफ कमर्सबिच समझदारी

शनिबार, १५ वैशाख २०८१, २१ : १४
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र इन्डियन चेम्बर अफ कमर्स तथा मिलेनियल चेम्बर अफ कमर्सबिच आर्थिक र व्यापारिक क्षेत्रमा सहकार्यको समझदारी भएको छ । नेपालमा आइतबारदेखि सुरु हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनको पूर्वसन्ध्यामा नेपाल र इन्डियाका चेम्बर अफ कमर्सबिच दुई पक्षीय लगानी एवं व्यापार सहजीकरणबारे छलफल भएको हो ।

नेपाल चेम्बर अफ कमर्सको निमन्त्रणमा इन्डियन चेम्बर र मिलेनियल चेम्बर अफ कमर्सका पदाधिकारीहरू एवं व्यावसायिक प्रतिनिधिमण्डल नेपाल आएका हुन् । दुवै चेम्बरका पदाधिकारीलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले जमलस्थित चेम्बर भवनमा स्वागत गरेका थिए ।

अन्तर्राष्ट्रिय लगानी सम्मेलन अघि दुवै देशका चेम्बर पदाधिकारीहरुबिच नेपालमा लगानीको वातावरण, कानुनी पाटो लगायतका विषयमा छलफल भएको थियो । चेम्बर अध्यक्ष अग्रवालले नेपालमा रहेको श्रमशक्ति, मूल्य, प्रतिफलको सुनिश्चितता लगायतका कारण लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताए । 

अध्यक्ष अग्रवालले भने, ‘दुई मुलुकबिचको आर्थिक सम्बन्ध र अर्थतन्त्रका विभिन्न  आयाममा छलफलमा लागि आजको कार्यक्रम विशेष छ, भन्ने मैले ठानेको छु । हामी निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकाले नेपाल भारत आर्थिक सम्बन्ध हाम्रो मुख्य चासो हो, ।’ 

नेपालबाट निर्यात जन्य वस्तुहरूको उत्पादन वृद्धि, भन्सार सहजीकरण, जस्ता विषयमा भारतीय निजी क्षेत्रसँग सहकार्य गर्न नेपाल चेम्बर अफ कमर्स सदैव तयार रहेको अध्यक्ष अग्रवालले बताए । 
अध्यक्ष अग्रवालले पर्यटन, जलविद्युत, प्राकृतिक श्रोत, साना तथा मध्यम खाले उद्योगमा लगानीको प्रशस्त सम्भावना रहेकोमा जोड दिए ।

 चेम्बरसँगको छलफलमा इन्डियन चेम्बर अफ कमर्सका पदाधिकारीले अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा आमन्त्रण गरेकोमा चेम्बरलाई धन्यवाद दिएका थिए । चेम्बर अफ कमर्ससँग मिलेर नेपालमा लगानी गर्न आफूहरू इच्छुक रहेको र सहजीकरणका लागि आग्रह गरेका थिए । खास गरी ऊर्जा, पर्यटन लगायतका क्षेत्रमा लगानीका लागि आफूहरू इच्छुक रहेको मिलेनियल चेम्बरका अध्यक्ष अनिल त्रिगुनायतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप