बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

'जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सरकार गम्भीर छैन'

आइतबार, १९ कात्तिक २०८०, १६ : ३१
आइतबार, १९ कात्तिक २०८०

काठमाडौँ । जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत विज्ञ तथा सरोकारवालाले सरकार जलवायु परिवर्तनको असर न्यूनीकरण गर्नमा गम्भीर रुपमा नलागेको गुनासो गरेका छन् ।

आइतबार न्युज एजेन्सी नेपालले गरेको संयुक्त राष्ट्रसंघका महासचिव  एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र जलवायु परिवर्तनको सवाल सम्बन्धी कार्यक्रममा बोल्दै उनीहरुले जलवायु परिवर्तनको विषय विकास, राजनीति र कूटनीतिको संगम भएपनि सरकारले यसलाई गम्भीर रुपमा लिन नसकेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै युएनडिपीका सहायक आवासीय प्रतिनिधि विजय सिंहले नेपाल जस्तो देशले कुनै गल्ती नगरेको भएपनि जलवायु परिवर्तनको असर भोग्नुपरेको बताए । उनले यसको क्षति न्यूनीकरण गर्नको लागि सरकार गम्भीर रुपले लाग्नुपर्ने धारणा राखे । उनले विश्वका ठूला मुलुकले गरेको कार्बन उत्सर्जनका कारण नेपालको पर्वतीय श्रृङ्खलाहरुले जोखिम र क्षति व्यहोर्नु परेको उल्लेख गर्दै त्यसको हानी नोक्शानीको परिपुरण ठूला देशहरुले नै व्यहोर्नुपर्ने बताए । उनले नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सानो तयारीले नपुग्ने बताए । 

सिंहले सरकारले महासचिव गुटेरेसको प्रतिवद्धतालाई निरन्तर अनुगमन गर्न आवश्यक रहेको बताए । महासचिव गुटेरेसले नेपालको हिमालको विषयमा आगामी जलवायु सम्मेलनमा बोल्न सक्ने भएकोले नेपालले आफ्नो पाजिसन पेपरमा यो विषय स्पष्ट राख्नुपर्ने उनले बताए ।

यस्तै, अमेरिकाका लागि नेपालका पूर्वराजदूत तथा जलवायु परिवर्तन सम्बन्धी क्षेत्रका जानकार डा. अर्जुन कार्कीले जलवायु परिवर्तनले जनजीवनमा पारेको प्रभाव तथा खेती प्रणाली र अन्नपात उब्जनीमा परिरहेको प्रभावकै बारेमा आवाज उठाउनुपर्ने धारणा राखे । उनले जलवायु परिवर्तनको विषय राजनीतिक, विकास र कूटनीतिको संगम भएको बताए । उनले संयुक्त राष्ट्रसंघका महासचिवले नेपालले जलवायु परिवर्तनका कारण हानी र नोक्सानी व्यहोरिरहेको उल्लेख गरेको भन्दै सो विषय आगामी नोभेम्बरमा हुने कोप २८ मा उठ्ने विश्वास पनि व्यक्त गरे ।

यस्तैगरी, जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएका जलवायु तथा वातावरणविद् उगान मानन्धरले जलवायु परिवर्तन सम्बन्धी स्पष्ट नीति भएपनि कार्यान्वयनमा चुनौती रहेको बताए । उनले नेपाल सरकारले जलवायु परिवर्तनको विषयलाई मुख्य बनाएर काम गर्न नसकेको बताए । अझै पनि विश्वका ठूला राष्ट्रहरुले जलवायु परिवर्तनलाई विषय नै बनाउन तयार नरहेको भन्दै उनले यसबाट नेपालले भोग्नुपरेको हानी नोक्सानीलाई मुख्य प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिए  । 

उनले महासचिव गुटरेसले नेपालको पक्षमा आवाज उठाइदिएकाले सजिलो भएको भएपनि अन्तर्राष्ट्रिय सहायता आउने क्रम कम हुँदा जलवायुको विषय अझै ओझेलमा पर्न सक्ने बताए । उनले यस विषयमा डोनर एजेन्सीहरुले केही काम गरेको भएपनि सरकारी तहबाट राम्रो काम हुन नसकेको बताए ।

उनले जलवायु परिवर्तनको सम्बन्धमा भइरहेका कामहरुले निरन्तरता पाउन नसकेको पनि बताए । विश्वव्यापी मन्दी र विश्वको ध्यान अन्य विषयहरुमा केन्द्रित हुँदा नेपाल जस्ता मुलुकको विषय ओझेलमा पर्न सक्नेबारे सरकार सचेत हुनुपर्ने उनले बताए ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप