बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पर्यटन

कोरोनाअघिकै सङ्ख्यामा गण्डकी घुम्न थाले पर्यटक, पर्यटन बजारमा उत्साह

मङ्गलबार, २१ कात्तिक २०८०, १२ : २२
मङ्गलबार, २१ कात्तिक २०८०

पोखरा । गण्डकी क्षेत्रमा पर्यटक आउने अन्नपूर्ण र मनास्लु क्षेत्रको ट्रेकिङका लागि हो । लाङटाङ र खुम्बु क्षेत्र जस्तै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का पदमार्गमा हिँड्नका लागि विदेशी पर्यटकहरू यहाँ आउँछन् । रेकर्ड अनुसार पोखरा आउने पर्यटक मध्ये ४० प्रतिशत भन्दा बढी ट्रेकिङका लागि जाने गर्छन् । एक्याप क्षेत्रभित्र गएको वर्ष १ लाख ७२ हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । कोरोनाअघि आर्थिक वर्ष २०७५/०७६ मा १ लाख ८३ हजार ३ सय ५८ पर्यटक एक्याप छिरेका थिए ।

२०७६/०७७ को मध्यबाट कोरोना आएका कारण त्यो वर्षपनि १ लाख ४ हजार पर्यटकले एक्याप घुमे । त्यसपछिका वर्षहरूमा भने पर्यटक आगमन निकै खस्कियो । २०७७/०७८ मा जम्मा ४ हजार ९ सय ६१ पर्यटक आए भने २०७८/०७९ मा ७५ हजार ८ सय २४ जना आए । पर्यटकको सङ्ख्या हेर्दा अचेलका महिनाहरूमा विदेशी पर्यटकको आवागमन सन्तोषजनक देखिन्छ ।

यो वर्षको वैशाखदेखि हालसम्म १ लाख १ हजार पर्यटकले भ्रमण गरिसकेका छन् । पहिलो ६ महिनाको पर्यटकको आगमन उल्लेख्य रहेको एक्यापका प्रमुख रविन कडरियाले बताए । उनका अनुसार सबैभन्दा बढी थोरङ पास गर्ने र अन्नपूर्ण आधार शिविर जाने पर्यटक छन् । ‘प्रायः थोरङ पास गर्छन् । एविसी जाने पर्यटक पनि धेरै छन्,’ उनले भने, ‘फाट्टफुट्ट अरु पदमार्गमा जानेपनि छन् । तर धेरैको रोजाइ यही दुईवटा ट्रेक हो ।’ लमजुङबाट मनाङ हुँदै मुस्ताङ निस्किने ट्रेकमा पर्छ थोरङ पास ।

अघिल्लो वर्षको तथ्याङ्क अनुसार ट्रेकिङ रुटमध्ये अन्नपूर्ण सर्किटमा २८ हजार १ सय ५२ पर्यटक पुगेका छन् । बेसक्याम्प ट्रेकमा २३ हजार ७७ पर्यटक गएका छन् । जोमसोम मुक्तिनाथमा ८५ हजार ५ सय ७७ पर्यटक पुगेका तथ्याङ्क छ । तर यहाँ ट्रेकसँगै गाडीबाट समेत पर्यटक जान्छन् । धम्पुस, मर्दी हिमाल, खारपानी, माछापुच्छ्रे मोडल ट्रेक, घोरेपानी, पुनहिल ट्रेक, घलेगाउँ, सिक्लेस लगायत ट्रेकमा जानेहरू पनि अचेल बढ्न थालेका छन् ।

एविसी चाहिँ कास्कीको बीरेठाँटीबाट घान्द्रुक, पुनहिल, घोरेपानी हुँदै आधार शिविर जाने प्रचलन छन् । कोरोना सङ्क्रमणका कारण २ वर्ष ठप्प जस्तै भएको पर्यटक आगमन बढ्न थालेपछि पर्यटकीय गन्तव्यहरू गुल्जार बन्न थालेका छन् । पर्यटकको सङ्ख्या बढ्दै गए पनि उनीहरूको बसाइँ भने पहिलेजस्तो लामो अवधिका लागि छैन । अन्नपूर्ण सर्किटमा पदमार्गबाटै गाडी चल्न थालेपछि रुट छोटिएको छ । केही पर्यटक हिँडेरै डुल्ने गर्छन् । तर धेरैजसो पर्यटक मनाङसम्म गाडीमा गएपछि मुस्ताङ हिँडेर निस्किन्छन् । अनि गाडी चढेरै पोखरा झर्छन् ।

२१ दिनसम्म लाग्ने अन्नपूर्ण सर्किट अहिले ३ दिनमा झरेको छ । यसको असर ठाउँठाउँमा खुलेका चिया पसल र होटल रेस्टुराँहरूमा परेको छ । गाडी पुगेपछि पर्यटक नओर्लिँदा कतिपय गाउँहरू विस्थापित नै भैसकेका छन् । यस पदमार्गमा भारत, जापान, अस्ट्रेलिया, बेलायत, जर्मनी लगायतका देशबाट बढी पर्यटक आउँछन् । एक्यापले विदेशी पर्यटकको मात्रै तथ्याङ्क राख्छ । आजभोलि विदेशीसँगै नेपाली पर्यटक पनि घुम्न निस्किन्छन् ।

यस्तै, मनास्लुको भ्रमण गर्ने पर्यटक पनि निकै बढेका छन् । उत्तरी गोरखामा पर्ने यो ट्रेकमा अक्टोबर महिनासम्म ७ हजार ८ सय पर्यटकले भ्रमण गरिसकेका छन् । सन् २०२२ मा ६ हजार १ सय २ पर्यटक त्यहाँ पुगेका थिए । यो वर्ष करिब १२ हजारले भ्रमण गर्ने अनुमान छ । ‘२ महिना अझै बाँकी छ । सिजन सकिएको छैन,’ उनले भने, ‘१२ हजार जति घुम्न आउँछन् होला ।’ मनास्लु घुम्नेहरू सार्क राष्ट्रभन्दा तेस्रो मुलुकका बढी छन् । सार्क राष्ट्रका १ सय ७८ जना मात्रै पुग्दा तेस्रो मुलुकका ७ हजार ६ सय ८४ जना पुगेका छन् । कोभिडपछि पर्यटन क्षेत्र लयमा आउन थालेको उनले सुनाए । तथ्याङ्क अनुसार सन् २०२१ मा ९ सय २५ जना मात्रै विदेशी पर्यटक त्यहाँ गएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप