प्रभावित क्षेत्रका जनप्रतिनिधिको गुनासो– ‘हिउँ परिरहेको छ, त्रिपालसम्म छैन’
काठमाडौँ । ‘भूकम्पपछि मानिस निकै त्रसित अवस्थामा छन् । घर पूर्ण रूपमा भत्किएको छ । हिउँ फुसफुस परिरहेको छ । तत्काल त्रिपालको व्यवस्था नहुँदा मानिसहरू खुला आकाशमा बस्न बाध्य छन् । प्रक्रिया झन्झटिलो भएकाले पीडितसमक्ष राहत पुर्याउन सकिएको छैन ।’
माथिको गुनासो भूकम्पको इपिसेन्टर जाजरकोट कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतको हो । शुक्रवार राति गएको विनाशकारी भूकम्पबाट कर्णाली प्रदेशको जाजरकोट र रुकुम(पश्चिम) जनधनको क्षति भएको छ ।
भूकम्पमा परी यी दुई जिल्लामा एक सय ५३ जनाको मृत्यु भएको छ । तर भूकम्प गएको चार दिनसम्म पीडितले राहत नपाउँदा चिसो आकाशमुनि पीडित बस्न बाध्य छन् । भूकम्प अति प्रभावित जिल्ला जाजरकोट र रुकुम(पश्चिम)मा तत्काल त्रिपाल र न्यानो लत्ता कपडाको व्यवस्था मिलाउन नसकिएको स्थानीय जनप्रतिनिधिले गुनासो गरेका छन् ।
पीडितलाई राहत वितरण, पुनर्स्थापना र पुनर्निर्माणमा समस्या देखिएको स्थानीय जनप्रतिनिधिहरूले गुनासो गरेका छन् । सरकारले तत्काल उद्धारको काम सम्पन्न गरेपनि पीडितहरूलाई राहत वितरण, अस्थायी वासस्थान, खाद्यान्न र लत्ता कपडाको व्यवस्थापन गर्न सकिएको छैन । राहत वितरणमा सरकारले एकद्वार प्रणाली लागु गरेपश्चात् केही व्यवस्थित भए पनि असाध्यै झन्झटिलो भएको उनीहरूले बताएका छन् ।
औपचारिकतामा जेलिएको एकद्वार नीतिले राहत वितरण प्रभावित भएको उनीहरूले गुनासो पोखेका छन् । विपद् व्यवस्थापन समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी हुने भएकाले उनले रुजु गर्नुपर्ने हुन्छ । त्यसपछि सम्बन्धित पालिकामा जाने र सम्बन्धित पालिकाले वडा वडामा सामाग्री पुर्याउन कम्तीमा १५ दिन लाग्ने जनप्रतिनिधिले गुनासो पोखेका छन् ।
भूकम्पबाट जाजरकोटको नलगाड नगरपालिकामा ५१ जना, भेरी नगरपालिकामा ४२ जना, कुसे गाउँपालिकामा ७ जना र छेडागाड नगरपालिकामा एक जनाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका, जुनीचाँदे गाउँपालिका र शिवालय गाउँपालिका भौतिक संरचनामा क्षति भएको छ ।
यस्तै रुकुम(पश्चिम)को आठविसकोट नगरपालिकामा ४४ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र बाफीकोट गाउँपालिकामा भौतिक संरचना मात्र क्षति भएको छ ।
भूकम्प अति प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग रातोपाटीले त्यहाँको भूकम्प पछिको वस्तुगत अवस्था, पीडितको समस्या र पुनर्निर्माणमा देखिएको चुनौतीबारे गरेको कुराकानी जस्ताको जस्तै प्रस्तुत गरेको छ ः
डम्बरबहादुर राउत– प्रमुख, नलगाड नगरपालिका, जाजरकोट
उपमेयरसहित ५१ जनाको अन्तिम दाहसंस्कार गरियो । घाइतेहरूको उपचारको काममा लागेका छौँ । ८ जना गम्भीर विरामीलाई प्रधानमन्त्री आएको हेलिकप्टरेमार्फत काठमाडौँ पठायौँ । अब हामी बाँचेकाहरूको उद्धार, राहत वितरण र व्यवस्थापनका लागि जुटेका छौँ । राहतको सवालमा टेन्टको समस्या छ । घरहरू पूर्णरुपमा ध्वस्त भएका छन् । बाँकी रहेका घर पनि बस्न नमिल्ने छ । पीडितहरू खुला आकाशमा सुतिरहेका छन् । सरकार, संघसंस्था वा कुनै पालिकामार्फत आएका राहत सामाग्री अपुग देखिएको छ । सोमबारसम्म ७ हाराहारीमा सिङ्गल टेन्ट आएका छन् । त्यो एउटा वडालाई धान्ने खालको छ । एउटा पालले एउटा घरलाई धान्न कठिन छ ।
वीरबहादुर गिरि– अध्यक्ष, बारेकोट गाउँपालिका, जाजरकोट
भूकम्पपछि यहाँ पुर्नवास, पुनर्निर्माणमा मुख्य चुनौती देखिएको छ । यस गाउँपालिकामा एक हजार परिवार विस्थापित भएका छन् । तिनीहरूलाई सुरक्षित आवासको व्यवस्था, खाद्यान्न, लत्ताकपडाको व्यवस्था गर्न सकिएको छैन । एक प्रकारको सामाजिक र मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ । त्यो त्रासबाट आस जगाउने कुरा गर्न सकिएको छैन । तत्काल राहत, उद्धार र क्षतिपूर्तिका कुरा गरिराखेका छौँ । एकद्वार प्रणाली भनेर देश विदेशबाट आएका राहत वितरण सदरमुकाममा केन्द्रिकृत गरेर राखिएको छ । सम्बन्धित पालिकामा तत्काल पुग्नुपर्ने राहत नपुग्दा समस्या देखिएको छ । प्रक्रियाको वरिपरि घुमिरहँदा समस्या भएको छ । म आफैले कतिपय ठाउँमा सम्पर्क र समन्वय गरेर ल्याएका राहत सदरमुकाममा रोक्ने काम भइरहेको छ ।
रत्नबहादुर खड्का– प्रमुख, छेडागाड नगरपालिका, जाजरकोट
तत्काल त्रिपालको उपलब्ध नहुँदा पीडितहरू चिसो आकाशका सुतेका छन् । उनीहरूको उद्धार, राहत वितरण र अस्थायी व्यवस्थापनमा समस्या देखिएको छ । यहाँ लगभग साढे तीन सय घर पूर्ण क्षति भएको छ । १३ सय घरहरू चर्किएको छ । जिल्ला विपद् व्यवस्थापन समितिबाट केही राहत पाएका छौँ, ती अपुग भएको छ । सिङ्गल त्रिपाल भएकाले परिवार बस्न समस्या देखिएको छ । आवश्यक खाद्यान्न र लत्ताकपडा नहुँदा व्यवस्थापनमा धेरै समस्या देखिएको छ । सँगसँगै अस्थायी पुर्नवास र पुनर्निर्माणमा चुनौती थपिएको छ ।
हरिचन्द्र बस्नेत–अध्यक्ष, कुशे गाउँपालिका, जाजरकोट
भूकम्पपछि मानिस निकै त्रसित अवस्थामा छन् । घर पूर्ण रूपमा भत्किएको छ । हिउँ फुसफुस परिरहेको छ । तत्काल त्रिपालको व्यवस्था नहुँदा मानिसहरू खुला आकाशमा बस्न बाध्य छन् । प्रक्रिया झन्झटिलो भएकाले पीडितसमक्ष राहत पुर्याउन सकिएको छैन । यहाँ ७ जनाको मृत्यु भएको छ । १८ सय घर पूर्ण क्षति भएका छन् । हिमाली क्षेत्र भएकाले पानी परेर झनै समस्या देखिएको छ । तत्काल त्रिपालको आवश्यक छ । देश विदेशबाट राहत सामाग्री आएका छन् । बुधबारसम्म व्यवस्था भएन भने पालिकाको तर्फबाट आफै व्यवस्था गर्ने सोच बनाएका छौँ । ढुंगा माटोको घर भएकाले घरहरू पूर्ण क्षति भएका छन् । खाद्यान्न र लत्ताकपडा भित्रै पुरिएकाले निकाल्न सकिएको छैन । अवस्था निकै नाजुक छ । बाली भित्र्याउने बेला भएकाले खाद्यान्नको तत्काल समस्या छैन । त्रिपाल र लत्ताकपडाको समस्या देखिएको छ । पालिकासँग थोरै बजेट भएकाले पीडितको समस्या समाधान गर्न सकिएको छैन । राहत वितरणमा सरकारले एकद्वार नीति बनाएको छ । तर निकै झन्झटिलो भएको छ । प्रमुख जिल्ला अधिकारीले रुजु गरेर पालिकामा पठाउँछ । पालिकाले वडा वडामा पठाउँदा कम्तीमा १५ दिन लाग्छ । एक वडाबाट अर्को वडामा जान हिडेर एक दिन लाग्छ । दुई चार दिनभित्र त्रिपालको व्यवस्था होस् ।
धनकुमारी शाही– उपप्रमुख, आठबिसकोट नगरपालिकाका, रुकुम(पश्चिम)
यस नगरपालिकामा मृत्यु भएका ४४ जनाको दाहसंस्कार सकियो । अब राहत वितरणमा लागेका छौँ । राहत पर्याप्त मात्रामा आएका छैनन् । आएको पनि कानुनी झन्झटिलो छ । देश विदेशबाट आएका राहत सामाग्री सिधै सम्बन्धित पालिकामा जाने व्यवस्था भएको भए सजिलो हुन्थ्यो । एकद्ववार प्रणालीले निकै समस्या देखिएको छ । पीडितलाई खाद्यान्न, बस्नको समस्या छ । चिसो मौसममा खुला आकाशमा बस्नुपर्दा बिरामी पर्न थालेका छन् ।
आठबिसकोट–१४ वडासदस्य–भर्दु मल्ल, रुकुम(पश्चिम)
राहत वितरण भइरहे पनि अपर्याप्त छ । एउटै वडामा १४ जनाले ज्यान गुमाएका छन् । अवस्था दर्दनाक छ । उनीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा समस्या देखिएको छ । जनधनको धेरै क्षति छ । घरहरू पूर्णरुपमा ध्वस्त भएको छ । अहिलेसम्म राहत सामाग्री आइपुगेको छैन । यसबारे सरकारलाई भन्दिनुपर्यो । चिसो अत्यधिक बढेको छ । भूकम्पपीडितहरू खुला आकाशमा बसेका छन् ।
विर्खबहादुर विष्ट–अध्यक्ष, सानीभेरी गाउँपालिका, रुकुम(पश्चिम)
अहिले राहत वितरणको काम भइरहेको छ । सबै सामाग्रीहरू केन्द्रित हुने काम भइरहेको छ । अहिलेसम्म तीन हजार त्रिपाल, कम्बल वितरण भइसेको छ । पीडितलाई न्यानो कपडाहरू पनि वितरण भइरहेको छ । भग्नावशेषबाट सामाग्री निकाल्ने काम भइरहेको छ । तर अपर्याप्त छन् । केही ठाउँबाट गुनासा आएका छन् । त्यसलाई छिट्टै सम्बोधन गर्छौँ । यहाँ ३ हजार ४६ घर पूर्ण क्षति भएको छ । त्रिपालको अभाव देखिएको छ । तत्काल बढी जो पीडित हो उनीहरूको अवस्था हेरी राहत वितरणका काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु परिवर्तनले निम्ताएका समस्या समाधान गर्न विश्व समुदाय एकजुट हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
राष्ट्रिय गुरुकुल शिक्षा परिषद् पुनर्गठन
-
ट्रम्प प्रशासनमा थप दुई महत्वपूर्ण नियुक्ति
-
फिरन्ते जीवन बाँच्दै आएका राउटेको अस्तित्व संकटमा, जनसंख्या १३५ मात्रै
-
लुम्बिनीमा विपद्बाट पाँच करोडभन्दा बढी क्षति
-
चितवनमा १० प्रकारका आलुको अध्ययन