आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

आरती साहको न्यायको लागि गरिएको धर्नामा आम जनता पार्टीको ऐक्यबद्धता

न्याय नपाउनु दुर्भाग्य: प्रभु साह
बुधबार, २२ कात्तिक २०८०, १६ : ०६
बुधबार, २२ कात्तिक २०८०

काठमाडौँ । आरती साहको न्यायका लागि पीडित परिवारले गरिरहेको धर्नामा प्रभु साह नेतृत्वको आम जनता पार्टीले ऐक्यबद्धता जनाएको छ । 

गत जेठ ७ गते धनुषास्थित थापाचोक–९ जनकपुरधाममा आरती साहलाई सासु, ससुरा, श्रीमान र देवर मिलि दाइजोको निउमा निर्घात कुटपिट गरेर हत्या गरेको भन्दै पीडित परिवारले माइतिघर मण्डलामा असार १ गतेदेखि २४सैँ घण्टा धर्ना बस्दै आएका छन् । बुधबार आम जनता पार्टीका अध्यक्ष प्रभु साह लगायत पार्टीका नेता, कार्यकर्ताहरू धर्नास्थलमै पुगेर धर्नामा ऐक्यबद्धता जनाएका हुन् । 

सो क्रमममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष साहले पीडित परिवारले १४६ दिनसम्म धर्ना बस्दापनि न्याय नपाउनु दुर्भाग्य भएको बताए । राज्यले पीडित परिवारको माग सम्बोधन गर्न बेवास्ता गरेको भन्दै खेद प्रकट गरे । उनले पीडित परिवारको माग सम्बोधन गरेर आरती साहलाई न्याय दिन सरकारसँग माग गरे । उनले समस्या समाधानका लागि सरकारले औपचारिक वार्ता छिटो सुरु गर्नुपर्ने बताए । 

उनले भने, ‘नेपालमा गणतन्त्र छ । लोकतन्त्र छ । लोकतन्त्रको यो युगमा १४६ दिनसम्म न्याय नपाउनु दुर्भाग्यको विषय हो । म सर्वप्रथम राज्यबाट भएको बेवास्ताप्रति खेद प्रकट गर्न चाहन्छु । आरती साहको परिवारको जुन मागहरू छ, त्यसमा म ऐक्यबद्धता जाहेर गर्दछु । जायज मागहरू छ । त्यो सम्बोधन गर्नैपर्छ । राज्यले छिटो सम्बोधन गरोस् भन्ने हामी चाहन्छौँ । आम जनता पार्टीले यो आन्दोलनलाई समर्थन गरेको छ । सहयोग गर्ने भन्ने निर्णय गरेको छ । त्यही अनुसार हामी आज धर्ना कार्यक्रममा सहभागि छौँ । कानूनको शासनमा यस्तो सुन्नै नपर्ने हो । सुन्नै लाजको कुरा हो । सरकारले गम्भीरतापूर्वक लेओस् । औपचारिक वार्ता छिटो सुरु होस् ।’

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मृतक आरती साहकी कान्छी बहिनी मनिषा साहले आफुहरु १४६ दिनसम्म न्यायको माग गर्दै धर्नामा बस्दापनि माग पूरा हुन नसकेको बताइन् । उनले आफ्नी दिदीको हत्यारा बाहिर खुलेआम हिडिरहँदा पनि कानुनी कारबाही नभएको बताइन् । 

उनीहरुले दोषी उपर कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् । त्यसैगरी पीडित परिवारका सदस्यलाई कुटपिट गरेको भन्दै एसपी विश्वराज खड्का र डिएसपी प्रकाश गौतमलाई पनि नियन्त्रण गरि कारबाही गर्नुपर्ने माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप