मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

पर्वहरूमा अचानक ट्रमा भएमा यसरी गर्नुपर्छ केयर

बुधबार, २९ कात्तिक २०८०, ०७ : ०३
बुधबार, २९ कात्तिक २०८०

काठमाडाैँ । तिहारमा विभिन्न किसिमका दुर्घटना हुन सक्छ । जस्तै, पिङ खेल्ने क्रममा धेरै बच्चाहरू लडेर घाइते हुने गर्छन् भने चंगा उडाउँदा अग्ला स्थान अनि घरको कौशी, छतबाट समेत लडेर घाइते भई अस्पताल पुग्ने बिरामीको संख्या उत्तिकै हुन्छ ।

यस्तै, तिहारमा मदिरा सेवन गरी एकापसमा झैंझगडा गरी घाइते हुने, मदिरा सेवन गरी हिँड्ने क्रममा लडेर घाइते भई अस्पतालमा पुग्नेको संख्या बढी हुने चिकित्सकहरू बताउँछन् । 

उता, अन्य समयभन्दा चाडपर्वका बेला काठमाडौँ उपत्यका लगायतका सडकमा सवारीको चाप कम हुने हुँदा बाटो खुल्ला हुने भएकाले तीव्र गतिमा सवारी चलाउने सङ्ख्या बढी हुन्छ । जसका कारण सडक दुर्घटना भई अस्पतालमा उपचार गराउन बढी आउने गरेको सिभिल अस्पतालका निर्देशक डा विधाननिधि पौडेल सुनाउँछन् ।

त्यस्तै, तिहारको समयमा तुलनात्मक रुपमा युवाहरू मदिरा सेवन गरी सवारी खुल्लाबाटोमा चलाउँदा दुर्घटनामा पर्ने गरेको उनी सुनाउँछन् ।

प्रत्येक वर्ष तिहारको बेलामा पिङ खेल्दा, चंगा उडाउँदा, मदिरा सेवन गरी लड्दा र सवारी दुर्घटनामा परी हात खुट्टा भाँचिनुका साथै, टाउकोलगायत शरीरमा विभिन्न भागमा गम्भीर खालका स्वास्थ्य समस्या भई राजधानीका ठूला अस्पताल राष्ट्रिय ट्रमा सेन्टरलगायत स्थानमा आउने चिकित्सकहरू बताउँछन् ।

त्यसो त, यस्ता खालका दुर्घटना सबै क्षेत्रमा हुने गर्छ । उता, पर्वका समयमा प्रायः स्वास्थ्य संस्थाहरू बन्द हुने गर्छन् । त्यसैले, प्राथमिक उपचारमा विशेष ध्यान दिन डा. रोशन कुमार झाको सुझाव छ । 

घटना अचानक पनि हुन सक्ने भएकाले पूर्व तयारी अवस्थामा रहनुपर्छ । हिँड्दा, रमाइलो गर्ने क्रममा खेलहरू खेल्दा र सवारीमा यात्रा गर्दा जुनसुकै समयमा घटना वा दुर्घटना हुन सक्छ । त्यस अवस्थामा कसरी प्राथमिक उपचार गर्ने भन्नेबारे थाहा पाउन जरुरी हुन्छ । 

कसरी अपनाउने सतर्कता ?

दुर्घटना हुँदा प्राथमिक उपचार विधिहरू अपनाउनुपर्छ । जस्तै, हातखुट्टा भाँचिएमा ग्रामीण भेगमा व्याण्डेज तत्काल नपाएको खण्डमा काम्रो बाँध्नुपर्छ । यस्तै,  हातखुट्टा भाँचिदा चलाउनु हुँदैन । यदि हल्लाउनु परेमा भाँचिएको ठाउँमा कुनै केही सपोर्ट राखी कपडाले बाँध्नुपर्छ ।

यस्तै, सुन्निएको कम गर्न वा दुखाई कम गर्न आइसले रगड्न पनि सकिन्छ । यदि दुर्घटनापछि रगत बगेको छ भने रगत बग्न नदिन सफा कपडाले बाँध्नुपर्छ र जतिसक्दो अस्पताल पुर्‍याउनुपर्छ ।  चिकित्सकको सल्लाहबिना कुनै तेलले मालिस भने गर्न हुँदैन ।

दुर्घटनाको क्रममा टाउको वा मेरुदण्डमा चोट लागेको खण्डमा हलचल गर्न दिन हुँदैन । यस्तो बेलामा धेरै हतास भई छटपटी भएको बेलामा पीडितको हातखुट्टा मसाज गरिदिन चिकित्सकहरूको सुझाव छ । 

पर्व समय वा अन्य समयमा लामो यात्रा गर्दा सार्वजनिक तथा निजी यातायातमा ‘फस्ट एट किट बक्स’ राख्न डा. झाको आग्रह छ । 

व्यावसायिक सवारी, निजी सवारी भ्यान, जीप, कार सार्वजनिक यातायातहरूमा अनिवार्य रूपमा ‘फस्ट एट किट बक्स’ का साथै प्रेसर, अक्सिजन, ज्वरो नाप्ने यन्त्रका साथै ब्यान्डेज लगायतको व्यवस्था भएमा यात्राका क्रममा दुर्घटना भएको खण्डमा पछि हुने गम्भीर स्वास्थ्य र मृत्युबाट समेत बचाउन सकिने उनको जिकिर छ । 

यस्तो छ प्रवक्ता बुढाथोकीको निर्देशन

उता, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता तथा प्रमुख कन्सल्टेन्ट हेस्टल सर्जन डा. प्रकाश बुढाथोकीले सार्वजनिक विदालगायत तिहार, छठको समयमा पनि एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् । 

यस्तै, आकस्मिक चिकित्सकीय समूह (EMT), आधारभूत आकस्मिक मेडिकल प्राविधिक (BEMT) लगायतका  सेवाहरूलार्ई तयारी अवस्थामा राखी सम्पूर्ण अस्पतालहरूका आकस्मिक स्वास्थ्य सेवा सुनिश्चितता गर्न उनको निर्देशन छ ।  

पर्वको समयमा स्वास्थ्य सेवा र जानकारी आवश्यक आवश्यक परेको खण्डमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हटलाइन नम्बरहरू  १११५  र  ११३३ मा सम्पर्क गर्न उनको सुझाव छ ।  

यस्तै, भाइटीकाको बेलामा असन्तुलित खानपान र जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले सचेत हुन उनको सुझाव छ । तिहारमा सेतो मासु, फलफूल र रेशादार खानेकुराहरू खान उनको आग्रह छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप