आइतबार, १८ कात्तिक २०८१
ताजा लोकप्रिय

समाजवादका नाममा राजनीतिक ठगी

बिहीबार, ३० कात्तिक २०८०, १२ : ३१
बिहीबार, ३० कात्तिक २०८०

समाजवाद विश्वमा सबभन्दा बढी राजनीतिक ठगी गर्ने शब्दावली बनेको छ । हिट्लर जस्ता क्रूर शासकले समेत आफ्नो नाजीवादी पार्टीको नाम राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी राखेका थिए । 

अर्का तानाशाह सद्दाम हुसेनको पार्टीको नाम समाजवादी बाथ पार्टी थियो । जर्मन राजनीतिज्ञ तथा अर्थशास्त्री कार्ल जोहन काउत्सी पनि जर्मन सामाजिक जनवादी पार्टीको प्रमुख सिद्धान्तकार थिए ।

नेपालको संविधानको प्रस्तावनामा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने र धारा ५० को निर्देशक सिद्धान्त अन्तर्गत उपधारा (३) मा समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ भन्ने संवैधानिक प्रावधान रहेको छ । 

विश्व राजनीति मूलतः तीनवटा खेमामा विभाजित छ । पहिलो– मार्क्स र उनका सहलेखक एङ्गेल्सद्वारा प्रतिपादित दर्शनशास्त्र, अर्थशास्त्र र समाजशास्त्रसम्बन्धी अवधारणा र यसअन्तर्गत रहेका द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी सिद्धान्त, अतिरिक्त मूल्यको सिद्धान्त र वर्गीय अधिनायकत्वको सिद्धान्तको कुलयोगलाई समाजवाद–मार्क्सवाद वा कम्युनिस्ट समाजवाद भनिन्छ । मार्क्सका अनुसार साम्यवाद भनेको अन्तिम निष्कर्षमा निजी सम्पत्तिको उन्मूलन हो । 

सारमा कम्युनिस्ट समाजवाद भनेको उत्पादनका साधनमाथिको सामूहिक अधिकार, सर्वहारा वर्गको अधिनायकत्व र कम्युनिस्ट पार्टीको एकदलीय शासन प्रणाली हो  । यसलाई नेपालमा कम्युनिस्ट पार्टीले नाराका रूपमा  भित्र्याए । 

दोस्रो– अर्थशास्त्री एडम स्मिथ र जेरमी बेन्थनद्वारा प्रतिपादित र जोनलकद्वारा विकसित र पछिल्लो समयमा मार्गेट थ्याचर, रोनाल्ड रेगन र अगस्तो पिनाचेद्वारा स्थापित र प्रचारित पुँजीवादी प्रजातन्त्र र उदारवादी अर्थतन्त्र भएको प्रणाली । 

तेस्रो– सुरुमा जर्मन अर्थशास्त्री कार्ल जोहन काउत्सि मार्क्सका समर्थक र मार्क्सवादका प्रचारक थिए । पछि सर्वहारावर्गको अधिनायकत्वप्रति विमति राख्दै शान्तिपूर्ण परिवर्तन र प्रजातान्त्रिक प्रणालीको पक्षधर बने । उनी बारम्बार भन्थे बल प्रयोगद्वारा सर्वहारावर्गको अधिनायकत्व स्थापित गर्ने भन्ने शब्द मार्क्सको कलमबाट फुत्किएर लेखिएको शब्द हो । यसमा सहमत हुन सकिँदैन । यही खेमालाई पछिल्लो समयमा भारतीय नेता डा. मनोहर लोहिया, जयप्रकाश नारायण र जर्मनका चान्सलर विली ब्रान्टले लोकतान्त्रिक समाजवादको विकास र स्थापित गरे । यसलाई नेपालमा बीपी कोइरालाले प्रजातान्त्रिक समाजवादका नाममा भित्र्याए । 

नेपाली कांग्रेसको २०१२ सालमा वीरगञ्जमा सम्पन्न भएको माहाधिवेशनबाट पारित गराई नेपाली कांग्रेसलाई समाजवादको बिल्ला भिराए । यसरी विश्व राजनीतिका दुई खेमा गरिबीबाट मुक्ति र समानताका लागि भन्दै कार्यक्रमविहीन सुन्दर नाराका रूपमा नेपाल भित्रिए । तर प्रजातान्त्रिक समाजवादको खाका अहिलेसम्म न त नेपाली कांग्रेसले कोर्न सकेको छ, न त समाजवादको खाका कम्युनिस्टले कोर्न सकेका छन् । तर दुवै दलले विगतका चुनावमा समाजवादको कालोबजारी र समाजवादका नाममा राजनीतिक ठगी गरेका छन् । 

बीपी कोइरालाका अनुसार साम्यवादमा लोकतन्त्र थपिदिए समाजवाद हुन्छ र समाजवादबाट लोकतन्त्र झिकिदिए साम्यवाद हुन्छ । हरेक नेपालीको सानो घर होस्  । गरिखान पुग्ने खेत होस् । छोराछोरी स्कुल पठाउन पाऊन् । स्वास्थ्य उपचारका लागि पैसा होस् । आजसम्म नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवादको व्याख्या, खाका, मार्गदर्शन, दिग्दर्शन जे भने पनि यति नै हो । कम्युनिस्टहरू शब्दको व्याख्या, कार्यक्रम, कार्यदिशा, कार्यनीति, रणनीति, अन्तर्विरोध, प्रधान अन्तर्विरोध, भारत, अमेरिका, चीनलाई हेर्ने दृष्टिकोणका बारेमा ठुल्ठुला बहस गर्छन् र जुट्ने र फुट्ने गर्छन् । अहिले पनि दर्जनभन्दा बढी कम्युनिस्ट पार्टीहरू क्रियाशील छन् । तर उनीहरू कसैसँग पनि गरिब ढाँट्ने सुन्दर नाराबाहेक समाजवादको कुनै खाका छैन । हुँदाहुँदा अब त संविधानको प्रस्तावनामा नै समाजवाद उन्मुख शब्द राखेर यो संविधान मान्ने सबै समाजवाद बन्न पुगे । 

यसरी समाजवाद संवैधानिक रूपमा राजनीतिक ठगीको विषय बन्न पुग्यो । यो तथ्यबाट हेर्दा समाजवादका नाममा हिट्लर र सद्दाम हुसेनले मात्र राजनीतिक ठगी गरेनन्, नेपालका कांग्रेस र कम्युनिस्टले पनि समाजवादका नाममा राजनीतिक ठगी गरिरहेका छन् । ठगी जसले गरे पनि ठगी नै हो । संवैधानिक हिसाबले  कांग्रेस र कम्युनिस्ट त हुने नै भए यसका अलावा राप्रपादेखि मधेसवादी दलसम्म रास्वपादेखि नागरिक जनमुक्ति पार्टीसम्म सबै समाजवादी । अनि समाजवादी मोर्चा र समाजवादी गठबन्धन बनाउन पाउनु त संवैधानिक अधिकार नै भयो । समानता र गरिबीबाट मुक्तिका लागि भनेर  समाजवादको नारा घन्काइयो र समाजवादलाई मार्गदर्शक सिद्धान्त मान्ने कांग्रेस कम्युनिस्टहरू नै बहुदलको पुर्नस्थापनापश्चात करिब तीस वर्ष शासन गरे तर व्यवहारमा नेताहरूको मात्र गरिबीबाट मुक्ति भयो । 

मुलुक र आमजनताको स्थिति सापेक्षित रूपमा झनझन दनीय बन्दै गयो । विगतको यो लामो इतिहासलाई मध्यनजर गरेर अब समाजवादका नाममा भइरहेको राजनीतिक ठगीबाट आमजनता मुक्त हुनु पर्दछ । कथित समाजवादको खाकासहितको दस्ताबेजसम्म प्रस्तुत गर्न नसक्ने दल र तिनका नेताहरूलाई अब बहिष्कार गर्नुपर्दछ । यिनीहरूको विकल्प खोजिनु पर्दछ । अन्यथा मुलुकको थप अधोगति निश्चित छ । 

अबको बाटो

विश्वका हरेक मुलुकले समयको कुनै कालखण्डमा विभिन्न कारणहरूले गर्दा यस्तो दुर्दशा भोगेको विश्व इतिहासमा पाइन्छ । विश्वका अधिकांश मुलुकहरू बेलायत, फ्रान्स र जापानका उपनिवेश थिए । यहाँसम्म कि अमेरिका र भारत बेलायतका उपनिवेश थिए भने चीन जापानको उपनिवेश थियो । 

आजको स्थितिमा आइपुग्दा उपनिवेश बनाउने मुलुकभन्दा उपनिवेशबाट मुक्त भएका मुलुकहरूले आफूलाई विकास र सामर्थ्यमा अब्बल साबित गरेका छन् । वर्तमानको ग्राफलाई हेर्दा अमेरिका, चीन र भारत क्रमशः विश्वका पहिलो, दोस्रो र छैटौँ शक्तिशाली र सम्पन्न मुलुक बन्न सफल भएका छन् । कारण के हो, त्यसतर्फ मस्तिष्क मन्थन हामी नेपालीले कहिले गर्ने ? एउटा भनाइ छ कुनै मानिसले अनिकाल लागेर सात दिनसम्म पनि खान नपाएपछि जब दिशा आउन छोड्यो अनि भन्थे रे, हैन यसपल्ट त अनिकाल पो लाग्छ कि क्या हो । काहीँ हाम्रो नियति त्यस्तै त हुँदै छैन । विपत्बाहेकका हरेक सङ्कटहरू विगतको राजनीतिक नेतृत्वले अङ्गीकार गरेको संस्थागत संरचना, कार्यशैली र प्रणालीले सिर्जना गरेको हुन्छ । कुनै पनि सङ्कटबाट त्यतिकै मुक्ति पाइँदैन । मुक्ति हुने प्रयत्न गर्नुपर्दछ । त्यसका लागि सर्वप्रथम नयाँ चिन्तन, दृष्टिकोण, दूरदर्शिता, जोश जाँगर र दृढ इच्छाशक्तिसहितको नयाँ नेतृत्वको आवश्यकता पर्दछ । यसरी बेलायती उपनिवेशबाट मुक्तिका लागि अमेरिकामा जर्ज वासिङ्टनको नेतृत्वमा, भारतमा महात्मा गान्धीको नेतृत्वमा, जापानको उपनिवेशबाट मुक्त हुनका लागि चीनमा माओ त्सेतुङको नेतृत्वमा ठुल्ठुला क्रान्ति भएका थिए भने मलेसियामा मोहम्मद माहाथिर र सिङ्गापुरमा ली क्वान निर्वाचनका माध्यमबाटै सत्तारोहण गरी आआफ्नो मुलुकको कायापलट गरेका थिए । 

नेपालमा दूरदर्शिता, दृढ इच्छाशक्ति र दृष्टिकोणसहितको शान्त र स्वैच्छिक जनअनुमोदित सामाजिक क्रान्तिको आवश्यकता छ । भनिन्छ– जब मानिस विभिन्न कारणले आत्माहत्या गर्ने अवस्थामा पुग्छ भने बाँच्नका लागि उसले चारवटा कुरा छोड्नु पर्छ । बस्दै गरेको ठाउँ, गर्दै गरेको सङ्गत, पढ्दै गरेको पुस्तक र अँगाल्दै आएको पेसा । यी दृष्टान्तबाट के प्रस्ट हुन्छ भने अब मुलुकलाई राजनीतिक अस्थिरता, बेरोजगारी, कुशासन, चरम आर्थिक मन्दी, ब्यापार घाटा, अपूर्ण सङ्घीयताको कार्यान्वयन, लोकतन्त्रको सट्टा दलतन्त्र र गुटतन्त्र, अपराधतर्फ उन्मुख सामाजिक मनोविज्ञान इत्यादि जस्ता विकृति र विसङ्गतिबाट मुक्त हुनका लागि दूरदर्शिता, इमानदारिता, दृढ इच्छाशक्ति र समुन्नत सङ्घीय लोकतन्त्रप्रति प्रतिबद्ध नयाँ विकल्पको खोजी गर्न आवश्यक छ । कुनै वाद र दलको फलामे अनुशासनको नाममा आफ्नो विचार, दृष्टिकोण, चिन्तन र अनुभूतिलाई हत्या नगरी वा कैदी नबनाई डु अर डाईको अवस्थाबाट नगुज्रिएसम्म मुलुकले काँचुली फेर्न, विश्व स्तरमा मुलुकलाई उभ्याउन र भावी सन्ततिको भविष्य उज्ज्वल बनाउन सम्भव छैन ।                                                                                                                      

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

केशव खतिवडा
केशव खतिवडा
लेखकबाट थप