शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
फिल्म फेस्टिभल

पर्यटन प्रवर्द्धनका लागि फिल्म फेस्टिभल, कलाकारदेखि चलचित्र निर्माता भित्र्याउने योजना

शनिबार, ०२ मङ्सिर २०८०, १५ : १४
शनिबार, ०२ मङ्सिर २०८०

मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्रमा अवस्थित छ थाहा नगरपालिका । प्राकृतिक र जैविक रूपले विविधता रहेको उक्त क्षेत्र पर्यटनका हिसाबले अत्यन्त महत्त्वपूर्ण मानिन्छ । एक हिसाबले मकवानपुर महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुन सफल भएको छ, थाहा नगरपालिका । 

हिउँदे बिदामा काठमाडौँ तथा तराइका विभिन्न जिल्लाबाट घुमफिरका लागि उपयुक्त विकल्प थाहा नगरपालिकाको टिष्टुङ, दामन पालुङ, सिमभञ्ज्याङ, चित्लाङ, इन्द्रसरोवर ताल हुन सक्छ । चिसो सिमभञ्ज्याङ, दामन, दामनमा रहेको भ्यू टावर, वनस्पति उद्यान, चित्लाङ, उनिउँ चौर, नर्वे ढुङ्गा, ऋषेश्वर महादेव मन्दिर यस क्षेत्रको घुम्न लायक स्थानहरू हुन् ।

thaha nagarpalika film fest (2)

काठमाडौँबाट थानकोट, नौबिसे हुँदै पृथ्वी राजमार्गको ७५ किलोमिटर दूरी यात्रा गरेर सहजै पुग्न सकिन्छ थाहा नगर । काठमाडौँबाट ३ घण्टा यात्रामा पुगिने दामनबाट देखिने दृश्य अत्यन्त मनमोहक रहेको छ । थाहा नगर पुग्न चन्द्रागिरि हुँदै चित्लाङको कच्ची बाटो पनि प्रयोग गर्न सकिन्छ भने दक्षिणकालीबाट फाखेल हुँदै कुलेखानीको मार्खुबाट टिस्टुङ पुग्न सकिन्छ ।  यता हेटौँडाबाट भैैसे लामिडाँडा हुँदै ३३ किलोमिटर यात्रा गरेर सिमभञ्ज्याङ, दामन पुगिन्छ । २ हजार ६ सय ८८ मिटर उँचाइ रहेको दामनबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर लगायत हिमाल प्रस्ट देखिन्छ ।

तरकारी खेतीले भरिभराउ खेतीयोग्य जमिन रहेको उक्त क्षेत्र पर्यटनका प्रचुर सम्भावना रहेकाले प्रवर्द्धनका लागि फिल्म फेस्टिभल आयोजना गरिने भएको छ । आगामी मङ्सिर ९ गतेदेखि १५ गतेसम्म थाहा फिल्म फेस्टिभल–२०२३ को आयोजना गरिने भएको हो ।

thaha nagarpalika film fest (3)

पर्यटन प्रवर्द्धनका उद्देश्यले आयोजित उक्त फिल्म फेस्टिभलको तयारी तीव्र बनाइएको छ । पर्यटनका लागि फिल्म फेस्टिभल भन्ने नाराका साथ थाहा कला केन्द्रको आयोजनामा हुने एक हप्ते थाहा फिल्म फेस्टिभल–२०२३ को प्रचार प्रसारलगायत व्यवस्थापनको भइरहेको छ ।

मङ्सिर ९ गतेदेखि १५ गतेसम्म हुने थाहा फिल्म फेस्टिभल–२०२३ मा बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाको सहयोग छ । कार्यक्रमको कुल २७ लाख बढी अनुमान गरिएको थाहा फिल्म फेस्टिभल आयोजक समितिका संयोजक प्रमोद कृष्ण जोशीले जानकारी दिए । उनका अनुसार कार्यक्रमका लागि प्रदेश सरकार र थाहा नगरपालिकाले १०÷१० लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ भने अपुग रकमका लागि प्रायोजक तथा सहयोगीहरूलाई आग्रह गरिएको छ ।

थाहा नगरसहित इन्द्रसरोवर गाउँपालिकालाई मिनी फिल्मसिटीको रूपमा विकास गर्ने उद्देश्यसहित फिल्म फेस्टिभल आयोजना गरिएको उनले बताए । फेस्टिभलले थाहा नगरपालिकाको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्नेमा कार्यक्रम संयोजक जोशीको भनाई छ ।

thaha nagarpalika film fest (5)

कलाकारदेखि चलचित्र निर्माता भित्र्याउने

संयोजक जोशीले थाहा फिल्म फेस्टिभलका क्रममा चलचित्र, लघु चलचित्र र वृत्तचित्र प्रदर्शनीसँगै चलचित्रका कलाकार, निर्मातासँगै निर्देशकहरू भित्राउने तयारी गरिएको छ । जस अनुसार फेस्टिभलमा प्रवर्द्धनका लागि छानिएका ६ फिल्म, १६ लघु चलचित्र र ६ वृत्तचित्रका निर्माता, निर्देशक तथा कलाकारको उपस्थिति रहने संयोजक जोशीले बताए ।

प्रदर्शनका लागि छनौट भएका २८ वटा फिल्म, लघु चलचित्र र वृत्तचित्रका निर्माता, निर्देशक र कलाकार गरी ६० जनाको अनिवार्य उपस्थिति हुने उनले बताए । फेस्टिभलमा चलचित्र विकास बोर्डका प्रतिनिधि, चलचित्र निर्माता संघ लगायत अन्य संस्थाहरू, चलचित्रका निर्माता निर्देशक तथा कालकार र पत्रकारहरूको सहभागी रहने व्यवस्था गरिएको उनले बताए ।

thaha nagarpalika film fest (1)

सो अवधिमा चलचित्र निर्माता, निर्देशक, कलाकार लगायतको सहभागितामा थाहा नगरभित्रका महत्त्वपूर्ण पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गराइने भएको छ । थाहा नगरपालिकाका १२ वटै वडाको समन्वयमा पर्यटकीय क्षेत्रको अवलोकनका लागि विभिन्न वडाका ११६ वटा स्थानहरू छनौट गरिएको उनले बताए । साथै थाहा नगर र इन्द्रसरोबरका पर्यटकीय गन्तव्यसहित ऐतिहासिक र संस्कृति गन्तव्यहरू पनि अवलोकनको व्यवस्था मिलाइएको उनको भनाई छ ।

फिल्म फेस्टिभलका अवसरमा कलाकारको सम्मान, निर्माता, निर्देशक तथा निर्माण समूहसँग अन्तरक्रिया लगायतका गतिविधि सञ्चालन गरिने आयोजक समितिका संयोजक जोशीको भनाई छ ।

हरेक दिन फिल्म देखाइने

थाहा फिल्म फेस्टिभलको साताव्यापी कार्यक्रम हरेक दिन नेपाली चलचित्र देखाइन भएको छ । आयोजकले सोही अनुसार कार्यक्रम तालिका समेत तयार पारेको संयोजक जोशीले बताए ।

कार्यक्रमका लागि ६ वटा नेपाली कथानक चलचित्र र १६ वटा लघु चलचित्र र ६ डकुमेन्ट्री प्रदर्शन गर्ने व्यवस्था मिलाइएको उनले बताए । उनका अनुसार फेस्टिभलमा डेसान, ऐना झ्यालको पुतली, बुलबुल, राधा, प्रकाश र आमा खाण्डो सहित चलचित्र तथा लघु चलचित्र र वृत्तचित्रहरू प्रदर्शन गरिनेछ । थाहा नगरको जेसीज हलमा उक्त फिल्म देखाइएको उनको भनाई छ ।

thaha nagarpalika film fest (4)

उनका अनुसार मङ्सिर १० गते ११ बजेदेखि १ बजेसम्म बुलबुल, १ बजेदेखि ३ बजेसम्म जुनको, कन्फ्युजन, बेर ट्रिज इन द मिस्ट, ३ बजेपछि आइरन डिगर प्रदर्शन गरिने छ भने मङ्सिर ११ गते ११ बजेदेखि १ बजेसम्म ऐना झ्यालको पुतली, १ बजेदेखि ३ बजेसम्म सेनाको चेली, युद्धका बाछिटा, कलम ३ बजे गुर्खा गर्ल, गड्स बफेलो, को– हज्ब्याण्ड प्रदर्शन गरिने छ । मङ्सिर १२ गते ११ बजेदेखि १ बजेसम्म प्रकाश, १ बजेदेखि ३ बजेसम्म जालगेडी, जुनुको जुत्ता, हील्स अन द बस, ३ बजेपछि हेयर कट, मङ्सिर १३ गते ११ बजेदेखि १ बजेसम्म आमा खाण्डो, १ बजेदेखि ३ बजेसम्म र्याटलिङ, फ्यान, छोरा, डिभिनेशन, ३ बजेपछि म अलप हुन चाहन्छु, मङ्सिर १४ गते ११ बजेदेखि १ बजेसम्म द सेक्रेट्स अफ राधा, १ बजेदेखि ३ बजेसम्म दाद्या, मलामी ३ बजेपछि डेसान प्रदर्शन गरिने छ ।

स्थानीय वृत्तभित्र प्रदर्शन गरिने

फिल्म फेस्टिभलमा थाहाका पर्यटकीय सम्भावनालाई उजागर गर्ने वृत्तचित्र प्रदर्शन गरिने भएको छ । फेस्टिभलमा प्रदर्शनी गर्न स्थानीय स्तरका विभिन्न क्षेत्रहरूमा छायाङ्कन गरिएको वृत्तचित्र प्रदर्शन गरिने संयोजक जोशीले बताए ।

फेस्टिभलको उद्घाटनका दिनमा नै उक्त वृत्तचित्र देखाइने उनले बताए । मङ्सिर ९ गते बिहान ११ बजे उद्घाटन समारोह रहेको र उक्त दिनको ३ बजे स्थानीय स्तरमा तयार बनाइएको थाहा वृत्तचित्र प्रदर्शन गरिने उनको भनाई छ । उद्घाटनमा प्रदर्शनका लागि आयोजकले वृत्तचित्र समेत छायाङ्कन गरी निर्माणको अन्तिम चरणमा पुगेको उनले बताए ।

फिल्म फेस्टिभलमा नेपाली कथानक चलचित्र, लघु चलचित्र र वृत्तचित्रहरू प्रदर्शन गर्ने क्रममा थाहा नगरपालिकाको पर्यटन प्रवर्द्धनका लागि स्थानीयपन झल्काउने वृत्तचित्र तयार पारिएको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप