बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सरुभक्तले ५० वर्षमा लेखे १ हजारभन्दा बढी मुक्तक

मङ्गलबार, ०५ मङ्सिर २०८०, ०९ : २९
मङ्गलबार, ०५ मङ्सिर २०८०

पोखरा । साहित्यकार सरुभक्तले साहित्यको ५० वर्षमा १ हजार भन्दा बढी मुक्तक लेखेका छन् । उनले आफ्नो जीवनकालमा लेखेका मुक्तक समेटेर एउटै पुस्तक तयार गरिएको छ । २०३५ सालमा पहिलो पटक उनले बन्द खामभित्र मुक्तक सङ्ग्रह निकालेका थिए । 

२०६१ सालमा तोस्रो सङ्ग्रह हजार बुद्धहरु निकाले भने २०७६ मा तेस्रो सङ्ग्रहका रूपमा प्रेम यात्रा निकालेका थिए । त्यसयता थप ५ वटा कृति प्रकाशनको तयारीमा रहेको थियो । पहिले नै प्रकाशन भैसकेका र प्रकाशन हुन बाँकी मुक्तकलाई समेटेर एउटै पुस्तक प्रकाशन गरिएको छ । 

नेपाल मुक्तक प्रतिष्ठान, बेलायतले ‘सरुभक्तका मुक्तक’ नामक कृति प्रकाशन गरेको हो । उक्त पुस्तक पोखरामा नै लोकार्पण भैसकेको छ । उनले ५० वर्षको अवधिमा लेखेका १ हजार १७ वटा मुक्तक कृतिमा संग्रहित गरिएको हो । 

पोखरामा २०३५ सालमा पहिलो पटक टिकटमा मुक्तक आयोजना गरिएको थियो । त्यसयता मुक्तकका विभिन्न कार्यक्रमहरू हुँदै आए । अन्ततः यस्तै इभेण्टहरुले पोखरालाई मुक्तकको सहरका रूपमा परिचित गरायो । पोखरामा मुक्तक फैलाउने श्रेय उनै सरुभक्तलाई जान्छ ।

उनको पछिल्लो पुस्तक लोकार्पण गरिएको छ । कलाकार दुर्गा बराल वात्स्यायनले पुस्तक विमोचन गर्दै सरुभक्तको निरन्तरको दर्शन र चिन्तनका कारण साहित्यमा आधिपत्य जमाएका बताए ।

नेपाली लेखक सङ्घका अध्यक्ष तीर्थ श्रेष्ठले मुक्तकको प्रभावकारिता बढ्दै गएको बताए । केही समय मुक्तकलाई विकृत बनाउने प्रयास भएको भन्दै मुक्तकप्रेमीहरु सचेत हुनुपर्ने उनको तर्क छ । 

सन् २०१५ मा बेलायतमा स्थापित संस्थाले मुक्तकको उत्थानका लागि निरन्तर काम गर्दै आएको छ । गोरखा भूकम्पका बेला टिकटमा मुक्तक गरेर दूतावासमार्फत नेपाल सरकारलाई सहयोग रकम पठाएको नेपाल मुक्तक प्रतिष्ठान, बेलायतका अध्यक्ष दुर्गाप्रसाद पोखरेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप