आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

पहाडलाई विकास र समृद्धिको नमुना कसरी बनाउने ?  : जवाफ खोज्न एमालेको ‘सङ्कल्प यात्रा’

बुधबार, ०६ मङ्सिर २०८०, १९ : ००
बुधबार, ०६ मङ्सिर २०८०

काठमाडौँ । नेकपा एमालेले नेपालको पहाडी भूभाग र त्यहाँका बासिन्दाको आर्थिक विकास र समृद्धि कसरी गर्न सकिन्छ भन्ने जवाफ खोज्ने भएको छ ।  आगामी मङ्सिर १४ गतेबाट सुरु गर्ने तीन साता लामो पुष्पलाल(मध्य पहाडी) लोकमार्गकेन्द्रित विशेष अभियान (झुलाघाट–चिवाभञ्ज्याङ : समृद्धिका लागि सङ्कल्प यात्रा)  कार्यक्रममार्फत एमालेले यसको जवाफ खोज्ने भएको हो । 

बुधवार बसेको एमालेको छैटौँ केन्द्रीय कमिटीको बैठकले सङ्कल्प यात्राको विस्तृत कार्य योजना पारित समेत गरेको छ ।  सङ्कल्प यात्राको मङ्सिर १४ गते बिहान ८ः३० बजे अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा आयोजित कार्यक्रममा राष्ट्रिय झन्डाको झन्डोत्तोलन गरी आरम्भ गर्नेछन् । 

त्यसक्रममा अभियानको सन्दर्भ झल्काउने गरी निश्चित स्मृति चिन्ह स्थापनासँगै पाँचथरको चिवा भञ्ज्याङमा अभियानको समापन हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

‘सङ्कल्प यात्रा अध्यक्ष ओलीको नेतृत्वमा सुरु हुनेछ । जसमा पार्टी पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष/प्रमुखहरू, भुगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्यहरू र तोकिएका व्यक्तिहरू केन्द्रीय टोलीमा रहनेछन्’, प्रचार विभाग प्रमुख गौतमको भनाइ छ ।  

अभियानको सान्दर्भिकता र सन्देश 

एमालेले सङ्कल्प यात्राका लागि पहाडी भूभाग रोज्नुमा जटिल भौगोलिक संरचना, छरिएका बस्तीहरू, प्राकृतिक विपत्तिको उच्च जोखिम, वन्य जन्तुहरूका कारण कृषि उत्पादनमा ह्रास तथा जलवायु सङ्कट पहाडको विकासका मुख्य चुनौतीका रूपमा देखिएकाले जनाएको छ । 

‘यिनै चुनौती र सम्भावनाहरूलाई ध्यानमा राखेर हाम्रो पार्टीले पहाडी क्षेत्रको विकासका लागि रणनीतिक महत्वका पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र खानेपानी संरचना एवं विद्युतीकरणलगायत महत्त्वपूर्ण योजना अगाडि बढाउँदै आएको छ’, बैठकपछि जारी विज्ञप्तिमा एमालेले भनेको छ, ‘पुष्पलाल मध्य पहाडी लोक मार्ग र यसमा निर्माणाधीन दसवटा सहरहरू यसका दृष्टान्तहरू हुन् । आज पहाड पूर्वाधार, विद्युतीकरण, खानेपानी र स्वास्थ्य तथा शिक्षामा पहुँचका दृष्टिले उल्लेख्य ढङ्गले रूपान्तरित हुँदै आएको छ ।’

तीव्र बसाइसराइ पहाडको मुख्य समस्या बन्न देखिन्छ । ‘एकातिर विकासका योजनाहरू पहाड चढ्दै जाने, अर्कातिर पहाडबाट जनसङ्ख्याको ठुलो हिस्सा तराई, सहर हुँदै बिदेसिँदै जाने चुनौती आजको हाम्रो अर्थ–राजनीतिको सर्वाधिक जटिल प्रश्न हो’, एमालेले भनेको छ । 

समस्या कहाँ छन् ? 

एमालेले अभियानका क्रममा पूर्वाधार र उत्पादनको विषय, हाम्रो विकास र पूर्वाधार निर्माणको ढाँचा र यसको समाधान कसरी गर्न सकिन्छ ? भनेर जवाफ खोज्ने जनाएको छ ।   ‘र, पहाडलाई विकास र समृद्धिको नमुना कसरी बनाउन सकिन्छ ? यस अभियानमार्फत हामी जवाफ खोज्ने कोसिस गर्नेछौँ’, एमालेले भनेको छ । 

अभियानका क्रममा जनसभा, जनभेला तथा भेटघाटहरू, कलेज तथा विद्यालयका विद्यार्थीहरूसँग छलफल, किसानहरूसँग अन्तरक्रिया, कृषि वैज्ञानिकहरूसँग संवाद, विकास कार्यहरूको अवलोकन र नमुना काम गरिरहेका उद्यमीहरूसँग भेटघाट, ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलहरूको अवलोकन, जनताका अनुभूति, गुनासा र सुझावहरूको सङ्कलन गर्ने एमालेले जनाएको छ । 

अभियानले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउन योगदान गर्ने एमालेको विश्वास छ ।  ‘लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान र हाम्रा यावत् उपलब्धिलाई अवमूल्यन गर्दै समाजमा निर्माण गर्न खोजिएको नकारात्मक मनोविज्ञान र नैराश्यको अवस्थालाई अन्त्य गरेर मुलुक बन्छ, बन्दै छ भन्ने दह्रो आत्मविश्वास निर्माण गर्नु, प्राप्त उपलब्धिहरूको रक्षा एवं सम्बर्द्धन गर्नु तथा समाजमा आशावाद र सकारात्मक मनोविज्ञान निर्माण गर्नु अभियानको उद्देश्य हुनेछ’, एमालेको दाबी छ । ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’को मर्म एवं भावनाअनुरूप यात्रा सञ्चालन गर्ने एमालेको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप