शुक्रबार, १८ फागुन २०८०
ताजा लोकप्रिय

कविता : भूकम्पको त्रास

बुधबार, १३ मङ्सिर २०८०, १० : २१
बुधबार, १३ मङ्सिर २०८०

यता हेर्छु उता हेर्छु छैन कतै केही पनि
आएको छ अचानक
सुरु हुन्छ कम्पन पनि
धर्ती माता यो के हँुदैछ, बुझ्न सकिएन,
मानवलगायतका सम्पूर्ण प्राणीलाई,
यो नसोचेको अत्यास अनि सङ्कट किन ?

दिन रात घाम जुन केही भन्दैन यसले
मध्य रात पनि हल्लाउँदै आयो,
आवाजविहीन भएर  अदृश्य शक्ति देखायो,
सम्पूर्ण प्राणी जगतमा, आत्मीयहरूको रक्षाको
खातिर केही समय प्रार्थनाको चरणमा पु¥यायो ।।

जीवन नै बन्धकी राखेको छु, यो धर्तीमा अस्तित्व
कायम राख्न,
तर पनि मानिरहेको छैनन धर्तीमाता,
सृष्टिकर्ता,
आराम अनि आनन्दले निदाउन बस्न दिन ।

मानिसको जीवनमा मात्र सीमित नहुने रैछ,
आबेगका ज्वालाहरू,
बेनामको शक्तिले खोजिरहेछ
छर्न डररूपी विषका प्यालाहरू ।

आँखा चिम्म गर्दा लाग्दछ संसार सकियो,
आँखा खोल्दा लाग्दछ, अझै बाँकी छ बल्न यो मनको
दियो,
न भन्न सकिने न भाग्न सकिने,
न भगाउन सकिने, न उडेर जान सकिने,
यो कस्तो मानव देह दियौ, ईश्वर ?
आफ्नै अगाडि मृत्युका आकृति घुमिरहँदा पनि
हलचल नगरी जीवनका सारा रङ्गीन समय बलिदान दिएर
तयार पारेका छानामुनि पल पल मृत्युको आभासलाई
वरण गरेर बाच्नु पर्ने ।
मृत्युसँग त्यतिसारो डर छैन, जति यो जीवनले देखेका
घाउहरूसँग छ,
नमरीकनै देखेको मृत्युका भयानक गन्तव्यसँग परिचित
यो मानव देहले बाँच्नका लागि सङ्घर्षरत योद्धाहरूको मर्म बुजेको छ,
र त भूकम्पको कम्पनसँगै आत्तिन्छ र भन्न थाल्छ,
कि लैजाऊ सधैँलाई प्रकृतिको शीतल मार्गमा,
कि बन्द गर यो पल पल कलिला मुनारूपी मस्तिष्कमा
जीवन अस्तित्वको बलि दिन ।
नछोड है यो मृत्यु सागरमा, अदृश्य घाउ दिएर,
नलगाऊ है बाँच्न संसारसामु
चोटले भरिएको देह दिएर,
सक्छौ भने हे प्रकृति एक निमेषमा निलिदेऊ
यो मृत्यु सागर,
तर देख्न बाध्य नबनाऊ, त्यो निश्चल,
निःस्वार्थ प्राणीहरूमा दुखद आँशुको बगर ।।

सक्छौ भने बन्द गर तिम्रा अदृश्य तापहरू,
दिन सक नव जीवन अनि शान्तिका
यात्राहरू !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशीला सापकोटा
सुशीला सापकोटा
लेखकबाट थप