मङ्गलबार, २२ फागुन २०८०
ताजा लोकप्रिय
अन्तरवार्ता

‘नेपाली विषय हाम्रो पहिचान हो, यसलाई बन्द गर्न मिल्दैन’

सरकारी तहको भाषा सबैभन्दा पहिला शुद्ध हुनुपर्छ : प्राडा खगेन्द्र लुइटेल
बिहीबार, १४ मङ्सिर २०८०, १४ : १६
बिहीबार, १४ मङ्सिर २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले जुनसुकै विषयबाट स्नातक गरेकाले स्नातकोत्तर तहमा नेपाली विषय पढ्न दिने व्यवस्था गरेको छ । यही शैक्षिक सत्रदेखि लागू हुने गरी त्रिविले उक्त व्यवस्था लागू गरेको हो । 

त्रिविले स्नातक तहमा जुनसुकै विषय पढेकाले स्नातकोत्तर तहमा नेपाली विषय पढ्न दिने निर्णयपछि यसको चर्चा चलिरहेको छ । धेरैले यसलाई सकारात्मक दिएका छन् भने कतिपयले विद्यार्थी सङ्ख्या घटेपछि त्रिविले यस्तो निर्णय गरेको, अब नेपाली भाषाको गुणस्तर खस्किने भयो जस्तो खालको टिप्पणीसमेत गरिरहेका छन् । 

यस विषयमा रातोपाटीकर्मी कृष्णसिंह धामीले नेपाली भाषा विषय केन्द्रीय विभागका विभागीय प्रमुख प्राडा खगेन्द्र लुइटेलसँग कुराकानी गरेका छन् । 

जुनसुकै विषयमा स्नातक गरेकालाई स्नातकोत्तर तहमा नेपाली पढ्न दिने निर्णय गर्नुको पछाडिको कारण के हो ? 

नेपाली विषय हाम्रो पहिचान हो । त्यो पहिचानलाई रोकेर बन्द गर्ने होइन, पहिचानलाई खुला गर्ने हो । अर्को कुरा विद्यार्थी घटेर यो खुला गरेको भनिएको छ, विद्यार्थी सङ्ख्यासँग यसको कुनै सम्बन्ध छैन । 

किनभने विद्यार्थी सङ्ख्या त खुला गरेपछि बढ्न सक्छ । इच्छुक विद्यार्थीले पढिरहेकै छन् । क्वालिटी डाउन हुने भयो भन्ने कुरा गर्छन् नि कसैले कोही मान्छे पढ्न सक्छु भनेर आउँछ नि । आफ्नोबारेमा जान्ने मान्छे ऊ आफैँ हुन्छ । म यो चाहिँ पढ्न सक्छु भनेर मात्रै अघि बढ्ने हो । किनभने उसले पाठ्यक्रम हेरेको हुन्छ, अनि मात्रै पढ्न खोज्ने हो । 

त्यही आधारमा फाराम भर्ने र प्रवेश परीक्षामा सामेल हुन्छ । स्पष्ट मापदण्ड के तोकिएको छ भने प्रवेश परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ भनिएको छ । अनि त्यसपछाडि फाइनल परीक्षा दिनुअघि पनि आन्तरिक परीक्षा दिनु पर्छ । त्यसमा पनि पास भएको हुनु पर्छ । त्यो पास गरेपछि मात्रै सत्रान्त परीक्षा दिन पाउनेछ । त्यो बिचमा कोही कमजोर देखियो भने आवश्यक अनुसार अतिरिक्त कक्षा सञ्चालन गर्न सकिनेछ । यी कुरा स्पष्ट रूपमा खोलिएको छ । 

अर्को कुरा भनेको यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो । नेपालमा लगाइएको होइन, अमेरिका, अस्ट्रेलिया, युरोपलगायतका विभिन्न मुलुकमा यस्तो व्यवस्था गरिएको छ । यी मुलुकहरूमा तल्लो तहमा जे विषय पढेको छ माथिल्लो तहमा त्यही विषय पढ्नु पर्छ भन्ने नियम छैन । संसारभरिको प्राक्टिस के छ भने विद्यार्थीले चाहेको विषय पढ्न पाउनुपर्छ भन्ने हो । 

यो नेपालीबाहेक ह्युमनिटिजलगायतका विषयमा जेसुकै पढेकाले पनि पनि पढ्न पाउने व्यवस्था यसअघि नै थियो । अहिले नेपालीका लागि मात्र खोलिएको हो भन्ने भ्रम छर्न खोजिएको छ । 

यो अर्को विषयलाई हानि हुनेगरी खोलिएको होइन । पढ्न चाहना भएका विद्यार्थीलाई चाहेको विषय पढ्न पाइयोस् भन्ने हो । 

नेपाली भाषा साहित्यको उन्नयन, उत्थान तथा विकासका लागि पनि हो । अहिले नेपालीहरू संसारभरि पुगेका छन् । तर हामीले यही विश्वविद्यालयमा कन्ट्रोल गर्नु भनेको राम्रो होइन । 

कसरी पढ्न पाउने त सबैले नेपाली विषय ? 

यसका लागि हामी प्रभावकारी ढङ्गबाट प्रवेश परीक्षा लिन्छौँ । यसमा फेल हुनेहरू यहीँबाट अगाडि बढ्न पाउँदैनन् । तर त्यसमा बीए, बीएड नेपाली पढेकाहरू पनि प्रशस्तै फेल हुने गरेका छन् । सङ्ख्या बढाउने हो भने हामी ती बीए, बीएड गरेका सबैलाई लिन सकिन्थ्यो नि । 

यो नेपाली पढ्न इच्छा गर्ने तर नेपाली विषयकै कारण बन्देज लगाइएकाहरूलाई यसले सबैभन्दा ठुलो फाइदा गर्छ । यसले नेपाली भाषाको विकास र विस्तारसमेत हुन्छ । 

विद्यार्थीको सङ्ख्या घटेपछि यस्तो निर्णय गरिएको हो भन्ने कुरा आइरहेका छन् । खासमा विद्यार्थी घटेका हुन् कि के हो ? 

विद्यार्थीको फ्लो कम भएको हो भन्ने कुरा सबैले जानेकै छन् । यो नेपालीमा मात्र नभएर सबैजसो विषयमा विद्यार्थी कम छन् । जस्तो मैले पढाउँदाखेरि साढे ४ सय विद्यार्थीलाई माइक राखेर पनि पढाएको हुँ । मैले पढ्दा ५० जना थियौँ । मैले पढाउँदाखेरि ४, ५ सय जना थिए । अब अहिले क्रमशः घट्यो । जस्तो आईए थियो । प्लस टु गएपछि विद्यार्थीहरू विभिन्न कारणले नेपाली विषयमा मात्र नभई अन्यत्र पनि घटेका हुन् । तर हाम्रो उद्देश्य अब विद्यार्थी घटे शिक्षकले जागिर खान नपाउने भए, त्यसो भएकाले अरू विषयका विद्यार्थी ल्याएर पनि पढाऔँ भन्ने होइन । यो चाहिँ जागिर, घटाइसँग कुनै सम्बन्ध छैन । अब सबैतिर खुला गरिसकेपछि कुनै न कुनै रूपमा विद्यार्थी पढ्ने नै भयो, यो स्वाभाविक प्रक्रिया हो । 

विद्यार्थीहरूको चारैतिरबाट माग पनि थियो । बीएड नपढेका कतिपय विद्यार्थी जो साहित्यकार छन्, बीएड पढेकाभन्दा राम्रा छन् । उनीहरूले राम्रोसँग पढ्न सक्छन् । नेपाली साहित्यप्रति त्यत्तिकै रुचि राख्ने विद्यार्थी बीएड पढ्नेभन्दा राम्रा पनि छन् । 

यो धेरै पहिलादेखि उठेको कुरा हो । मैले अहिले कार्यान्वयनमा ल्याउने काम मात्रै गरेको हुँ । तर यो विषय यसअघि नै धेरै पहिलादेखि नै उठेको हो । विद्यार्थी बढाउने र शिक्षकको जागिर जोगाउने भन्ने अभिप्राय यसमा छैन । नेपाली भाषाको विकास, विस्तार तथा उन्नयनको सम्बन्ध गाँसिएको छ । 

त्यसो हो भने यो निर्णय गर्न धेरै ढिला भएको हो ?  

पक्कै पनि, यो निर्णय धेरै पहिला नै गर्नुपर्ने हुन्थ्यो । नेपाली विषय पढ्न चाहने विद्यार्थीहरू धेरै छन् । कतिपय ठाउँमा त कस्तो पनि भएको छ भने नेपाली विषयका लागि फाराम भरे । इन्ट्रान्स दिए, पास भए । पछि पढे । परीक्षा दिएर पास भए । जाँच दिएपछि तिमीहरूको मिलेन भनेर क्यान्सिल गरेको अवस्था पनि छ । त्यो त अन्याय भयो नि । 

यो हामीले नियोजन गर्ने होइन । खुला राखेर क्वालिटी घटाउने भन्ने पनि होइन । अर्को कुरा जुनसुकै विषय पढेकाले नेपाली विषय पढ्न पाउने भन्ने कुराले अन्यत्र विद्यार्थी घट्ने कुरा पनि होइन । 

नेपाली भाषा हाम्रो पहिचान हो । नेपाली भाषामा सपनासमेत देखिन्छ । यस विषयमा कतिपयले बुझेका छैनन् । 

अरू विभागलाई समेत यस्तै खालको गर्नु पर्छ भन्ने म्यासेज जान्छ कि जाँदैन ? 

अन्य कतिपय विभागले त यसअघि नै गरिसकेका छन् । ह्युमनिटिज एन्ड सोसल साइन्सले त यसअघि नै गरिसकेको थियो । अङ्ग्रेजी र नेपालीमा थिएन । यी दुई विषयमा भने बीए र बीएड गरेकै हुनु पर्छ भन्ने थियो । अब यी दुवै विषयमा समेत खुला गरेको हो । 

अहिले नेपाली भाषाको अवस्थासमेत निकै चिन्ताजनक देखिन्छ । यतिसम्म कि सरकारी निकायमा नेपाली भाषाको शुद्धता निकै कमजोर देखिन्छ । यसमा के गर्नुपर्छ ? 

सरकारी स्तरमा समेत भाषा ध्वस्त भइरहेको छ । हामीले यो विषयसमेत उठान गरिरहेका छौँ । हरेक मन्त्रालयमा एक जना नेपाली विज्ञ राख्नु पर्छ भनेर माग राख्दै आएका छौँ । लोक सेवा आयोगबाटै पास गरेर विज्ञको रूपमा राख्नु पर्छ भनिरहेका छौँ । 

सरकारी तहको भाषा सबैभन्दा पहिला शुद्ध हुनुपर्छ । सरकारी भाषा नै शुद्ध नभएपछि अन्यको के होला ? त्यसैले हामीले यसलाई सच्याउन लगाइरहेका छौँ । 

अङ्ग्रेजीमा जे लेखे पनि शुद्ध हुनु पर्छ भन्ने छ । तर नेपाली भाषामा भने शुद्ध नलेखे पनि हुन्छ जस्तो देखिएको छ । यो सरकारी माध्यमको भाषा शुद्ध हुनु पर्छ । विभिन्न भाषीहरू एक ठाउँमा जम्मा हुँदासमेत विचार विमर्श गर्ने माध्यम हो । यसको शुद्धता हुनु पर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप