शनिबार, १२ फागुन २०८०
ताजा लोकप्रिय

भूकम्पको नौ वर्षमा पनि ठडिएन हिटी पोखरीको गरुडनारायण मूर्ति

बिहीबार, १४ मङ्सिर २०८०, २२ : ०२
बिहीबार, १४ मङ्सिर २०८०

काठमाडौँ  ।  विसं २०७२ वैशाख १२ गतेको भूकम्पले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रको धीरनारायण मन्दिरअघिको गरुडनारायण मूर्ति ढल्यो । मूर्ति ढलेको नौ वर्षमा पनि संरचना अझै अलपत्र छन् । ठडिएको छैन ।

नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रस्थित हिटी पोखरी परिसरमा रहेको धीरनारायण मन्दिरलाई केही भएन । मन्दिरअघि पाँच फिट उचाइमा स्थापना गरिएको गरुडनारायण भने ढलेको साढे आठ वर्ष पूरा भयो । तर अझै यसलाई उठाउने कोही फेला परेको छैन । मन्दिर क्षेत्रमा रहेको गरुडनारायण मूर्ति पाँच फिटमाथिबाट खसेर भुइँमा ढलेकोे नौ वर्ष पूरा हुन लाग्दा पनि यसलाई उठाउने निकाय फेला परेको छैन ।

हिटी पोखरी संरक्षण समाजका अध्यक्ष तेजश्वी शम्शेर राणा तीनै तहका सरकारलाई अनुरोध गर्दा पनि सम्पदा जोगाउने सानो काम हुन नसकेको बताउँछन् । स्थानीय सरकारलाई पनि यो मूर्ति उठाउन पटकपटक अनुरोध गरेको वीरशम्शेरको सातौँ पुस्ताका सन्तति उनी बताउँछन् । गरुडनारायण मूर्तिसँगै रहेको ऐतिहासिक एवं पुरातात्विक महत्वको पाटी पनि भत्किएको थियो । पाटी पुनःनिर्माणको पनि अझै अत्तोपत्तो छैन ।

विसं १७९६ मा धीरशम्शेरले यहाँ नारायण मन्दिर स्थापना गरेको परिसरमा राखिएको शिलालेखमा उल्लेख छ । मन्दिर परिसरमै ठूलो घण्ट भने विसं १९३१ राखिएको थियो । कमलको फूल शैलीको यो मन्दिरमा विसं २०७७ देखि अर्जुन क्षत्रीले पूजा गर्दै आएका छन् । उनी विसं २०७२ देखि मन्दिरको सेवामा लागेका थिए । तत्कालीन पुजारी भोलाप्रसाद पन्तले गुठी संस्थानलाई पत्र लेखी क्षत्रीलाई पुजारी नियुक्त गर्न अनुरोध गरेका थिए ।

विसं २०७७ अघि मन्दिर क्षेत्रमा विकृति, विसङ्गतिका घटना बढ्न थालेपछि स्थानीयवासीले हिटी पोखरी संरक्षण समाजको गठन गरी यसको रेखदेख गर्दै आएका छन् । पुजारी क्षेत्री यो समाजको उपाध्यक्षका रुपमा पनि सक्रिय रहेका छन् । 

समाजले खसेको गरुडनारायणको मूर्ति माथि राख्न सरोकार भएका गुठी संस्थान, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकालाई अनुरोध गर्दै आएपनि कसैले काम गरेका छैनन् । काठमाडौँ महानगरपालिका वडा नं। १ का अध्यक्ष भरतलाल श्रेष्ठ भने सम्पदा संरक्षणका लागि वडाले सक्दो सहयोग गर्दै आएको दावी गर्छन् ।

करिब चार रोपनी क्षेत्रफलमा फैलिएको हिटी पोखरीमा अहिले पनि दुई वटा धाराबाट पानी आउने गरेको छ । पिउन योग्य पानी भएकाले यहाँ पानी लिन आउनेको पनि भीड लाग्ने गर्छ । सडकपेटीबाट पैदल हिँड्ने कति मानिस यहाँ पानी पिउन जाने गरेका छन् । नारायणहिटी दरबारको नामकरणमा यो हिटीको पनि नाम जोडिएको छ । 

 धूमपान गर्नेको अखडा बन्दै सांस्कृतिक स्थल

दरबारमार्गको व्यस्त स्थलमा रहेको खुला ठाउँ भएकाले यहाँ वरपरका कार्यालयमा काम गर्नेहरु धूमपान गर्न आउने गरेका छन् । कानूनी व्यवस्था अनुसार सार्वजनिक स्थलमा बसेर धूमपान गर्न पाइँदैन । तर धीरनारायण मन्दिरसमेत रहेको हिटी पोखरी क्षेत्र भने धूमपान गर्नेको अखडा बन्दै गएको पुजारीसमेत रहेका समाजका उपाध्यक्ष क्षत्रीले सुनाए ।

धूमपान नगर्न अनुरोध गर्दा पनि नमान्ने गरेको उनले बताए । काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २७ गतेदेखि महानगर क्षेत्रका सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने गरी सार्वजनिक सूचना जारी गरेको छ । यहाँ भने दिनभर नै धेरै समूह धूमपानकै लागि आउने गरेका छन् । 

विकृतिको अखडा बन्दै गएपछि मन्दिर क्षेत्रमा राखिएका सामान पनि हराउन थालेका छन् । स्थानीय योगेश मिश्र तीनै तहका सरकारले ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वको हिटी पोखरी क्षेत्रलाई वेवास्ता गर्दा समस्या बढेको बताउँछन् । नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमै पर्ने भएपनि नारायणहिटी दरबार  सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले यस क्षेत्रको रेखदेखमा ध्यान नदिएको स्थानीयवासीको गुनासो छ । 
समितिका सूचना अधिकारी पुरुषोत्तम थापा राजा महेन्द्रको पालामा सडक बनेर हिटी पोखरी पारि परेपनि नारायणहिटी दरबार क्षेत्रकै भागका रुपमा रहेको स्वीकार गर्छन् । दरबार सङ्ग्रहालयको सुरक्षाका लागि नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म राखिएको छ । यसको ध्यान हिटी पोखरी क्षेत्रमा नपरेको गुनासो स्थानीयवासीले गरेका छन् । 

गुल्मका प्रहरी निरीक्षक सविनकुमार सङ्ग्रौला नारायणहिटीको नारायणस्थान मन्दिरमा प्रहरीले सुरक्षाका लागि पहरा दिने गरेपनि हिटी पोखरी क्षेत्रमा भने प्रहरी कार्यालय दरबारमार्गले हेर्ने गरेको बताउँछन् । सिसी क्यामेरा जडान गरेर नारायण मन्दिर क्षेत्रबाटै हेर्न सकिने गरी व्यवस्थापन गर्न सुझाव दिएको उनले सुनाए । 

हिटी पोखरीको किम्बदन्ती

राजा विक्रमादित्यका पालामा पानीको समस्या भएपछि यहाँ ढुङ्गेधारा बनाइयो । धारा बनाइसकेपछि पनि पानी झरेन । पानी नआउनुको कारणका बारेमा बुझ्न दरबारमा सभा बोलाइयो । तान्त्रिकले ३२ लक्षणले युक्त मानिसलाई बलि दिएपछिमात्र पानी झर्ने सुनाए । 

त्यसबेला ३२ लक्षणले युक्त राजा र राजकुमारमात्र भएको जानकारी तान्त्रिकले विक्रमादित्यलाई गराए । राजाले छोरालाई राति १२ बजे सेतो कपडा ओढेर सुतेको मानिसलाई छिनाल्न आदेश दिए । राजकुमारले राजाको आदेश पालना गर्दै राति १२ बजे हिटीमा गएर सेतो कपडा ओढेर सुतेका राजालाई छिनाले ।

धारामा पानी झर्न थाल्यो । टाउको उछिट्टिएर बज्रयोगिनीमा पुग्यो । जीउ हिटीको सानो कुण्डमा लडेको किम्बदन्ती यहाँका स्थानीयवासीले सुनाउने गरेका छन् । राजकुमार भने बाबुकै टाउको उनकै आदेशमा छिनाएको घटनाले दुःखी भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप