सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अहिलेको संविधानमा हिन्दु राष्ट्रकै झल्को : उपेन्द्र यादव

शुक्रबार, १५ मङ्सिर २०८०, १४ : १६
शुक्रबार, १५ मङ्सिर २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संविधानमा पनि हिन्दु राष्ट्रकै जस्तो झल्को रहेको बताएका छन् । पार्टीको आधिकारिक युटुयुव च्यानलमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष यादवले अहिलेको संविधान हिन्दु राष्ट्रकै संविधानजस्तो रहेकाले हिन्दु राष्ट्रका लागि टाउको दुखाइको विषय नरहेको बताएका छन् ।

नेपालको संविधानमा स्पष्ट रुपमा हिन्दु लेखिएको भन्दै उनले पहिलाको संविधान र अहिलेको संविधानमा खासै फरक नदेखिएको प्रस्ट पारेका छन् । अहिलेको संविधानमा पनि सनातन हिन्दु धर्मलाई मान्यता दिएको कारण अहिलेको संविधान पनि हिन्दु राष्ट्रको संविधान रहेको उनको भनाइ छ ।

अध्यक्ष यादवले अहिले जनतामा देखिएको आक्रोश संघीयता र लोकतन्त्रको विरुद्धमा नभएर राजनीतिक दल, नेता र राज्य संयन्त्र विरुद्ध रहेको बताएका छन् ।

उनले भने, ‘मुलुक राजनीतिबाट गाइडेड नभएर ब्युरोक्रेसीबाट गाइडेड भएको छ । अहिलेको लोकतन्त्र लोकतन्त्र नभएर नोकरशाही तन्त्र भएको छ, अहिलेको दलतन्त्र दलतन्त्र नभएर नेतातन्त्र भएको छ । त्यसैको विरुद्धमा जनताले आफ्नो आक्रोश पोखिरहेको छ ।’

राजनीतिक दलका नेताको असफलता र राज्य संयन्त्रहरुको कमजोरीका कारण जनता आक्रोशित भएको बताउँदै उनले सो आक्रोशले नयाँ क्रान्ति खोजिरहेको बताए । विगत ३४ वर्षदेखि यही कांग्रेस र कम्युनिस्टले देशमा शासन गरे तर मुलुकलाई सम्हाल्न सकेनन्, चलाउन सकेनन् भन्दै उनले जनतामा परीक्षण भइसकेका दलबाट यो देश उभो नलाग्ने ठोकुवा गरे ।

उनले भने, ‘दलका नेताहरुको असक्षमताका कारण प्रतिगामी शक्तिहरुले धमिलो पानीमा माछा मार्ने काम गरिरहेका छन् ।’ देशमा राजनीतिक परिवर्तन भए पनि आर्थिक परिवर्तन नहुँदा जनतामा आक्रोश देखिएको बताउँदै उनले आर्थिक परिवर्तन गर्नुको सट्टा कांग्रेस, कम्युनिस्टका नेताहरु भागबण्डा र लेनदेनको राजनीतिमा लागेको आरोप लगाए ।

‘१५ वर्ष भइसक्यो तर देशमा गणतन्त्र संस्थागत हुन सकेन । राजतन्त्रकालका कतिपय ऐन कानुन अझै कार्यान्वयनमा छन्,’ उनले भने, ‘जनताले गणतन्त्रको अनुभूति गरिरहेको छैन । त्यसकै विरुद्धमा जनता सडकमा आएका हुन् ।’

अहिलेको संविधानमा केही राम्रा कुरा भए पनि नेपालको विविधतालाई समेट्न नसकेको अध्यक्ष यादवको गुनासो छ । गरिबी, अशिक्षा बढ्दै गइरहेको र जनतामा निराशा बढ्दै गइरहेको भन्दै उनले यसको जिम्मेवारी कांग्रेस र कम्युनिस्टले लिनुपर्ने बताए । कांग्रेस र कम्युनिस्ट पार्टीले संघीयता र गणतन्त्रलाई संस्थागत गर्न नचाहेको उनको आरोप छ ।

उनले भने, ‘प्रदेशलाई आर्थिक स्रोतमाथि अधिकार दिएको छैन, प्रहरी ऐन बनेको छैन । प्रदेशभन्दा स्थानीय तहलाई बलियो बनाएको छ ।’ उनले राष्ट्रिय मुद्दा, महिला, मुस्लिम, अल्पसंख्यकको मुद्दा सम्बोधन गर्नुपर्नेमा समेत जोड दिए । संघीयतालाई सञ्चालन गर्न आवश्यक कानुन बनाउने, प्रहरी प्रशासन दलसम्म अधिकार दिनुपर्ने भन्दै उनले संविधानलाई सच्याउनुपर्ने प्रस्ट पारे । यसबाट जनतामा आक्रोश कम हुने उनको भनाइ छ ।

विद्यमान निर्वाचन प्रणालीले भ्रष्टाचारलाई बढावा दिएको बताउँदै अध्यक्ष यादवले समानुपातिकलाई नव धनाढ्य वर्गले ओगटेको टिप्पणी गरे ।

उनले निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने मागसमेत गरेका छन् । समानुपातिक निर्वाचन प्रणाली लागु गर्नुपर्ने भन्दै अध्यक्ष यादवले नेपालमा संसदीय व्यवस्था असफल भइसकेको दाबी गरे । संविधान संशोधन गरेर जनताबाट निर्वाचित कार्यकारिणी राष्ट्रपति र पूर्ण समानुपातिक जनप्रतिनिधि संस्था बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप