शनिबार, १२ फागुन २०८०
ताजा लोकप्रिय
पर्सा राष्ट्रिय निकुञ्ज

हलखोरिया दह घाँसेमैदान बन्दा बाघले पाएनन् पानी

२० हेक्टर क्षेत्रफलमा फैलिएको हलखोरिया दहको सरसफाइ छैन
शुक्रबार, १५ मङ्सिर २०८०, १४ : ४५
शुक्रबार, १५ मङ्सिर २०८०

बारा । बाघको मुख्य बासस्थान पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको हलखोरिया दह सरसफाइ नहुँदा घाँसेमैदानमा परिणत हुँदैछ । निकुञ्जभित्रको प्राकृतिक पानीको एक मात्रै ठुलो स्रोत हलखोरिया दह लामो समयदेखि सरसफाइ नगर्दा पानी सुक्दै गएको छ भने पिउने पानीको अभावमा वन्यजन्तुहरू भौँतारिरहेका छन् । 

पर्सा निकुञ्ज दुर्लभ पाटेबाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जङ्गली कुकुर, नीलगाई र गौरीगाई जस्ता ३७ प्रजातिका स्तनधारी जनावर, चार सय ९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतलीहरूको वासस्थान हो ।

यो मधेस प्रदेशको एक मात्रै निकुञ्ज हो । निकुञ्जभित्र वन्यजन्तुहरूका लागि पिउने पानीको ठुलो समस्या छ । 

कतिपय ठाउँमा बर्सेनि लाखौँ रुपैयाँ खर्चेर कृत्रिम पोखरी निमार्ण भए पनि प्राकृतिक पोखरीहरू भने संरक्षणको अभावमा घाँसेमैदानमा परिणत हुँदै छन् ।

halgoriya dah (3) 

हलखोरिया दह पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ २० हेक्टरभन्दा धेरै भूभागमा फैलिएको छ । यसअघि तत्कालीन प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहको कार्यकालमा २०७७ फागुनमा सो दहको सफाइ भएको थियो । 

पछिल्लो समय मिचारा प्रजातिका झारहरू फैलिएर झट्ट हेर्दा सो दह घाँसेमैदान जस्तो देखिएको छ । बाह्रै महिना पानीसहितको दलदले जमिन भएको उक्त दह क्षेत्रमा मुख्य गरी चराचुरुङ्गी, गौरीगाई, पाटेबाघ र बाघको आहारा प्रजातिका वन्यजन्तुहरूको मुख्य बासस्थान तथा क्रीडास्थलको भएको निकुञ्जले जनाएको छ । 

सो क्षेत्र पर्यटकीय केन्द्र पनि हो । पर्सा राष्ट्रिय निकुञ्ज आउने पर्यटकहरू हलखोरिया दहमा पुगेर मचानमा बसेर वन्यजन्तुहरूको अवलोकन गर्ने गर्छन् । 

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले हलखोरिया दहको सरसफाइ गर्न कम्तीमा एक करोड बजेट आवश्यक पर्ने बताउँछन् । उनले बजेट अभावका कारण दह सरसफाइ गर्न नसकिएको गुनासो गरे । 

‘दह सफा नहुँदा वन्यजन्तुलाई पानी पिउन समस्या भएको छ, यसको सरसफाइका लागि एक करोड बजेटले पनि पुग्दैन, अहिले हामीसँग पैसा छैन,’ प्रमुख संरक्षण अधिकृत खतिवडाले भने, ‘माथिल्लो निकायलाई जानकारी गराएका छौँ ।’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत खतिवडाले दह सरसफाइका लागि प्रत्येक वर्ष बजेट विनियोजन गर्नुपर्ने बताएका छन् । 

halgoriya dah (1)

बुधबार पर्सा राष्ट्रिय निकुञ्ज अवलोकन गर्न आएका यातायात तथा श्रममन्त्री चन्दनकुमार सिंहले पर्सा राष्ट्रिय निकुञ्जलाई व्यवस्थित गर्न सकेमा मधेस प्रदेशकै लागि आयआर्जन, पर्यटन प्रवर्द्धन र विकासका लागि महत्त्वपूर्ण योगदान पुर्याउने बताएका छन् । ‘हलखोरिया दहले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्छ यो प्रदेशमा, म पनि पहिलो पटक निकुञ्ज घुम्न आएको, यहाँ साह्रै राम्रो दह रहेछ, मधेसका लागि यसलाई रारा ताल जस्तो बनाउन सकिन्छ,’ प्रदेशका श्रममन्त्री सिंहले भने, ‘यो वन मन्त्रालयअन्तर्गत भए पनि मैले प्रदेश सभामा र मुख्यमन्त्रीसँग भेटेर निकुञ्जको विषयमा कुरा उठाउँछु, निकुञ्जभित्र वन्यजन्तुहरू पानीका लागि तर्सिरहेको देख्दा मेरो आत्म नै छोयो ।,’ मन्त्री सिंहले हलखोरिया दह सरसफाइका लागि प्रदेश सरकारसँग पहल गर्ने बताएका छन् । 

सन् २०२२ मा  भएको राष्ट्रिय बाघ गणनामा पर्सा राष्ट्रिय निकुञ्जमा मात्र दुर्लभ पाटेबाघको सङ्ख्या ४१ पुगेको छ । यो सङ्ख्या सन् २००३ मा पहिलो पटक भएको गणनामा तीनवटा मात्रै थियो । त्यसै गरी पर्सा निकुञ्जभित्र १६३ वटा गौरीगाई, ४० देखि ५० वटा जङ्गली हात्ती र ८ देखि १० वटाको एकसिङे गैँडा रहेका छन् । यो निकुञ्जले बारा, पर्सा र मकवानपुर जिल्लालाई छोएको छ । 

halgoriya dah (2)  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप