शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
रङ्गमञ्च

जब छोराले बुहारी होइन, ‘छोरा’ मान्छे भित्र्याउन चाहन्छ...

सोमबार, १८ मङ्सिर २०८०, १४ : २७
सोमबार, १८ मङ्सिर २०८०

जीवन (सविन राई)लाई आफ्नी समलिङ्गी प्रेमिका (विमल)ले डरछेरुवा भन्दै बेसरी धकेलिदिन्छे । जीवन लडेर बेहोसजस्तै हुन्छ र दुईवटा मानसिक संसारमा पुग्छ । मानसिक रूपमा उकुसमुकुसको संसार छ एउटा, जहाँ उसले समाजका सबैलाई देख्छ तर उसलाई कसैले देख्दैन, उसको अस्तित्व अरुलाई अनुभव छैन । ऊ यो संसारमा आफू भएर बाँच्न पाएको छैन । अर्थात् उसको पहिचान हराएको छ । 

यो संसारमा उसलाई महाकवि देवकोटाको यात्री कविताका केही हरफ सुनाइन्छ, हाडहरूको सुन्दर खम्बा मांसपेसीको द्वार... । अर्थात् उसले मन्दिररूपी आफ्नै शरीरभित्र आफूलाई भेटेको छैन । 

यो संसारमा उसलाई काला पोसाक लगाएका मानिसले घेर्छन्, अर्थात् ऊ नकारात्मक सोचद्वारा घेरिएको छ । कला तथा साहित्यमा कालो कपडालाई काल वा मृत्युको प्रतीकका रूपमा लिइन्छ । आफूलाई नचिन्ने समाजमा बन्धनमा बस्न उसलाई मन छैन, उसले मुक्ति चाहन्छ तर उसले मृत्युबाहेकको अर्को मुक्ति देख्दैन । उसले आफूजस्तै अर्को व्यक्तिलाई सोध्छ, ‘म यो संसार (मलाई नचिन्ने संसार)बाट कसरी मुक्त हुन सक्छु ?’ उसलाई आक्रोशपूर्ण सुझाव दिइन्छ — कुवाबाट हाम फाल् ।

2

यो नकारात्मक पाटो सकिएपछि जीवनको मनमा केही सकारात्मक कुरा खेल्न थाल्छन् । लैङ्गिक तथा यौनिक अल्पसंख्यकले आफूले चाहेको व्यक्तिसँग सहजै विवाह गर्ने सक्ने खालको आदेश सर्वोच्च अदालतले दिएपछि खुसियाली मनाइन्छ । यतिबेला लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूको झन्डाको इन्द्रेणी रङलाई विभिन्न रूपले प्रस्तुत गरिन्छ । 

प्रसङ्ग थापागाउँस्थित मण्डला थियटरमा मञ्चन भइरहेको नाटक ‘मानिस हराएको सूचना’को हो । अमित गिरीको लेखन र निर्देशन रहेको यस नाटकमा कला र साहित्यका विविध विधा र प्रतीकका माध्यमबाट लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूको कथा–व्यथा भन्ने कोसिस गरिएको छ । 

नाटकमा प्रधानपात्र जीवनकी आमाको चाहना छ — छोराले बुहारी ल्याओस्, बुहारी अर्थात् कसैकी छोरी । छोराजस्तै देखिनेलाई बुहारी बनाउनु उनको सोच र समझभन्दा परको कुरा हुन्छ । जीवनले आफ्नो भावना र चाहनासँग मेल खाने जीवन बाँच्न चाहन्छ तर समाजको मूल्य–मान्यता र मानकको अगाडि ऊ गुम्सिरहेको छ । 

3

आफ्नो कला–प्रतिभा देखाउने एक प्रतियोगितामा प्रतिस्पर्धा गर्दै फाइलनमा पुगेका तीन प्रतियोगीको प्रस्तुति (ताण्डव नृत्य, पप शैलीको गीत र कविता)बाट नाटकको कथा अगाडि बढ्छ । कलाकारले यी कला–साहित्य प्रस्तुत गर्दा प्रोजेक्टरबाट पछाडि पर्दामा विभिन्न आकृति र रङ छरिन्छ । ताण्डव नृत्यका बेला वीर र शृंगार रसको प्रतीकस्वरूप रातो रङलाई प्रधान बनाई विविध रङका माध्यमबाट विविध आकृति (खासगरी फूलको आकृति) पर्दामा पारिन्छ ।

गीत प्रस्तुत भइरहँदा मनका भावनाहरू मडारिएको प्रतीकस्वरूप सेतो बादल मडारिएको आकृति ल्याइन्छ । कला वा साहित्यमा बादल यस्तो विम्ब वा प्रतीक हो, जसले मानिसको विभिन्न मानसिक अवस्था दर्शाउन सक्छ । 

कविता प्रस्तुत हुँदा अमूर्त कलाको शैलीमा विविध रङ पर्दामा छरिन्छ र ध्वनिका माध्यमबाट कवितालाई अझ सशक्त बनाउन कोसिस गरिन्छ । कविताले अमूर्त भावना व्यक्त गरेको आभास दिन पछाडि अमूर्त कलाको आकृति र रङ छरिएको हुन्छ, यद्यपि प्रस्तुत गरिएको कविता उति अमूर्त होइन, कविताले देशका समस्या सरल भाषामा बोलेको छ । माथि हवाई जहाजबाट सहरभित्रका ठूलाठूला समस्या अर्थात् हिंसा, हत्या अनि भ्रष्टाचारजस्ता कुकर्म नदेखिने भाव कविताले प्रकट गरेको हुन्छ । 

4

भावाभिव्यक्तिको सशक्त माध्यम नृत्य, गीत–संगीत र कविताबाट नाटक अगाडि बढे पनि यसले कथानकमा सङ्गति ल्याएको छैन । यी प्रस्तुति र लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको समस्यालाई जोड्न सकिने धेरै आधार थिए । नाटकमा शिखण्डीले लिंग परिवर्तन गरेर केटीबाट केटा भएको, भगवान् विष्णुको मोहनी रूपदेखि स्वयंं महादेव मोहित भई दुईजनाको सम्बन्धबाट सन्तान जन्मेको जस्ता कुरा भनिएको छ । यही विषयलाई प्रतियोगिताको प्रस्तुति बनाउन समेत सकिन्थ्यो । 

प्रतियोगिताको विजेतालाई नाटकको प्रधानपात्र बनाएर कथानक अगाडि बढेको भए त्यसले खास अर्थ राख्थ्यो । लैङ्गिक तथा यौनिक अल्पसंख्यकले आफ्नो कला वा प्रतिभा देखाएर र जनताको भोट पाएर विजेता बन्न सक्छन्, उनीहरू बौद्धिकता, प्रतिभा र क्षमतामा कम होइनन् भन्ने सन्देश दिन्थ्यो । 

नाटकमा अन्य विधालाई समेट्दा दुई कुरामा ध्यान दिइनुपर्छ — पहिलो, अन्य विधालाई सम्मान र न्यायसहित प्रस्तुत गर्न सक्नुपर्छ । कतिपय अवस्थामा विम्ब र प्रतीकका रूपमा पनि अन्य विधालाई ल्याउन सकिन्छ । अर्को, स्वाङ वा हास्य शैलीमा अन्य विधा समेट्न सकिन्छ । 

यस नाटकमा गायन प्रस्तुतिका लागि सामान्य रूपमा गाउन र गीतार बजाउन जान्ने पात्रलाई ल्याइएको छ । यस्तै, ताण्डव नृत्यमा पनि आधारभूत रूपमा ताण्डव नृत्य बुझेकी कलाकार राखेको देखिन्छ । नाटकमा बिनाकुमारी (स्नेहा जोशी) शिव ताण्डव स्तोत्रमा नृत्य प्रस्तुत गर्छिन् । 

5

त्रिपुरासुर नामक राक्षेसको वध गर्न भगवान् शिवले वीर र रौद्र रसप्रधान जुन नृत्य गरे, त्यसैलाई ताण्डव भनिन्छ । 

भनिन्छ, भगवान शंकरले त्रिपुरासुरको वध गरेपछि आनन्दले अभिभूत भएर पार्वतीले शृंगार रसप्रधान जो नृत्य गरिन्, त्यसलाई लास्यको नाम दिइएको छ । अर्थात् स्त्रीले प्रस्तुत गर्ने नृत्यलाई लास्य भनिन्छ, जो शृंंगार रसप्रधान हुन्छ । भरतनाट्यममा भनिएको छ, ‘महेश्वरको चरित्र भएको ताण्डव नृत्य जो विधिपूर्वक प्रयोग गर्दछ, त्यो सबै पापबाट मुक्त भई विशुद्ध आत्मा बनेर शिवलोकमा जान्छ ।’ 

भरतनाट्यम अनुसार, ताण्डव नृत्य चारीहरूको प्र्रयोगसहित गरिन्छ । पाउ, जङ्घा, ऊरु, कटिका साथै समान करणमा प्रयोग गरिएको चेष्टा विशेषलाई चारी भनिन्छ ।

नाटकमा ताण्डव वा लास्य ल्याउन खोज्नु निर्देशकको सानो हिम्मत होइन, तर यस्ता शास्त्रीय कामलाई न्याय गर्न कलाकारले लामो साधना गरेको हुनुपर्छ । यस नाटकमा प्रस्तुत लास्यमा स्नेहाले पूर्ण रूपमा शरीरलाई सन्तुलमा राख्न नसकेको देखिए पनि कोसिस राम्रै देखिन्छ ।

यस नाटकमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूको कथा–व्यथालाई विभिन्न विम्ब–प्रतीक र कला–साहित्यका माध्यमबाट व्यक्त गर्न त खोजिएको छ । यद्यपि कतिपय ठाउँमा भाँती पुर्‍याइएको छैन । जस्तो : सर्वोच्च अदालतअगाडि खुसियाली मनाइएको दृश्यमा भनिन्छ — सर्वोच्चले समलिंगी विवाहलाई कानुनी रूपमा पारित गरिदिएको छ । 

6

यहाँनेर कलाकारले संवाद भुलेको हो वा यस्तै लेखिएको थाहा भएन । सर्वोच्च अदालतले गत असार १३ गते अस्थायी अभिलेख रहने गरी लैङ्गिक तथा यौनिक अल्पसंख्यकको विवाह दर्ता गर्नु गराउनु भनी आदेश दिएको थियो । अदालतले आदेश दिन्छ वा फैसला गर्छ । सर्वोच्चको फैसला वा आदेश नजीर बन्ने वा कानुनसरह काम गर्ने हुन सक्छ तर कानुन पारित गर्ने काम संसद्को हो । 

हामीकहाँ लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई सम्बोधन गर्ने वा पहिचान गर्ने सम्बन्धमा ठूलो भ्रम छ । अंग्रेजीमा भनिने ‘एलजीबीटीआई’ (एल– लेस्बियन, जी– गे, बी– बाइसेक्सुअल, टी– ट्रान्सजेन्डर, आई– इन्टरसेक्सुअल)लाई हामीकहाँ स्पष्ट बुझिएको र बुझाइएको छैन । यस नाटकमा प्रधानपात्र (जीवन र विमल)हरू लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायमध्ये कुन वर्गमा पर्छन् भन्ने कुनै न रूपमा प्रस्ट्याउन सकिन्थ्यो । 

हामीकहाँ कहिलेकाहीँ नाटकमा मुद्दाहरु त उठाइन्छ, तर त्यसमा अलि साहित्यिक साधना कम गरिन्छ । यस नाटकमा सङ्गति नमिलेको कथानक भएर होला, मञ्च साजसज्जा अलि भद्रगोल अर्थात् केही दृश्य त्यति सफा नभएको जस्तो देखिन्छ । 

DSC05214

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको हक–हितमा राज्य र समाजले बुझ्नुपर्ने र गर्नुपर्ने कार्यका धेरै आयाम छन् । हाम्रो संविधानको धारा १२ ले वंंशीय आधार तथा लैंगिक पहिचानसहितको नागरिकताको प्रावधान राखेको छ । यद्यपि सर्वोच्च अदालतको आदेशअनुरुप राज्यका निकायले विवाह दर्ता नगरिरहेको अवस्था छ । भर्खरै लमजुङको दोर्दी गाउँपालिकामा रामबहादुर गुरुङ (माया) र सुरेन्द्र पाण्डेबीचको विवाह दर्ता गरियो र यो ठूलो समाचार बनेको छ । 

यो अवस्थामा यस नाटकले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको समस्याको एउटा अंशलाई उजागर गर्ने कोसिस गरेको छ । हामीकहाँ यस्ता कामहरु थप अध्ययन, अनुसन्धानसहित हुन आवश्यक छ । अभिनयका हिसाबले यस नाटक अब्बल र कमजोर दुवै नभई औसत देखिन्छ । प्रधानपात्रको प्रेमिकाको भूमिका देखिएका अनिस विमलीको अभिनय दर्शकको आँखा र मनमा छोइने खालको छ । यस्तो लाग्छ, उनी कतै त्यही समुदायका त होइनन् ? यसलाई उनको अभिनयको शक्ति मान्नुपर्छ ।  

०००

  • मञ्चमा : सविन राई, सोनिका शाही ठकुरी, अनिस विमली, स्नेहा जोशी, साइमन थापा, दीपक कोइराला, रोमर्स राय ठकुरी, लक्ष्मण केसी, शर्मिला लाम्गादे, पुकार चापागाईं, शरद न्यौपाने, अग्निश्री । 
  • आर्ट निर्देशक : स्पन्दन लामा ।
  • मञ्च निर्देशन : अमर बुढाथोकी ।  
  • ध्वनि : सुशान्त खड्गी ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप