मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

भुइँमान्छेका पीडाले भरिएको कृति ‘कवि हराएको सूचना’

मङ्गलबार, १९ मङ्सिर २०८०, १४ : ०७
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौँ । कवि रत्ननिधि रेग्मी शुक्राचार्यको ‘कवि हराएको सूचना’ कविता सङ्ग्रह प्रकाशित भएको छ । यस सङ्ग्रहभित्र घर–आँगन बाँझै भयो, महाकविको सम्झना, चुरोट, सदन हो कि खोर, आउ, सबै मानिसहरू !, कवि हराएको सूचना ! लगायत ४५ वटा कविता समेटिएका छन् । 

यस कृतिमा कवि रेग्मीले सामान्य मानिसका दुःख, पीडा र वेदनालाई टपक्क टिपेर मार्मिक ढङ्गले कवितामा उनेका छन् । यसमा आर्थिक रूपमा कमजोर व्यक्तिलाई नेपाली संस्कार र संस्कृतिले दिएको पीडालाई पनि सचित्र कवितामा उतारेका छन् । प्रस्तुत सङ्ग्रहमा विभिन्न पत्रपत्रिकामा प्रकाशित र केही अप्रकाशित कविताहरू समेटिएका छन् ।  

यस सङ्ग्रह कतिपय कविता निकै उत्कृष्ट छन् जसले आम सर्वसाधारणको जीवनलाई चित्रण गरेको छ । 

हामी देशविहीन मान्छे हर समय जाँतोमा पिसिएका छौँ,
हातो अर्कैले घुमाउँछ, हामी कनिकाजस्तै पिसिएका छौँ
कतै डाला र थुन्सेसित भरिएका छौँ
कतै ओखल ओखलमा कुटिएका छौँ,
बजार बजारमा पुगेर लुटिएका छौँ... (पीडाको आकास)

वास्तवमा सर्वसाधारणहरु देशविहीन अवस्थामा छन् । न्याय निसाफ आर्थिक अवस्था र पहुँचका आधारमा हुने गरेको छ ।  
बेथिति र बेरोजगारीका कारण कोही देशमा बस्न चाहँदैनन् । १८ वर्ष पुगेपछि हरेक किशोर किशोरी मुग्लान भासिन चाहन्छन् । वृद्ध र रोगी बुवाआमालाई घरमा छोडेर विदेश गएका ती किशोर किशोरी कहिल्यै नफर्किने गरी विलाउँछन् । आम नेपालीको यो विवसतालाई कवि रेग्मीले यसरी प्रस्तुत गरेका छन्–

कोही अक्करको बाटो मुग्लान लाग्छन्,
कोही ठक्करको जीवन बिताउन विदेश जान्छन्, 
सुरक्षित हुन असुरुक्षाको खेती गर्छन
दुःखीलाई जहाँ पनि दुःख भनेजस्तौ
सुखको खोजमा फेरि तावामा तात्तिन्छन्,
मेरो देशका गरिब दाजुभाइ (देश छोडेर जानेहरु...)

यस्ता मन छुने कविता यस सङ्ग्रहमा धेरै छन् तथापि लेखकले भनेका छन्– सबै कविता कविता जस्ता नभए पनि तिनको मान राख्नका लागि यो सङ्ग्रह तयार गरिएको हो । यिनलाई पढिदिए केही त काम लाग्ने कुराहरु पनि होलान् भन्ने लागेको छ।

कवि रेग्मीका यसअघि आन्दोलन कविता, सूर्य उदायो, माटोको कथा, कविता कुसुम, नेपाली झ्याउरे, नेपाली आवाज लगायत थुप्रै कृति प्रकाशित छन् । 
मुलत: छन्द कवितामा सिध्दहस्त कवि रेग्मीको यस कृतिमा सङ्कलित कविताहरू सबै छन्दमुक्त छन् । एक सय पृष्ठमा समेटिएको यो कृति २०८० सालको देवकोटा जयन्तीका दिन प्रकाशन गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप